साउदीमा दूतावासभन्दा टाढाको क्षेत्रमा कार्यरत नेपालीका लागि राहदानीको आवेदन सङ्कलन गर्न शिविर सञ्चालन हुने

 चैत २३, २०७९ बिहिबार ११:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको रियाद सहरभन्दा टाढा टाढाको स्थानमा कार्यरत नेपालीहरूका लागि पायक पर्ने स्थानबाटै राहदानी सेवा प्रदान हुने भएको छ ।

दूतावासभन्दा टाढाको स्थानमा रहेका नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन समस्या हुने गरेको भन्दै उनीहरूलाई पायक पर्ने स्थानबाट राहदानी सम्बन्धी सेवा दिने तयारी गरिएको दूतावासले जनाएको छ । 

अप्रिल २८ र २९ का दिन दूतावासले साउदीको अल फैसलिया दमाममा राहदानीको आवेदन सङ्कलन शिविर सञ्चालन गर्ने भएको छ ।

साउदी अरबको पूर्वी क्षेत्रको दमामको अल असेम रेष्टहाउस फर फेस्टिभल, अल फैसलियामा शिविर राख्ने दूतावासले जनाएको छ राहदानीको आवेदन बिहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म सङ्कलन हुने छ । 

दूतावासको शिविरमा आवेदन बुझाउन जाँदा अनलाइनमार्फत प्रि इनरोल गरेको बारकोडयुक्त फारम लैजानु पर्छ । अनलाइनबाट फारम नभरी सिधै शिविरमा जाँदैमा राहदानीको आवेदन दिन पाइँदैन । यस्तै सक्कल राहदानी पनि साथमा लग्नुपर्छ ।

राहदानीमा फोटो भएको पेज र पेज नम्बर ३१ को फोटो कपी गरेर लैजान पर्छ । यस्तै हराएको राहदानी नवीकरण गर्नु पर्ने हो भने प्रहरी रिपोर्ट वा कम्पनीले दूतावासलाई सम्बोधन गरेर लेखेको पत्र पनि साथमा लैजान पर्छ । 

राहदानीको म्याद सकिन ६ महिनाभन्दा कम समय बाँकी रहेकाहरूले राहदानी नवीकरणका लागि आवेदन फारम भर्न सकिन्छ । राहदानी बनाउन दुई सय साउदी रियाल दस्तुर लाग्ने छ ।

तर राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा भने साउदी रियाल चार सय लाग्ने छ । 

दूतावासले साउदीको विभिन्न सहरमा छरिएर रहेका नेपालीका लागि दूतावास आउन लाग्ने समय र समस्यालाई मध्यनजर गर्दै विभिन्न सहरहरूमा राहदानी सङ्कलनको शिविर राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया