६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाखभन्दा धेरै

 माघ ४, २०८० बिहिबार ९:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख नाघेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको छ । पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै यूएई जानेहरु छन् ।

यूएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् । त्यसपछि साउदी अरेबिया र कतारमा १४ हजार, मलेसिया ८ हजार, कुवेतमा ३ हजार, कोरियामा १ हजार जना गएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौमा भन्दा मंसिर, पुसमा बढेको तथ्याङ्क छ। 

तपाईको प्रतिक्रिया