कतारसँगको श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने

 माघ २९, २०८० सोमबार ७:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ ।

यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो ।

नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।

यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरेर नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ । साउदीले सिपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न अहिले भैरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यस्तै, श्रममन्त्री भण्डारीले दक्ष जनशक्ति उत्पादनका लागि लगानी गर्न खाडीसहितका गन्तव्य देशलाई आग्रह गर्नुभएको छ । आबुधाबी डाइलगलाई सम्बोधन गर्दै उहाँले श्रमिक तथा उनीहरुको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु गन्तव्य र श्रोत राष्ट्रको समान दायित्व रहेको बताउनुुभयो । उनले श्रमिकहरुको न्यूनतम ज्यालाको प्रत्याभुति दिनेतर्फ आबुधाबी डाइलगले प्रतिवद्धता जनाउनुपर्ने पनि बताउनुुभएको छ ।

यूएईमा अस्तिदेखि शुरु भएको अबुधाबीमा डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।
 

तपाईको प्रतिक्रिया