वैदेशिक रोजगारीमा रहँदा जेलनेलबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

 बैशाख १३, २०८० बुधबार १७:२८:२३ | कुलप्रसाद कार्की
unn.prixa.net

फाइल तस्बिर

देश छाडेर रोजगारीका लागि विदेश जाने भन्ने बित्तिकै थुप्रै कुराहरू बुझेर जानु पर्ने हुन्छ । त्यो थुप्रै कुरा बुझ्ने पहिलो माध्यम भनेको अनिवार्य लिनु पर्ने अभिमुखीकरण तालिम नै हो । अभिमुखीकरण तालिम राम्रोसँग लिने र त्यहाँ सिकाएका कुराहरू मनन गर्न पर्छ । 

यो अभिमुखीकरण तालिममा तपाईँ जाने देशको धर्म, संस्कृति, नीति नियम, भाषा, सडक नियम लगायत थुप्रै त्यहाँ रहँदा अपनाउन पर्ने सावधानीका कुराहरू सिकाइन्छ । त्यसैले पनि विदेश उड्नुभन्दा अघि यो तालिम लिएर बुझेर मात्र जान आवश्यक छ । 

अर्को महत्त्वपूर्ण कुरा भनेको तपाईँ विदेश जाँदा होस् या विदेशबाट घर फर्कँदा विमानस्थलबाट तपाईँलाई कोही कसैले भरिया बनाउन सक्छ ।

भन्ने खोजेको के हो भने तपाईँलाई कसैले यति सामान लगिदेऊ, मेरो मानिस विमानस्थलमै लिन आउँछन्, आपत् परेर हो लगायतका बहाना गरेर सामान पठाउँछन् र यस्तो सामान भावनामा बहकेर वा उनीहरूले देखाएको प्रलोभनमा परेर ल्याइहाल्यो भने विमानस्थलमै पक्राउ परिने र जरिवाना हुने हुनसक्छ । त्यसैले यात्राको क्रममा कसैको पनि सामान ल्याउने वा लैजाने गर्न हुँदैन ।

विदेश जाने बेलामा कस्ता कुराहरू साथमा लान पाइन्छ र के कस्ता कुराहरू लैजान पाइँदैन भन्ने कुरामा सचेत हुन पर्छ । जस्तै हामीले नेपालमा अचारको छोपको रूपमा खादै आएको भाङ्गो अर्थात् भाङ्को छोपलाई मध्यपूर्वका देशले गैरकानुनी मान्छन् । यो बोकेर गएमा पक्राउ पर्ने सम्भावना हुन्छ ।

भिनाजुलाई मन पर्छ भनेर सालोले बोकेर जाँदा सालो विमानस्थलमै पक्राउ परेको उदाहरण पनि छन् । त्यसैले तपाईँ विदेश जाने बेलामा कुन देश जाने हो र के कुरा लैजान पाइन्छ, के कस्ता कुराहरू पाइँदैन भन्ने कुरामा सचेत हुन पर्छ ।

अब गन्तव्य देशमा पुगिसकेपछि सबैभन्दा पहिला ध्यान दिनु पर्ने भनेको आफू कुन देशमा आएको छु, त्यो देशको नीति नियम के छ भन्ने कुरालाई सदैव याद राख्न पर्छ । त्यो देशको कानुन, धर्म र संस्कृतिलाई सम्मान गर्न पर्छ र पालना पनि गर्न पर्छ ।

आफ्नो व्यक्तिगत परिचयका कागजातहरू साथैमा बोकेर हिँड्न पर्छ । राहदानी वा त्यो देशमा बस्नका लागि बनेको तपाईँको परिचयपत्र साथैमा राख्ने गर्नुहोस् । कहीँ कतै हिँड्दा प्रहरीले माग्दा वा जाँच भएमा देखाउन पर्छ । साथमा कागजात छैन भने बिना कारण सजायको भागीदार भइन्छ ।

यदि तपाईँ गाडी चलाउने काममा जानुभएको छ भने विशेष ध्यान दिनुहोस् । साथमा सवारी चालक अनुमतिपत्र छैन भने गाडी नचलाउनुहोस् । कम्पनीलाई मसँग अनुमति पत्र छैन म चलाउँदिन भनेर इन्कार गर्नुहोस् । यति भन्दा भन्दै पनि जबरजस्ती तपाईँलाई गाडी चलाउने काम लगायो भने आफ्नो दूतावासमा फोन गरेर खबर गर्नुहोस् ।

कम्पनीले भनिहाल्यो भनेर सवारी चालक अनुमतिपत्र बिना गाडी नचलाउनुहोस् । कुनै दुर्घटना वा भवितव्य परिहाल्यो भने तपाईँलाई मृत्युदण्डको सजायसम्म हुन सक्छ । 

यस्तै सवारी चलाउँदा तपाईँलाई विभिन्न खालका प्रलोभनहरू देखाउन सक्छन् । कम्पनीको सामान लिएर हिँड्दा तपाईँलाई प्रलोभन देखाएर फसाउन सक्छन् । कसैको पनि प्रलोभनमा नपर्नुहोस् । कम्पनीले तोकेको काम गर्नुहोस् ।

