नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
कात्तिक २५, २०८१ आइतबार
सबै त म भन्दिन तर अधिकांश नेपालीको वैदेशिक रोजगारी रहर हैन बाध्यता हो ।
आफ्नै देशमा केही गरौँ, राम्रो बनौँ भन्ने सपना नदेख्ने को पो होला र । तर यी सपना फक्रिन नपाउँदै मुना नै निमोठिदिने थुप्रै कुराहरू छन् । यस्तै कारणहरूले म पनि नौ वर्ष अघि खाडीको देश कतार लागेको थिए ।
पहिले पटक विदेश आउँदा मनमा अनेकौँ सपना बुनेर आएको थिएँ । तर त्यो सपना आज एक दशक हुँदा पनि यतिकै छ । यो चर्को घाम अनि दिनमा १३ देखि १४ घण्टा काम । न समयमा खानेको ठेगान नत सुत्नेको ।
बिहान उठेपछि काममा लाग्नु पर्छ । बेलुका आउँदा ज्यान गलेर हैरान भएको हुन्छ ।
देख्नेहरूलाई त विदेश गएको छ कमाएको छ भन्नेजस्तो हुन्छ । तर यहाँको व्यथा भोग्नेलाई मात्र थाहा छ । हाम्रो कथा त खै कसले पो बुझ्छ र ।
यहाँ दिन रात खटिएर काम गर्यो । ऋण तिर्यो । हामीले यहाँ कमाएको पैसाबाट सरकारले रेमिट्यान्स पाउँछ । हामीले त बगाउने पसिना मात्रै हो ।
परदेश आए पनि ज्यान मात्र यहाँ हो । मन त देश मै छ । यहाँ जति कमाए पनि जोगाएर पठाएको देश मै हो । तर यति महँगी बढ्यो कि अब त सम्झँदा पनि डर लाग्न थालेको छ । हुने खानेलाई त सजिलै छ तर हामीजस्तालाई भने छाक टार्न समेत धौ धौ भएको अवस्था छ ।
यस्तो बेलामा देश फर्किएर केही गर्छु भनेर कसरी सपना साँच्नु । विदेशमा भएको एउटा जागिर पनि छोडेर जाउला देश तर झन् बेरोजगार हुनु पर्ने परिस्थिति छ । सानोतिनो केही व्यवसाय गरौँ भने पनि बजार पाइँदैन ।
व्यवसाय सुरु गर्नलाई कतैबाट सहयोग छैन । जसले आफ्नै बुलबुतोले सुरु गरे तिनीहरू पनि दिक्क भएर फेरि परदेशकै बाटो तताएको देख्छु ।
जब जब चुनाव आउँछ तब तब नेताहरू गाउँ छिरेर भन्ने गर्छन् हामी देश बनाउँछौँ, विदेश गएकाहरूलाई नेपाल फर्काउँछौँ भन्नुहुन्छ । तर चुनाव सकिएसँगै यता बाचाहरू पनि सकिने रहेछन् ।
यस्तै प्रवृत्ति देख्दा अब त देश फर्किने दिन आयो भन्दै फर्किने दिन त हाम्रै जुनीमा आउँछ जस्तो लाग्न छाडेको छ । देश गएर के गर्ने ? जीवन कसरी निर्वाह गर्ने भन्ने पिरले खाडी छाड्ने आँट आउँदैन ।
त्यसैले पनि होला देशमा भएका हजारौँ युवाले देश छाडिरहेका छन् । तर देश छाड्नेहरूको भिडलाई सरकारले देखे नदेखेझैँ गरिरहेको छ । सायद रेमिट्यान्सको लोभले होला । तर दुःखको कुरा यतिका रेमिट्यान्स पठाउने परदेशीका लागि सरकारले कुनै सहुलियत दिँदैन ।
सरकार रेमिट्यान्स गनिरहोस् । म परदेशी पठाइरहन्छु । तर खाडीमा एक दशक पसिना बनाएको म परदेशी अब रेमिट्यान्स हैन आफै देश फर्कन चाहन्छु ।