'वैदेशिक रोजगारीमा रहेकाहरुलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्'

 पुस २, २०८० सोमबार ११:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सम्बन्धित क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

सोमवार आज ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अँध्यारो पाटो विषयक सडक बहसमा बोल्दै उनीहरुले वैदेशिक रोजगारीमा गएकाहरुलाई मताधिकार दिनुपर्ने बताएका हुन् । 

 उनीहरुले कार्यरत ठाउँबाट मतदान गर्ने अधिकार दिए मात्रै राजनीतिक दलहरुले श्रमिकका मुद्दामा बोल्न शुरु गर्ने बताएका छन् । कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न देशमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सम्बाेधन गर्ने बताउनु भयाे । 

'वैदेशिक रोजगारीको रुपमा विभिन्न देशमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ । कार्यरत ठाउँबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक दलहरुले उनीहरुका मुद्दामा बोल्न थाल्छन् । जब मत खाडी मुुलुकबाट आउन थाल्छ, त्यसपछि उनीहरुका मुद्दाले ठाउँ पाउँछन् ।'

साथै, उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन । त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो निति निर्माण गर्नुपर्छ ।'

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै सङ्ख्यामा गएर धेरै रेमिट्यान्स आउने बताउनु भयो । उहाँले वदेशमा गएका श्रमिकहरुबाट आएको रेमिट्यान्स रोजगारमूलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनु भयो ।

रोजगार व्यवसायी भण्डारीले बाक्लो सङ्ख्यामा कामदार पठाएका देशमा श्रम सम्झौता गरी दूतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमिकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया