वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण मनोसामाजिक समस्या बढ्दो

 साउन १८, २०८० बिहिबार १६:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण परदेशीका परिवारमा मनोसामाजिक समस्या बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारमा अत्यधिक पिर चिन्ताको लक्षण देखिएको र त्यसको प्रमुख कारण विदेश जान काढेको ऋण रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको तथ्याङ्कले देखाएको हो । 

सिएमसी नेपालले करिब पाँच वर्षकाे अवधिमा नौ हजार चार सय ८४ जनालाई सेवा दिँदा ७१.६६ प्रतिशतमा अत्यधिक चिन्ताका लक्षणहरू भएको पाइएको छ भने १२.७ प्रतिशतमा डिप्रेसनका लक्षणहरू पाइएको छ । ३.२ प्रतिशतमा भने आत्महत्या प्रयास र जोखिम पाइएको पनि सिएमसी नेपालले जनाएको छ । 

वैदेशिक रोजगारीमा गएका आफ्ना मानिसहरूको विभिन्न कारण मृत्यु वा कुनै समस्यामा परेका कारण ८.७ प्रतिशत परिवारका सदस्यमा भने आघातको समस्या पनि पाइएको छ ।

परदेशीका परिवारमा मनोसामाजिक समस्या बढ्नुको मुख्य कारण भने वैदेशिक रोजगारीमा जाने बेलामा काढेको ऋण रहेको पाइएको सिएमसीले जनाएको छ ।

यस्तै विदेशमा रहेका आफन्त हराएका कारण, परदेशीको मृत्यु भएको कारण र घरेलु हिंसाको कारण पनि परदेशीका परिवारमा मनोसामाजिक समस्या बढ्दै गएको छ ।

यसका साथै कमाउन गएको मानिस नै विदेशमा समस्यामा परेका कारण, परदेशीको स्वास्थ्यमा समस्या आएका कारण, विदेशमा भनेकोजस्तो काम र कमाइ नहुँदा र कामको बोझको कारण पनि परिवारका सदस्यमा मानसिक समस्या हुने गरेको पाइएको सिएमसीको तथ्याँङकले देखाएको छ ।

सिएमसी नेपालले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत ३८ जिल्लाका १५६ पालिकामा वैदेशिक रोजगारीका कारण सिर्जित मानसिक समस्या सम्बोधनका लागि मनोपरामर्श सेवा सञ्चालनका लागि प्राविधिक सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया