श्रमिकको समस्या सुन्न र समाधानका लागि सरकारले दूतावासमा छुट्टै ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने

 माघ २६, २०७९ बिहिबार १९:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न विदेशस्थित नेपाली दूतावासमा छुट्टै फोकल पोइन्टको व्यवस्था गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्यालाई सुन्न र त्यसको समाधानका लागि सहजीकरण गर्न दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय प्रधानमन्त्री स्तरबाट भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘श्रम कूटनीतिक प्रक्रियालाई सरल तथा छोटो र छिटो सेवा प्रवाहका लागि दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय भएको छ, श्रमिकको समस्या सुन्ने र समाधानकै लागि खटिने छुट्टै संयन्त्र दूतावासमा भएपछि श्रमिकको समस्या समाधानमा सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले समस्या परेका बेला दूतावासमा सम्पर्क गर्दा फोन नउठ्ने, समस्या नसुन्दिने लगायतका गुनासो गरिरहेको सन्दर्भमा सरकारले दूतावासमा श्रमिकको समस्या सुन्नकै लागि छुट्टै पोइन्टको स्थापना गर्ने भएको हो । 

यसका साथै श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीचको समन्वयका लागि समेत परराष्ट्र मन्त्रालयमा छुट्टै फोकल पोइन्टको स्थापना हुने सचिव अर्यालले बताउनुभयो । 

'पछिल्लो समय मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन र श्रमिकको समस्या समाधानका लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको छ’ सचिव अर्याल भन्नुहुन्छ ‘वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक र हितको रक्षा गर्दै कल्याणकारी कार्य लगायत समग्र श्रम कूटनीतिलाई नै प्रभावकारी रूपमा लैजान आवश्यक छ, त्यसैको सुरुवात हो यो ।’ 

तपाईको प्रतिक्रिया