मापदण्डअनुसार वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न महासंघको आग्रह

 बैशाख ४, २०८० सोमबार १६:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मापदण्डभित्र रहेर तालिम सञ्चालन गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिइसकेपछि श्रमिकले अनिवार्य रुपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यी तालिम प्रदायक संस्थाले लापरबाही गर्ने गरेको, कक्षामा उपस्थित नभएकाहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिने गरेको लगायत आरोप लाग्न थालेपछि महासंघले त्यस्तो नगर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुको लागि अभिमुखीकरण तालिम दिन अहिले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ कार्यान्वयनमा छ । तर आफूहरु यो कार्यविधि परिमार्जनको पहल गरिरहे पनि तालिम प्रदायक संस्थाले गर्नै नहुने क्रियाकलाप गर्ने गरेकोप्रति महासंघका महाचसचिव लक्ष्मीप्रसाद लामिछानेले आपत्ति प्रकट गर्नुभयाे । उहाँले अभिमुखीकरण व्यवसायीहरुमा निहित स्वार्थ छोडेर तपसिल अनुसार काम गर्न पनि अनुरोध गर्नुभएको छ ।

१. सूचना अनुसारको हाजिरी सुरक्षित राख्नू ।
२. निरीक्षण नगराई अनुमति लिएको भन्दा बढी नाम नहाल्नू ।
३. समूह बनाउँदा नजिक नजिकको संस्था समेटेर बनाउनू।
४. तोकिएको पूर्वाधार र जनशक्ति तयार बनाउन र क्लस्टर अनुसारको प्रशिक्षक राख्नू ।
५. उपत्यकामा ८ संस्थाको १ हाउस, र एक हाउसबाट एक प्रतिनिधि पठाउनू ।
६. विचौलियाबाट व्यवसाय नगर्नू र सेटिङ्ग नगर्न तथा नक्कली प्रशिक्षार्थी नराख्नू ।
७. महासंघले निर्माण गरेको प्रणालीमा जाने सफ्टवेयरमा आबद्ध हुनू ।
८. बाग्मती प्रदेशभित्र संगठित भएका हाउसको नामावली प्रदेशलाई जानकारी गराउनू ।
९.पाठ्यक्रम २०७७ र बोर्डको वेबसाइटमा भएको भिजुअलअनुसार प्रशिक्षण गराउनू ।
१०. बजारीकरण नगर्न वा व्यवसाय ढुक्कता राख्न पहिलेनै कमिसन नबुझाउनू ।
११. बाेर्ड, मन्त्रालय र विभागबाट आउने अनुगमन टोलीलाई सहयोग गर्नू ।
१२.अनावश्यक रुपमा कसैले आर्थिक माग राखे खबर गर्नू ।
१३. आ–आफ्नो समूहको लागि सामूहिक सञ्जाल बनाउनू ।
१४. विश्वास नलाग्दा नलाग्दै एउटा संस्थाले अर्को संस्थालाई युजर नेम पासवर्ड नदिनू ।
१५. उधारोमा काम नगर्न, साथीहरुलाई छलछाम गरी प्रदेश कटाउने ध्येय नराख्नू ।


 

तपाईको प्रतिक्रिया