४५ वर्ष लागेपछि आफैँ कमाउन थाल्नुभएकी पार्वती दास भन्नुहुन्छ – जीवन बदल्न पहिला सोच बदल्नु पर्ने रहेछ

 माघ २६, २०७९ बिहिबार १४:१०:२७
unn.prixa.net

सन्जीता कुमारी साह, सर्लाही ।     

 ‘काम गर्नका लागी आत्मबल चाहिन्छ, आत्मबल बढाउनका निम्ति सही मान्छेको सल्लाहको जरुरी हुन्छ’ यो भनाइ हो सर्लाहीको मलंगवाकी पार्वती दासको । उहाँको भनाइ मात्र होइन अनुभव पनि हो ।

किनकि वित्तीय साक्षरता कक्षामा बसेपछि पार्वतीको जीवनमा यस्तै भएको छ ।   मलंगवा नगरपालिका ११ मा पर्छ उहाँको घर । उमेर ४५ वर्ष भयो । छोरा बुहारी नातीनातिनासहित ९ जनाको परिवार छ । तर छोरा खाडीमा छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण छोराहरूलाई विदेश पठाउन पर्‍यो ।  

छोरा विदेश गएपछि उहाँको परिवार विदेशको कमाइमा भर पर्न थाल्यो । श्रीमानले ज्यालादारी गरेर कमाएको पैसा र खेतबारीको भर पनि अलिअलि त थियो ।

२०७७ चैत्र महिनादेखि गाउँमा सुरक्षित आप्रवासन सामी कार्यक्रममार्फत वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । पार्वती वित्तीय साक्षरता कक्षामा नियमित रूपमा सहभागी हुन थाल्नुभयो । वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि परिवार व्यवस्थापन, सुरक्षित विप्रेषण, वित्तीय लक्ष्य निर्धारण, बचतको महत्त्व लगायतका कुराहरू जानेपछि पार्वतीको सोच परिवर्तन हुन हुन थाल्यो ।

पार्वती भन्नुहुन्छ ‘चाह्यो भने पुरुषले मात्र होइन महिलाले पनि पैसा कमाउन सक्छन्, ज्याला मजदुरी, व्यापार, व्यवसाय हामी महिला र छोरी चेलीले पनि गर्न सक्छाै, मात्र आफूमा भएका पुराना सोचहरू त्याग्नु पर्ने रहेछ ।’

पार्वती दासलाई वित्तीय साक्षरता कक्षामा व्यवसायको महत्त्वको बारेमा थाहा भइसकेपछि घर खर्च चलाउन विदेशको कमाइमा कति भर पर्नुभन्दा आफैँ केही गरौँ भन्ने लाग्न थाल्यो । त्यसपछि पार्वतीले व्यान नम्बर लिएर व्यवसाय दर्ता गरी किराना पसल सञ्चालन गर्नुभयो । 

कक्षामा बसेर व्यवसाय गर्ने र बचत गर्ने कुराहरू जानेपछि सुरुवात गरेको पसलले थुप्रै कुरा फाइदा भएको छ पार्वतीलाई । अहिले त मासिक ७ देखि ९ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ महिनाको । 

त्यसबाट महिनाको दुई हजार रुपैयाँ बचत गर्नुहुन्छ उहाँ । बाँकी आम्दानीले घर खर्च र बच्चाहरूको पढाई लेखाइको खर्च टारेको छ । मानिस चेतना र उपयुक्त सल्लाहको अभावमा परिवार नै कति समस्यामा पर्छ र समस्याका कारण कत्ति दुःख झेल्नु पर्ने रहेछ भन्ने महसुस भएको छ भन्नुहुन्छ पार्वती । 

‘वित्तीय साक्षरता कक्षामा सहभागी भइसकेपछि बल्ल मेरो आँखा खुल्यो । कक्षाले मलाई ज्ञान दिएको छ’ पार्वती भन्नुहुन्छ । 

(सन्जीता कुमारी साह मलंगवा नगरपालिकामा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सहजकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

तपाईको प्रतिक्रिया