साउदीमा समस्यामा पर्ने नेपालीको सङ्ख्या बढ्दो, अगष्टमा मात्रै २१५ जनाले लगाए स्वदेश फर्कने ‘एक्जिट भिसा’

 भदौ १२, २०८० मंगलबार १५:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  साउदीमा रोजगारीका लागि गएका नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ ।

अगष्ट महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत दुई सय १५ जनाले एक्जिट भिसा लगाएका छन् । 

दूतावासका अनुसार अगष्ट ३ मा ७९ जनाले, अगष्ट १० मा ४१ जनाले, अष्गट २२ मा ५८ जनाले र अगष्ट २९ मा ३७ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । 

साउदीमा समस्यामा परेका इकामा (साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रियामा सहजीकरण गरिरहेको छ ।

यस्तो भिसा पाएपछि जतिसक्दो छिटो साउदी छाड्न पर्छ । एक्जिट भिसाको म्यासेज मोबाइलमा आएको छ भने स्वदेश फर्कने बेला साउदीको विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुन्छ । यदि आएको छैन भने एक्जिट भिसाको कागज दूतावासमार्फत लिन सकिन्छ ।

समस्यामा परेकाहरूको स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रिया निःशुल्क गरिदिने गरेको छ । एक्जिट भिसा लगाउन कही कतै शुल्क तिर्न नपर्ने दूतावासले जनाएको छ । तर एक्जिट भिसा लगाइसकेपछि स्वदेश फर्कने जहाजको टिकट भने आफैले काट्न पर्छ ।

दूतावासले यस्तो टिकटको व्यवस्था गर्दैन । एक्जिट भिसाको थप प्रक्रिया बारेमा जान्न परेमा रियादमा रहेको नेपाली दूतावासमा ०११४६१११०८ मा स्थानीय समय अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म, ०११२८८३७९५ मा दिउँसो तीन बजेदेखि बेलुकी ५ बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०१ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया