१२ पास गरेपछि सके युरोप नसके खाडी र मलेसियाको आस

 वैशाख २६, २०८० मंगलबार १७:१४:४८ | नारायण कोइराला
unn.prixa.net

खाडीबाट फर्केपछि उराठ जिन्दगी बिताउँदै गर्दा पुराना समयले चिथोर्न गर्दछ । खाडीको जिन्दगी फूलबारी जस्तो थियो भन्न खोजेको पनि होइन । काम थियो। साथमा माम पनि । हुन त भोकै को मरेको छ र ? तर मेहनत गर्‍यो त्यस अनुसारको फल नपाउँदा मन खिन्न हुनु स्वाभाविक पनि हो । 

यस्तै खाली समयमा विगततिर मन पुगिहाल्दो रहेछ । खाडीमा हुँदा मनमा ठुला सपनाहरु हुने गर्थे । अब भने ती इच्छा र आकाङ्क्षाहरू मरिसकेका छन् । उमेर र शारीरिक थकानले पनि यस्तो महसुस गराउँदो रहेछ । समयसँगै मानिसको इच्छा पनि बदलिँदो रहेछ । 

मेरो इच्छा त व्यक्तिगत हो । मेरो इच्छा बदलियो भन्दैमा सबैको बदलिने कुरो नि भएन । अहिलेको अवस्थामा हेर्दा केही कुराले मलाई धेरै दिनदेखि मनमा घोचिरहेको छ । 

हामीहरू विदेश जाने बेलामामा हाम्रो अवस्था अर्कै थियो । त्यति सजिलै विदेश पुग्न सक्ने अवस्था पनि थिएन । आमाबुवाको अगाडि विदेश जाने कुरा त झन् गर्नै सक्ने अवस्था थिएन । विदेश जाने काम होस् या नहोस् ।

आमाबुवा रुन थालिहाल्नुहुन्थ्यो । त्यो बेला आमाबुवासँग रिस पनि उठ्थ्यो । तर अहिले सम्झँदा लाग्छ त्यो त माया पो रहेछ । 

विदेश जान भिसा आए पनि आजभोलि जस्तो सेल्फी हानेर हल्ला गर्दै विदेश जाने परम्परा थिएन । त्यो बेला यस्तो गर्न मोबाइल र क्यामरा पनि कहाँ थिए र ? त्यसको कमी पनि हो कि ।

समाज पनि अलि लजालु नै थियो । त्यो बेला विदेश जाने भनेको अहिले जस्तो पढेलेखेका कमै हुन्थे ।

त्यो अवस्थाबाट सुरु भएको विदेश जाने परम्परामा अहिले धेरै परिवर्तन भएको छ । यो परिवर्तन ल्याउन मुख्य भूमिका खेल्ने भनेका नेपालमा बन्ने सरकार र पार्टी नै हुन् । देशमा आएको परिवर्तनसँगै बिदेसिने तरिका पनि बदलिँदै गयो ।

देशको राजनीतिक अस्थिरताले खाडी र मलेसियामा गएकाहरू फर्कने भन्दा पनि अझ बढी जाने अवस्था सृजना भयो । अहिले आएर त बाध्यता नै भएको छ । समय र परिस्थितिले रुट परिवर्तन गरेको छ ।

अहिलेको विकराल परिस्थिति बुझ्ने प्रयास गर्ने हो भने, परिस्थिति गम्भीर छ । खाडी र मलेसियामा बसेर छोराछोरीलाई देशमै सेटल गर्ने इच्छा परदेशिएका श्रमिकको छ । मेरो पनि त्यहाँ बस्दा इच्छा यस्तै थियो । तर देशको अवस्था र व्यवस्था भने त्यसको विपरीत छ ।

अहिलेको अवस्थामा सजिलै छोराछोरीलाई देशमा अवसर छ भन्नु बालुवाको घर बनाउनु जस्तै हो । परदेशिएका श्रमिक भ्रममा हुन सक्छन् । यो कुरा बुझ्न स्वदेशमा बस्ने श्रमिकका छोराछोरीलाई प्रश्न गर्न सकिन्छ ।

के परदेशी श्रमिकका छोराछोरीलाई देशमा अवसर छ त ? अपवादको पछि लाग्न सकिन्न । धेरै जसोको एउटै उत्तर आउँछ १२ पास गरेपछि सके युरोप नसके खाडी र मलेसियाको आस छ ।

तपाईको प्रतिक्रिया