जाँडरक्सी खाने, खाएर गाडी चलाउने काम कहिले पनि नगर्नुहोस् । कम्पनीको नियम पालना गर्नुहोस् । कतिपयले त कसैले थाहा पाउँदैनन् भनेर भित्रभित्रै जाँडरक्सी उत्पादन गर्ने र गैरकानुनी रूपमा ओसारपसार गर्ने गरेको पनि पाइन्छ । यसो गर्दा तपाईँले नसोचेको कारबाहीमा पर्न सक्नुहुन्छ ।

जेल सजाय भोग्नु पर्ने, कोर्रा खानु पर्नेदेखि अनेक दुःख हुन सक्छ । यस्तो खालको गैरकानुनी कार्यलाई कतिपय देशले एकदमै ठुलो अपराधको रूपमा हेर्न सक्छन् । त्यस कारण सचेत हुनुहोस् । म कमाउन आएको हो त्यसका लागि काम गर्नुपर्छ भन्ने कुरा नबिर्सिनुहोस् ।

लागू औषध खाने, गाँजा चरेसजस्ता लागूपदार्थको ओसारपसार गर्ने काम गर्नुहुँदैन । तपाईँलाई प्रलोभन देखाएर यति गरेमा रकम दिन्छु भनेर फसाउन सक्छन् । गन्तव्य देशमा काम गरिरहँदा यस्ता प्रलोभनबाट बच्नुपर्छ । 

कम्पनीको नियम पालना गर्न बहाना नगरौँ । रक्सी खाने, टाउको दुख्यो भन्ने काममा नजानेजस्तो प्रवृत्ति नगरौँ । समयमा सुत्ने, उठ्ने, काममा जाने लगायतका जिम्मेवारी पूर्ण रूपमा निभाउन पर्छ । नत्र कम्पनीमा तपाईँको दक्षताको मूल्याङ्कन राम्रो हुँदैन र बीचैमा स्वदेश फर्कन पर्ने पनि हुनसक्छ ।

गलत सङ्गतबाट जहिले पनि बच्न पर्छ । कतिपय अवस्थामा सङ्गतको कारण पनि तपाईँ अप्ठेरोमा फस्न सक्नुहुन्छ । कोही  साथीले जाँड रक्सी वा लागूपदार्थ खाऊ भन्छ वा अन्य गैरकानुनी कामका लागि प्रेरित गर्छ भने त्यस्तो सङ्गतबाट बच्नुपर्छ ।

यस्तै सार्वजनिक स्थानमा फोटो खिच्दा ध्यान दिन पर्छ । कतिपय देशले फोटो कस्तो ठाउँमा खिच्न नपाउने र कस्तो ठाउँमा पाउने भन्ने कुराको नियम एकदमै कडा रूपमा बनाएका हुन्छन् । फोटो खिचेकै आधारमा तपाईँलाई सजाय पनि हुन सक्छ । 

यदि इस्लाम धर्म मान्नेहरू छन् भने उनीहरूको प्रार्थनाको समयमा तपाईँ विशेष चनाखो हुनुपर्छ । प्रार्थना गरिरहेको अघिल्तिरबाट हिँडिदिने, म्याटहरू कुल्चिदिने गरेका कारण दण्ड जरिवाना भएको पनि उदाहरणहरू छन् । त्यस कारण यस्तो नगर्नुहोस् । हरेक धर्म र धर्म अनुसारको नियमलाई सम्मान गर्नुहोस् ।

बाटो काट्दा होस् या गाडी चलाउँदा ट्राफिक नियमबारे राम्ररी बुझ्नुहोस् । ट्राफिक बत्तीहरूको पालना गर्नुहोस् । जतासुकै ठाउँबाट बाटो नकाट्नुहोस् । लेन अनुसार गाडी चलाउनुहोस् । आफूलाई जानकारी भएन भने अनुभवी मानिसलाई सोधेर त्यसअनुसार अघि बढ्दा पनि हुन्छ । 

आमा बुवालाई पनि अनुरोध के छ भने छोरो घरमा बिग्रियो विदेश गयो भने बरु सुध्रिएला भन्ठानेर उसलाई विदेश नपठाउनुहोस् । अझ विशेष गरी खाडीका देशमा पठाउनुअघि दश पटक सोच्नुहोस् । यहाँ गलत सङ्गत र खानपानमा परेको छ विदेश गएपछि आनीबानी राम्रो होला भनेर खाडी पठाउँदा त्यहाँ पुगेपछि झन् नराम्रो परिणाम आउन पनि सक्छ । त्यस कारण परिवारका सदस्यले पनि ध्यान दिनुहोस् । 

यदि अन्जानमै कानुनी झमेलामा परिहालियो भने दूतावासको सहयोग लिनुहोस् । आफूलाई भाषा आउँछ भने आफ्नो कुरा प्रस्टसँग राख्नुहोस् । नबुझी, जानकारी नपाई कागजातहरूमा सही नगर्नुहोस् । 

(प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्कीसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

कुलप्रसाद कार्की

कार्की प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया