वैदेशिक रोजगारीमा रहेकालाई टेलिमेडिसिन सेवा : अहिलेसम्म गरे १४ देशबाट १३७ जनाले फोन

 चैत २७, २०७९ सोमबार १७:५४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य समस्या सम्बोधनका लागि सुरु भएको टेलिमेडिसिन सेवाका लागि १४ वटा गन्तव्य देशबाट एक सय ३७ जनाले फोन गरेर सेवा लिएका छन् ।

सेवा सुरुवात भएको १२ दिनमा एक सय ३७ जना श्रमिकले विभिन्न १४ वटा गन्तव्य देशबाट सम्पर्क गरेर सेवा लिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

सेवाका लागि फोन सम्पर्क गर्नेमा सबै साउदीबाट छन् । बोर्डका अनुसार साउदीबाट ३६ जनाले फोन सम्पर्क गरेर स्वास्थ्य सेवा लिएका छन् भने साउदीपछि सबैभन्दा धेरै मलेसियाबाट ३३ जनाले फोन सम्पर्क गरेका छन् । सम्पर्क गर्नेमा धेरैजसो गन्तव्य देशमा गैरकानुनी रूपमा काम गरिरहेकाहरू रहेको टेलिमेडिसिन सेवा प्रदान गरिरहेका डाक्टरले बताएका छन् । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई टेलिफोनमार्फत नै स्वास्थ्य परामर्श प्रदान गर्नका लागि वीर अस्पतालसँगको सहकार्यमा बोर्ड यही चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सुरुवात गरेको हो । 

सार्वजनिक बिदाको दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्छन् ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरूले खटिएका छन् ।  

१० देखि ५ बजेको समयमा फोन गरेर आफ्नो समस्या राख्न सकिन्छ ।

यदि मेडिकल अधिकृतहरूले नै समाधान गर्न सक्ने स्वास्थ्य समस्या भएमा उनीहरूले तत्काल सम्बोधन गर्ने र यदि थप विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक परेमा प्रत्येक हप्ताको आइतबार र शुक्रवार विशेषज्ञ डाक्टरले नै श्रमिकको समस्या समाधानका लागि काम गर्ने बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया