‘कुवेतमा कोरोनाको त्रास अझै उस्तै छ’

 फागुन २३, २०७७ आइतबार १७:३५:७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अनिल सोमै मगर/पाल्पा,हाल कुवेत ।

पछिल्लो समय विश्वमा कोरोनाको त्रास घट्दै गएको छ । कोरोना खाेपको उत्पादन र प्रयोग भएसँगै यसको डर मानिसमा कम हुँदै गएको होला । नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिसके भन्ने सुनिन्छ । अब नेपालमा पनि पहिलेको जस्तो डर छैन होला । तर यहाँ कुवेतमा भने कोरोनाको त्रास पहिलेको जस्तै छ, अहिले पनि ।

म वैदेशिक रोजगारीको क्रममा खाडी देश कुवेतमा छु । कोरोनाको कष्टकर समय पनि यहीँ बित्यो, अहिले पनि यहीँ छु । म यहाँ एक रेस्टुरेन्टमा काम गर्छु, जहाँ दैनिक हजारौँ ग्राहक आउने गर्छन् । निकै भिडभाडमा काम गर्नुपर्ने हुन्छ । अरु देशमा हामी जस्तो कामदारलाई कोरोना खोप दिइएको छ भन्ने सुनेको छु तर यहाँ अहिलेसम्म त्यस्तो व्यवस्था भएको देखिदैन ।

कोरोना महामारीको सुरुताका ६/७ महिना बिना काम, तलब कोठामा बसेरै बिताइयो । अहिले विस्तारै दिनहरु पुरानै तरिका अनुसार चल्न थालेका थिए । हामीहरु पनि त्यतिबेलाका दु:ख, पीडा बिर्सिंदै गएका थियाैँ । तर अहिले कोरोनाको नयाँ प्रकारले कुवेतमा पनि असर गरेको छ । फेरि पोहोर साल जस्तै कोरोनाको त्रास बढेको छ ।

यही कारणले यहाँ रेस्टुरेन्टमा आधा दिन मात्र काम चलेको छ । यसले गर्दा हाम्रो तलब पनि कम आउने नै भयो साथै कामको समयमा निकै कडा नियम छ । रेस्टुरेन्टमा काम गर्नेहरुले मास्क र प्लास्टिक पञ्जा लगाएनौँ भने एक सय कुवेती दिनार जरिवाना तिर्नुपर्छ । तर यो नियम यहाँका नागरिक तथा ग्राहकलाई लागू छैन । यो नियम हामीहरुको लागि निकै गाह्रो सावित भएको छ । काम गर्दा हतार-हतारमा कहिलेकाहीँ छुट्न पनि सक्छ । त्यस्तो अवस्थामा त्यति धेरै रकम जरिवाना तिर्नु हाम्रो लागि निकै गाह्रोे हुन्छ । कतिपय साथीहरूले त झुक्किएर, अथवा बिर्सेर एकै मिनेट पनि मास्क र पञ्जा प्रयोग नगर्दा एकसय केडी जरिवाना तिरेका छन्  । 

अरु काममा भन्द रेस्टुरेन्टमा काम गर्नेहरुलाई बढी जोखिम छ । फेरि यहाँ हामीजस्ता श्रमिकलाई कोरोनाको खोप लगाउने कुरा पनि भएको छैन । आजदेखि रात्रिकालीन कर्फ्यु पनि लागू भएको छ । यसले गर्दा झन् होसियार भएर बस्नु पर्ने देखिन्छ । एक त कोरोनाको डर छ त्यसैमाथि यहाँको कडा नियमले श्रमिकलाई झन् गाह्रो भएको छ । कुवेतमा कोरोनाको त्रास अझै उस्तै छ ।

तपाईको प्रतिक्रिया