भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० जनाबाट ५ करोड १९ लाख रुपैयाँ ठगी

 बैशाख ७, २०८० बिहिबार १३:४:१८ | रासस
unn.prixa.net

काठमाण्डाै - भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आश्वासनमा ५ करोड १९ लाख रुपैयाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । 

नेपाल प्रहरीको काठमाण्डाै उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधवार हिजाे काठमाण्डाै जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ । 

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि अहिलेसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ ।

पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया