बाइक राइडर र ट्याक्सी ड्राइभरको पदमा यूएई र कतारमा श्रमिक पठाउन प्रतिबन्ध

 फागुन ८, २०७९ सोमबार १६:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरको काममा श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरको पदमा कामका लागि गएका नेपालीहरू समस्यामा पर्ने क्रम बढेको भन्दै विभागले अनिश्चितकालका लागि यी काममा श्रमिक पठाउन पूर्व स्वीकृति नदिने जनाएको छ । 

यी दुई पदमा कतार र यूएई पुगेका धेरैजसो नेपालीहरू समस्यामा परेको, स्वीकृत मागपत्र अनुसारको न्यूनतम तलब समेत नपाएको र सहज रूपमा गन्तव्य देशको लाइसेन्स नपाउँदा लामो समयसम्म काम विहीन भएर बस्नु परेको विभागले उल्लेख गरेको छ । 

यी दुई काममा श्रमिक पठाउन सुरक्षित नदेखिएको भन्दै विभागले अर्को सूचना जारी नभएसम्म कतार र यूएईमा रहेका नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरण नगर्न अनुरोध गरेको छ ।

यसका साथै सम्बन्धित देशको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभव नहुँदा दुर्घटनामा पर्ने र धेरैजसो श्रमिकले ट्राफिक कारबाही परी ठूलो रकम जरिबाना तिर्न परेको छ । 

बाइक राइडर र ट्याक्सी ड्राइभरको पदमा गएका धेरैजसो श्रमिकले यस्तो समस्या भोगेको भन्दै विभागमा आउने गुनासो पनि बढेको छ । यस्तो समस्या सम्बन्धी गुनासो बढेपछि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पठाउन सुरक्षित नदेखिएको विभागको ठहर छ । 

अब अर्को सूचना जारी नहुँदासम्म यी दुई कामका लागि पूर्व स्वीकृति प्रदान नगर्ने विभागले जनाएको छ । 

1 Comments

  • pratap rai

    Feb. 20, 2023, 6:13 p.m.

    ठिक हो राम्रो गरेको अब सुन्नु पाउ कि अब जादा निउनतम पनि 70 80 हजार होश र सेवा सुबिधा भने जस्तै भयोश अनि kuwait को के हुन्छ daivar मा मेरो kuwait को लगी try गरेको छु

तपाईको प्रतिक्रिया