वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाइने आर्थिक सहायतामा बिचौलियाको ठगी बढ्यो

 फागुन ४, २०७९ बिहिबार १२:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएर फर्किएका श्रमिकले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायतामा बिचौलियाले ठग्ने गरेको पाइएको छ ।

बिचौलियाहरूले घरसम्म पुगेर काम छिटो र सरल रूपमा गरिदिन्छु भन्दै प्रभावमा पारी रकम असुल्ने गरेको पाइएको बोर्डले जनाएको छ । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको श्रम अवधि भित्रै वैदेशिक रोजगारी कै क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएमा कानुन अनुसार बोर्डबाट अधिकतम सात लाख रुपैयाँसम्म र बिमामार्फत पनि पैसा पाइन्छ । ज्यान गुमाउने श्रमिकको हकमा बिमा गरेको किसिम अनुसार अधिकतम १४ लाख रुपैयाँ पाउँछन् ।

यस्तो आर्थिक सहायता लिनका लागि तोकिएको ढाँचामा आवश्यक कागजातहरू राखी आफ्नै सम्बन्धित पालिकामार्फत निवेदन दिन पर्छ । आर्थिक सहायता लिनका लागि काठमाण्डौमा रहेको बोर्डको सचिवालयसम्म धाउन पर्दैन।

बोर्डका अनुसार यस्तो व्यवस्था हुँदा हुँदै पनि मृतक श्रमिकको  घरमा वा अङ्गभङ्ग भएर स्वदेश फर्किएका श्रमिकको आफन्तलाई भेटी बिचौलियाहरूले प्रभावमा पार्ने र रकम असुल्ने गरेका छन् ।

त्यसैले बिमा र बोर्डमार्फत पाइने आर्थिक सहायता लिन कुनै पनि असम्बन्धित व्यक्ति र बिचौलियाको भरमा नपर्न, कुनै पनि रकम नदिन र आफ्नो बैङ्कसँग सम्बन्धित कागजात चेक र एटिएम कार्ड लगायत सुरक्षित राख्न बोर्डले अनुरोध गरेको छ । 

यदि कसैले सहयोग गर्छु भन्दै या अन्य कुनै प्रलोभनमा पारी दुःख दिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिन्छ ।

यसका साथै आर्थिक सहायताबारे थप बुझ्न सकैले प्रलोभनमा पार्न खोजेमा नजिकको आप्रवासी स्रोत केन्द्रमा सहयोगका लागि सम्पर्क गर्न सकिन्छ । ०१५३२०३११, ०१५३२०४३३ नम्बर वा श्रम कल सेन्टरमा एनटीसी र ल्याण्डलाइन नम्बरबाट निःशुल्क ११४१ नम्बरमा फोन गरेर पनि थप जानकारी लिन सकिने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया