‘अब कसैलाई कोरोना लाग्छ भने उसले सावधानी अपनाएन भन्ने थाहा हुन्छ ’

 साउन २५, २०७७ आइतबार ११:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मध्यपूर्वका देशसँगै मलेसिया लगायतका देशमा अहिले लकडाउन खुकुलो हुँदै गएका छन् ।

विभिन्न देशमा स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालीहरु काममा फर्कन थालेका छन् । लकडाउन खुकुलो भएर कामकाज सुरु हुन थालेपछि सङ्क्रमण झन बढ्न थालेको छ । पहिले सङ्क्रमण नभएका स्वस्थ व्यक्तिमा समेत सङ्क्रमण देखिन थालेको छ ।

केही समय पहिले घट्दै गरेको सङ्क्रमणको दर पछिल्ला हप्तामा केही ठाउँमा बढ्दै गएको देखिन्छ । जसमा मध्यपूर्व पनि पर्छ । त्यस्तै अष्ट्रेलियामा शून्यको दरमा गइसकेको सङ्क्रमण अहिले फेरि बढ्दैछ । 

त्यस्तै जापानमा पनि सङ्क्रमण बढेको खबर आइरहेको छ । यस्तै युरोपका केही देशमा पनि सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमणको दर पहिले उच्चमा पुुगेर घट्यो, सङ्क्रमण नभएका स्वस्थ व्यक्तिहरु बाहिर आउन थाले । त्यसले गर्दा फेरि सङ्क्रमण हुन थालेको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जिव सापकोटा बताउनुहुन्छ । 

उहाँका अनुसार पहिला सङ्क्रमित नभएका व्यक्तिहरु बाहिर आएपछि स्वास्थ्य व्यक्तिहरुमा पनि सङ्क्रमण बढिरहेको छ । 

त्यसैले यो बेलामा बाहिर हिँड्दा या काममा जाँदा विषेश ध्यान पुर्‍याउन पर्छ ।

के कुरामा ध्यान दिने ?

अहिले सङ्क्रमण हुने भनेको कि त सावधानीका उपाय नपनाउँदा, कि त सावधानीका उपाय अपनाउन खोज्दा पनि सही तरीकाले नहुँदा सङ्क्रमण बढ्छ । अहिले यही दुई कारणले सङ्क्रमण बढिरहेको भन्दै कोरोनाबाट बच्न स्वास्थ्य समिति संयोजक डा. सापकोटाका सुझाव यस्ता छन् :

