राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो, ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी एउटै दस्तुरमा

 असार १, २०८० शुक्रबार १६:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ ।

यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ । यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो । ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तुर पाँच हजार नै लाग्ने छ ।

राहदानी कि त ३४ पृष्ठ र कि त ६६ पृष्ठको जारी हुन्छ । आफ्नो आवश्यकता अनुसार राहदानीको आवेदन दिँदा कति पृष्ठको बनाउने हो त्यो छनौट गर्न पाइन्छ । यसअघि भने पृष्ठ अनुसार लाग्ने दस्तुर फरक थियो ।

अब भने एउटै दस्तुरमा दुवै पृष्ठको राहदानी जारी हुन्छ । 

काठमाण्डौमा रहेको राहदानी विभागबाट तत्काल राहदानी लिँदा भने १२ हजार रुपैयाँ दस्तुर लाग्छ । विभागबाट राहदानी बनाउँदा कम्तीमा तीन दिनभित्र हात पर्छ भने जिल्लाबाट बनाउँदा १० देखि १५ दिनमा राहदानी बनेर जिल्ला पुगिसक्ने विभागले जनाएको छ ।

विदेशमा रहेका नेपाली दूतावासबाट राहदानी बनाउँदा भने देशगत रूपमा दस्तुरमा केही तलमाथि हुन सक्छ ।

तपाईको प्रतिक्रिया