वैशाख १५ गतेदेखि मलेसियास्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने

 चैत २९, २०७९ बुधबार १७:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले आउँदो वैशाख १५ देखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ ।

मलेसियामा र ब्रुनाईका विभिन्न सहरहरूमा कार्यरत रहेर श्रम स्वीकृति नवीकरण गर्न बाँकी रहेकाहरूका लागि २०८० सालको वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने दूतावासले जनाएको छ । 

दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको वेबसाइटमा गई फेमिस सिस्टमबाट अनलाइन आवेदन दिनुपर्छ । 

अनलाइनबाट आवेदन दिन सबैभन्दा पहिला सिस्टममा आफ्नो यूजर आइडी बनाउन पर्छ । यस्तो आइडी आफ्नो राहदानी नम्बर राखी बनाउन सकिन्छ । 

राहदानी नम्बर राख्दा आफूले यसभन्दा अघि श्रम स्वीकृति लिँदा प्रयोग गरेको राहदानी नम्बर नै राख्न पर्छ । नयाँ राहदानी बनाउनुभएको छ भने पछिल्लो राहदानी नम्बर राख्न पर्छ । 

सिस्टममा पहिला नै दर्ता भएर आइडी बनाइसकेको तर पासवर्ड बिर्सिएमा पासवर्ड रिसेट गर्न सकिन्छ । आफ्नो प्रयासमा पासवर्ड रिसेट गर्न नसकेमा दूतावासमा सम्पर्क गर्न सकिन्छ । त्यसका लागि आफ्नो राहदानी नम्बर, इमेल र सम्पर्क नम्बर उल्लेख गरी [email protected] मा इमेल गर्न पर्छ । 

दूतावासले नयाँ पासवर्ड उपलब्ध गराउने छ । अबदेखि भने विदेशमा रहेका नेपालीहरूले पुनः श्रम स्वीकृति लिँदा अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ । त्यसका लागि सामाजिक सुरक्षा कोषको अनलाइन सिस्टममा गई प्रक्रिया गरेर आबद्ध हुनुपर्छ । 

मलेसियाबाट पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बिमा बापतको रकम खल्ती, कनेक्ट आइपीएस वा इसेवाजस्ता डिजिटल बैङ्किङबाट रकम भुक्तानी गर्न सकिन्छ । यसबाट रकम तिरेको प्रमाण सिस्टममा अपलोड गर्नुपर्छ । पुनः श्रम स्वीकृति लिन र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेबारे थप जानकारी वा जिज्ञासा भएमा दूतावासमा सम्पर्क गर्न सकिन्छ । 

सरकारले श्रम स्वीकृति सेवालाई सहज बनाउन विदेशस्थित नेपाली नियोगहरूबाटै पनि पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेपछि मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरुवात गर्न थालेको हो ।

तपाईको प्रतिक्रिया