प्रधानमन्त्री रोजगार : पैदलमार्ग निर्माणमा रोजगारी

 पुस १८, २०७७ शनिबार १९:२८:१४ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत म्याग्दे गाउँपालिका–४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ ।

रोजगार कार्यक्रममार्फत उक्त वडाका नौ जनाले रोजगारी पाएका छन् । बेरोजगार सूचीमा सूचीकृत भएकालाई डडुवागाउँको पैदलमार्ग मर्मतमा खटाइएको गाउँपालिकाका रोजगार संयोजक पवीन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उक्त वडामा बेरोजगार सूचीमा ९९ जना सूचीकृत भए पनि प्राथमिकताका आधारमा नौ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गरिने शाहीले जानकारी दिनुभयो ।

सात वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४४४ जना सूचीकृत भएका छन् । त्यसमध्ये चालु आवमा १५४ ले एक सय दिनको रोजगारी पाउनेछन् । उनीहरुलाई दैनिक रु ५१७ ज्याला उपलब्ध गराइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालु आवमा रु ८० लाख बजेट प्राप्त भएको छ । बन्दीपुर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण भइरहेको छ । गएकाे आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आवमा पनि निरन्तरता दिएको हो ।

मुकुन्देश्वरीबाट रामकोट जोड्ने गरी साइकल लेनको काम भइरहेको गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । उक्त कामका लागि १५ जनालाई रोजगारी दिइएको छ । गाउँपालिकामा आव २०७७/७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् ।

सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकामा चालु आवमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ । गत आवमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गएकाे आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका थिए । 

तपाईको प्रतिक्रिया