  • अहिले जो पनि व्यक्तिहरुमा सङ्क्रमण हुन सक्छ भनेर सोच्नुपर्छ र सावधानी अपनाउनु पर्छ ।
  •   सुरक्षाका उपायको ख्याल नगरी बाहिर आयो भने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने तथा बाहिरबाट आएर हात नधुने हाम्रो सामान्य बानीलाई परिवर्तन नगरेमा सङ्क्रमण हुन सक्छ । 
  •  
  •   कोरोनासँग डराएर घरभित्रै बस्न आर्थिक, सामाजिक तथा मानसिक रुपले सम्भव नभएको अवस्थामा बाहिर निस्किनको लागि हामीले सावधानी अपनाउनुपर्छ । कोरोनासँग भागेर भन्दा पनि सावधानी अपनाएर कोरोना सँगसँगै जिउन सिक्नुपर्छ ।
  •   लकडाउन खुकुलो हुँदैछ । मानिसहरुले आफ्नौ जीवनयापन पनि अपनाउनै पर्छ । तर सावधानी अपनाएपछि यसको खतरा निकै कम हुन्छ । त्यसैले मुखमा मास्क लगाउने, मास्क छैन भने कपडाले बेर्ने । त्यसो गर्दा हातले सिधै मुखलाई छुन पाउँदैन र सुरक्षित भइन्छ । 
  •  अर्को कुरा भनेको मौका मिल्ने बित्तिकै २० सेकेन्डसम्म साबुनपानीले हात धुनुपर्छ । साबुनले भाइरसको जुन खोल हुन्छ, त्यसलाई ब्रेक गरिदिन्छ र त्यो मर्छ । यो सामान्य कुरा हो, तर जनमानसमा अझै गइसकेको छैन । भरसक व्यक्तिहरुको सम्पर्कमा नआउने ।
  •   मानिसको सम्पर्कमा आउने कामहरु जस्तो बैंक, पेट्रोल पम्म, तरकारी पसल आदिमा निश्चित दूरी राखेर काम गर्न सकिन्छ । पसल र ग्राहकको बीचमा सिसा राखेर, शिल्ड हेल्मेट लगाएर पनि बचाउका उपायहरु अपनाउन सकिन्छ । 
  •   कुनै कुरा छोइसकेपछि त्यो हात मुखमा लगाउनु हुँदैन । हात धुने वा सेनिटाइजर लगाउने गर्नुपर्छ । यस्ता उपायहरु अपनायो भने निश्चय पनि सङ्क्रमणबाट बच्न सकिन्छ । तर सङ्क्रमण भइहाल्यो भने आफूलाई तुरुन्तै आइसोलेसनमा राख्ने र उपचार गरेमा त्यसले च्याप्ने र बढी खतरा हुने हुँदैन । 
  •   यस्तो अवस्थामा आफ्नो दैनिक काम नै नगर्ने भन्ने होइन । खाद्यान्न किन्न बजार जानैपर्यो, यस्तै अरु काम गर्नेले पनि गर्नुपर्यो । कसैले ट्याक्सी चलाएर गुजारा गर्छ भने ट्याक्सी चलाउनै पर्यो । तर त्यो चलाउँदा स्वास्थ्य सतर्कता अपनाउनुपर्यो, यसमा ध्यान दिनुपर्यो । यात्रु र ड्राइभरको बीचमा दूरी राखेको खण्डमा जोखिमबाट बच्न सकिन्छ । 
  •   जुनसुकै व्यवसायीहरुले पनि उपायहरु अपनाएको खण्डमा सङ्क्रमणबाट बच्ने सम्भावना धेरै छ । एकदमै जोखिम नै छैन भन्ने त होइन, तर त्यो जोखिमलाई न्यूनीकरण गर्ने जिम्मा हामी आफैंको हो । 

कोरोना लाग्छ कि भनेर चिन्ता नलिनुहोस्

कोरोना लागिसकेपछि वा नलाग्दै पनि मानिसहरुमा विभिन्न प्रकारको मानसिक चिन्ता भएको देखिन्छ । मरि पो हालिन्छ कि, कोरोना लागिहाल्यो भने के गर्ने जस्ता डरले गर्दा उहाँहरुमा मानसिक समस्या भएको पनि देखिन्छ । केही केही आत्महत्याको कुरा पनि आएको छ । त्यो एकदमै नराम्रो कुरा हो । मान्छेले आशा गुमाएपछि र केही नलागेपछि आत्महत्या गर्ने हुन् । यस्तो नगर्न डा. सापकोटाको सुझाव छ ।

डा. सापकोटा भन्नुहुन्छ, 'अब कसैलाई कोरोना लाग्छ भने ती व्यक्तिले सावधानी नअपनाएको भन्ने हुन्छ ।'

यो समयमा यात्रा नगरेकै राम्रो हुन्छ । बाध्यता छ भने त यात्रा गर्नै पर्यो । तर त्यो समयमा आफूले सुरक्षाका उपायहरु अपनाएकै हुनुपर्छ । यात्रा गरेपछि आफ्नो परीक्षण गराउने तथा आइसोलेसनमा बस्ने काम गर्नुपर्छ ।

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि ट्रेसिङ गरेर सङ्क्रमणमुक्त नभएसम्म निगरानीमा राख्नुपर्छ । अहिले दोस्रो चरणको सङ्क्रमण भएको छ । बाहिर सार्वजनिक क्षेत्रमा जाँदा सङ्क्रमण बढेको देखिएको छ । त्यसैले विशेष ध्यान दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया