नेभिगेशन

कलङ्की–बसुन्धरा सडकमा सास्ती (फोटो फिचर)

काठमाण्डौ – चक्रपथअन्तर्गत कलङ्की–बसुन्धरासम्मको सडक विस्तार शुरू गर्ने भनिएको लामो समय भइसक्दा पनि सडक विस्तारको काम शुरू हुन सकेको छैन । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम भए पनि सडक विस्तारको काममा भने ढिलाइ भएको छ । 

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबीच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरू भएको छ । आठ दशमलव दुई किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै शुरू हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयम् र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको छैन।

२०६९ सालमा कोटेश्वर–कलङ्की पहिलो खण्डको काम शुरू भइ २०७५ सालमै सकिएको थियो । पहिलो विस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार शुरू हुनुपर्ने थियो । तर विभिन्न कारण ढिलाे भइरहेकाे छ । 

चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि  बढ्न सकेन । 

पूर्वतयारीस्वरूप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आमनागरिकले भने दुःख र सास्ती बेहोर्नुपरेको छ । सडक विस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि उस्तै देखिन्छ।

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसाय मात्रै घाटा भएको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ । यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक विस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए ।

प्रकाशित मिति:
थप विशेष