म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा भनेर रोजगारीका लागि गएका नेपालीहरू समस्यामा

 माघ २६, २०७९ बिहिबार १५:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि म्यानमार पुगेका नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ ।

त्यहाँको सूचना प्रविधिको क्षेत्रमा आकर्षक तलब र सुविधा हुनेभन्दै लाखौँ रुपैयाँ तिरेर आएका नेपालीहरूलाई कम्पनीहरूले बन्दी बनाएर जबरजस्ती काममा लगाउने क्रम बढेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नेपालबाट र दुबईमा काम गर्दै आएका कतिपय नेपालीलाई थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा डिजिटल सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ्सको रूपमा आकर्षक तलब र सेवा सुविधाको प्रलोभन देखाइ म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर जबरजस्ती अवैध कार्यहरूमा लगाइएको पाइएको छ ।

अनलाइन जुवा, फ्रड कल सेन्टर, क्रिप्टो करेन्सी ठगी आदीमा संलग्न शङ्कास्पद आइटी फर्महरूले बैंककमा रोजगारीको अवसर देखाइ गैरकानुनी रूपमा नेपालीहरूलाई बैंकक हुँदै म्यानमार तथा कतिपयलाई सोझैँ म्यानमार लगेर बन्दी बनाई काममा लगाएका छन् ।

राहदानी खोसिदिने, १२ देखि १३ घण्टासम्म काममा लगाउने, तलब नदिने गरेको भन्दै म्यानमारमा फसेका नेपालीहरूले उद्धारका लागि दूतावासमा सम्पर्क गरिरहेका छन् । 

म्यानमार र थाइल्यान्डमा पाइने यस्ता खालको विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल र विभिन्न स्थानमा रहेको एजेण्टहरुले फैलाउने गरेको दूतावासको ठहर छ । त्यसैले कसैले म्यानमार वा थाइल्यान्डमा सूचना प्रविधिको क्षेत्रमा रोजगारीको प्रलोभन देखाएमा त्यस्ता प्रलोभनमा नपर्न समेत दूतावासले अनुरोध गरेको छ । 

पर्यटक भिसामा रोजगारीका लागि यात्रा नगर्न, कुनै पनि देशमा रोजगारीका लागि जाने निर्णय गर्नुअघि भनिएको काम बारेमा विदेशस्थित नेपाली दूतावास सम्पर्क गरेर भए पनि कम्पनी बारे बुझ्न दूतावासले भनेको छ ।  

तपाईको प्रतिक्रिया