सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता
जेठ १, २०८१ मंगलबार
काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ ? वा रोजगारीका लागि ओमान जाने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने त्यहाँको श्रम कानुनबारे जानकारी राख्दा ओमानमा कार्यरत रहँदा सहज हुन्छ ।
ओमानको कानुन अनुसार श्रमिकलाई काममा लगाउँदा सबैभन्दा पहिला कमको सम्झौता गर्न पर्छ । सम्झौता अरबीमा दुई प्रति, एक लिखित र जारी गरी पुष्टि गरिएको हुनुपर्ने तथा यदि सम्झौता अन्य भाषामा भएमा कम्तीमा एक प्रति अरबी भाषामा हुनुपर्ने व्यवस्था गरेको छ ।
तर कामको लिखित सम्झौता नभए पनि श्रमिकले अन्य कुनै प्रमाणको माध्यमबाट आफ्नो अधिकार स्थापित गर्न सक्ने छन् । सम्झौता रोजगारदाता र श्रमिक दुवैले स्वीकार गरेको हुनु पर्छ ।
ओमानमा करार सम्झौता २ वर्षको भन्दा कम समयको भए पनि नेपालबाट श्रम स्वीकृतिको लागि २ वर्षको अनिवार्य करार सम्झौता हुनुपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै, कुनै श्रमिकले मासिक रूपमा ज्याला पाएमा तीन महिनाभन्दा बढी अवधिको लागि परीक्षण कालमा राख्न नपाइने र अन्यथा तलब पाएमा एक महिनाभन्दा बढी अवधिको लागि परीक्षणमा राख्न नपाउने व्यवस्था त्यहाँको श्रम कानुनले गरेको छ ।
रोजगारदाताले आफ्ना श्रमिकहरूको जीवन बिमा र स्वास्थ्य बिमा गर्नु पर्ने, स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने, एकै ठाउँ वा एक सहरमा आफ्नो श्रमिकको सङ्ख्या एक सयभन्दा बढी भएमा रोजगारदाताले प्राथमिक उपचार गर्न योग्य नर्स नियुक्त गर्नुपर्ने, यदि श्रमिकको सङ्ख्या पाँच सय नाघेको खण्डमा रोजगारदाताले आफ्ना श्रमिकहरूको उपचार एवं सर्जरी समेतको लागि विशिष्ट डाक्टरसहितको टोली थप गर्नुपर्ने नियम छ भने श्रमिकहरूलाई उनीहरूको उपचारको लागि दाँत, आँखा र मातृत्व उपचार बाहेकको आवश्यक औषधिहरू निःशुल्क रोजगारदाताले नै उपलब्ध गराउन पर्ने नियम छ ।
रोजगारदाताले आफ्ना श्रमिकलाई तलब कानुनी रूपमा निजको बैङ्क खातामा भुक्तानी गर्न पर्छ । मासिक ज्यालामा नियुक्त भएका श्रमिकलाई हरेक महिनामा एक पटक र अन्य श्रमिकलाई भने कामको प्रकृति अनुसार दुई हप्ताभित्र एक पटक तलब दिन पर्ने व्यवस्था छ भने तलब दिन ७ दिनभन्दा ढिलो गरी तलब दिन नपाइने व्यवस्था छ ।
रोजगारदाताले विदेशी श्रमिकलाई करार सम्झौताको अन्त्यपछि यदि अर्को रोजगारदातालाई हस्तान्तरण नभएको खण्डमा उसको आफ्नो देशमा फिर्ता पठाउनु पर्ने छ ।
यस्तै, रोजगारदाताले श्रमिकलाई साधरणतया दिनको ८ घण्टा र हप्ताको ४८ घण्टा तथा रमादानको समयमा दिनको ६ घण्टा र हप्ताको ३६ घण्टाभन्दा बढी काममा लगाउन नपाउने कानुनी व्यवस्था छ ।
रोजगारदाताले श्रमिकको सहमति मै पनि दैनिक १२ घण्टाभन्दा बढी समय काममा लगाउन पाउने छैनन् ।
महिला श्रमिकलाई भने स्वास्थ्यका लागि हानिकारक वा कडा परिश्रम गर्ने काम वा मन्त्रीको निर्णयबाट तोकिएको बाहेक अन्य काममा लगाउन पाइने छैन ।
पहिलो तीन वर्षको सेवाको प्रत्येक वर्षको लागि पन्ध्र दिनको ज्याला र त्यसपछिका वर्षहरूमा प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर उपदानको हकदार श्रमिक हुने कानुनी व्यवस्था छ । आफ्नो सेवा अवधि र अन्तिम आधारभूत ज्यालाको अनुपातमा वर्षको अंश उपदानको गणनाको लागि आधार मानिने छ । तर सेवाको अवधि एक वर्षभन्दा कम भएमा उपदान पाउने व्यवस्था कानुनले गरेको छैन ।
यसका साथै ओमानी कानुनले रोजगारदातालाई विभिन्न अवस्थामा बिना सूचना क्षतिपूर्ति र सेवा सुविधा नदिई श्रमिकको करार सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था पनि गरेको छ ।
गैर कानुनी रूपमा रोजगारी गरिरहेको भएमा, श्रमिकको कारण रोजगारदातालाई ठुलो आर्थिक क्षति भएमा, एक वर्षमा १० दिनभन्दा बढी काममा नगएमा, कम्पनीको गोप्य कुराहरू खुलासा गरेमा, अपराधमा संलग्न भएको फैसला भएमा र कामको समयमा रक्सी वा अन्य कुनै नशालु कुराहरू खाएमा रोजगारदाताले बिना सूचना श्रमिकलाई निष्कासन गर्न सक्ने छन् ।
तर पूर्व सूचना दिएर करार सम्झौता रद्द गरेमा भने रोजगारदाताले श्रमिकलाई विभिन्न सेवा सुविधाहरू दिन पर्ने छ ।
ओमानको कानुन अनुसार एउटा श्रमिकले पूर्ण तलबसहितको वर्षमा ३० दिन बिदा पाउने नियम छ । तर काम सुरु गरेको ६ महिना पूरा नभएसम्म यस्तो बिदा पाइने छैन । तर पुरै तलबसहित वार्षिक ६ दिन भने आकस्मिक बिदा लिन पाइन्छ । तर त्यहाँको कानुनले बिदालाई अधिकारको रूपमा नलिई सुविधाको रूपमा लिनु पर्ने भनेको छ ।
यस्तै बिदाको अवधिमा अर्को रोजगारदाताको काम गरेमा पहिलो रोजगारदाताले तलब असुल गर्न भने सक्नेछन् ।
बिरामी भएको अवस्थामा श्रमिकले बिरामी बिदा पाउनेछन् । यसका साथै श्रमिकको विवाह भएको खण्डमा लगातार तीन दिन र छोरा, छोरी, आमा, बाबु, श्रीमती, हजुरबुवा, हजुरआमा वा दिदीबहिनीको मृत्यु भएमा तीन दिन बिदा पाइने कानुनी व्यवस्था छ ।