नेपाली श्रमिकको हकहित संरक्षणमा गन्तव्य देशले ध्यान दिनपर्छ : श्रम सचिव अर्याल

 फागुन ४, २०७९ बिहिबार १०:४२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।

संयुक्त अरब इमिरेट्स यूएईमा भएको सरकार प्रमुखहरूको वर्ल्ड गभरमेन्ट समिटमा आफ्नो भनाइ राख्दै सचिव अर्यालले नेपाली श्रमिकहरूले विभिन्न बहानामा समस्या भोगिरहेको भन्दै उनीहरूको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरूले ध्यान दिनुपर्ने बताउनु भएको हो ।

समिटमा मध्य एसियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा समूहगत छलफल भएको थियो । समूहगत रूपमा भएको छलफल सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा नवीनतम प्रयोग, श्रम बजार, नयाँ प्रविधि, जलवायु परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको श्रम मन्त्रालयले जनाएको छ ।

यसका साथै श्रमिक पठाउने देशहरुबीचमा श्रमिकका समस्याका विषयमा साझा धारणा बनाउन बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भियतनामका श्रम मन्त्री र नेपालको तर्फबाट श्रम सचिव स्तरीय बैठकसमेत भएको छ ।

त्यस्तै समिटमा सचिव अर्यालले नेपाली श्रमिकका समस्या र समाधानका लागि यूएईका मानव संसाधन मन्त्री डा.अब्दुलरहमान अल अवर र कतार सरकारका मानव संसाधन मन्त्री  र आइएलओका महानिर्देशक गिल्बर्ट होङबोसँग पनि भेटवार्ता गर्नुभएको छ ।

फेब्रुअरी १२ देखि १५ सम्म सञ्चालन भएको वर्ल्ड गभरमेन्ट समिटमा ९० भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । २५ भन्दा बढी देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले पनि सहभागिता जनाएका थिए ।

नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वमा नेपाली राजदूतावास यूएईका राजदूत कृष्णप्रसाद ढकाल र मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सहभागिता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया