अफगानिस्तानबाट उद्धार गरिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले देश निकाला गर्ने निर्णय रोकियो

 चैत २३, २०७९ बिहिबार १३:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीलाई बेलायतबाट स्वदेश फिर्ता पठाउने योजना तत्काललाई रोकिएको छ ।

तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पुर्‍याइएका सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरूलाई नियन्त्रणमा लिएर देश निकाला गर्ने प्रक्रिया अघि बढाएको बेलायतले तत्काल त्यसो नगर्ने बताएको बिबिसीले खबर लेखेको छ ।

अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएकाे थियो । बेलायतमा लगेर उनीहरुलाई एउटा होटलमा राखिएको र त्यही होटलमा आफूहरूले काम गर्दै आएको एक नेपालीले बताएका छन् ।

उनीहरूले बेलायतमा स्थायी रूपमा बसोबास गर्नका लागि आवेदन दिएको भए पनि बेलायतले उनीहरूलाई देश निकाला गरेर स्वदेश पठाउने बताएको थियो र त्यसका लागि आवश्यक कागजपत्र समेत तयार भइसकेको बिबिसीले उल्लेख गरेको छ । 

होटलमा बसेर काम गर्दै आएका केहीलाई छापा मारेर पक्राउ समेत गरिएको थियो । तर बिबिसीका अनुसार बेलायतको गृह मन्त्रालयले उनीहरूलाई बेलायतबाट स्वदेश पठाउने तयारी अहिलेलाई रोकिएको जानकारी दिएको छ ।

‘यस विषयमा थप छलफल र समीक्षा नहुँदासम्मका लागि अहिलेलाई उनीहरूलाई देश निकाला गर्ने निर्णय रोकिएको छ’ बेलायती गृह मन्त्रालयका प्रवक्ताको भनाइलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

पक्राउ परेकाहरूलाई स्वदेश फिर्ती केन्द्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया