नेपालबाट राेजगारीकाे प्रलाेभनमा विदेश पुर्‍याइ 'अनलाइन स्क्यामिङ'मा लगाउने चिनियाँ नागरिक पक्राउ

 असार २८, २०८० बिहिबार १८:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालबाट राेजगारीकाे प्रलाेभनमा विदेश पुर्‍याइ ''अनलाइन स्क्यामिङ''मा लगाउने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । थाइल्याण्ड लैजाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याइ बन्धक बनाएर 'अनलाइन स्क्यामिङ' गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

उनी चीनको ज्ञानसु प्रान्त घर भई काठमाण्डौ महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्दै आएका थिए । दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाइ अवैध 'अनलाइन स्क्यामिङ'मा लगाएर शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । लियाङले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याई बन्धक बनाएका थिए । त्यहाँ पीडितलाई अवैध 'अनलाइन स्क्यामिङ'मा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा त्याे रकम बुझाएपछि नेपाल फिर्ता भएको प्रहरीले जनाएकाे छ ।

लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको खुलेकाे छ । यस्तै उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेका थिए । उनले 'अनलाइन स्क्यामिङ'मार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गर्न लगाइ क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको प्रहरीकाे भनाइ छ । 

घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी विरुद्ध जिल्ला अदालत काठमाण्डौबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया