४ महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

 मंसिर २८, २०८० बिहिबार १३:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षकाे चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएकाे छ ।

नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा साउन, भदाै, असाेज र कात्तिकमा रेमिट्यान्स आप्रवाह २४ दशमलव छ प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ कराेड रुपैयाँ पुगेकाे छ । गएकाे आर्थिक वर्षकाे पहिलाे चार महिनामा रेमिट्यान्स २० दशमलव चार प्रतिशतले बढेकाे थियाे ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ६० कराेड पुगेकाे छ ।अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो ।

चार महिनामा वैदेशिक राेजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीकाे सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेकाे सङ्ख्या ६८ हजार आठ सय ४१ जना रहेकाे छ । अघिल्लो वर्षको यही अवधिमा अन्तिम स्वीकृति लिनेकाे सङ्ख्या एक लाख ९६ हजार सात सय ३५ र पुनः श्रम स्वीकृति लिनेकाे सङ्खया ८७ हजार चार सय २८ जना रहेको थियो ।

चार महिनामा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले बढेर पाँच खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।

तपाईको प्रतिक्रिया