पछिल्ला केही दिनदेखिको लगातारको वर्षाको गतिविधि आज (आइतबार)देखि नै क्रमशः कमजोर हुँदैछ । आज रातिको समयमा केही ठाउँमा वर्षा भए पनि भोलि (सोमबार)देखि भने मौसममा उल्लेख्य सुधार हुँदै जाने देखिन्छ । विशेष गरी तराईमा वर्षाका गतिविधि निकै कम हुनेछन् भने पहाडका थोरै ठाउँमा मात्रै हल्का वर्षा हुन सक्छ । धेरैजसो ठाउँमा घाम लाग्ने र वर्षाका कारण प्रभावित जनजीवन क्रमशः सामान्य बन्दै जाने देखिन्छ ।
औसत मौसमी तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनको अवधि अब झण्डै एक हप्ता अर्थात् ६ दिन जतिमात्र बाँकी छ । यद्यपि, हरेक वर्ष मनसुन नेपालबाट बाहिरिने मितिमा केही दिनको तलमाथि हुने गर्छ । त्यसैले औसत मितिका आधारमा मनसुन सकिने समय अनुमान गरिए पनि वास्तविक रूपमा मनसुन बाहिरिने प्रक्रिया मौसमको अवस्थाअनुसार केही अगाडि वा पछाडि हुन सक्छ ।
हाल सक्रिय मौसमी प्रणालीसमेत कमजोर हुँदै गएकाले मनसुनको प्रभाव पनि क्रमशः घट्दै जाने सम्भावना छ । अझ महत्त्वपूर्ण कुरा के हो भने मनसुन कमजोर हुँदै गएपछि फेरि अर्को ठूलो मौसमी प्रणाली तत्काल विकास हुने सम्भावना कम देखिएको छ । साप्ताहिक मौसम पूर्वानुमानलाई हेर्दा आउँदो हप्ताको मध्य र अन्त्यतिर समेत देशमा उल्लेख्य वर्षा गराउने खालको ठूलो मौसमी प्रणाली विकास हुने संकेत देखिँदैन । त्यसैले अहिलेको वर्षा गतिविधि कमजोर भएपछि तत्कालै अर्को ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना हालको विश्लेषणले देखाउँदैन । यद्यपि, मौसम पूर्वानुमान पूर्ण रूपमा स्थिर विषय नभएकाले नयाँ प्रणाली विकास भएमा पूर्वानुमान पनि त्यही अनुसार अद्यावधिक हुने भएकाले आधिकारिक सूचना नियमित हेर्नुपर्ने हुन्छ ।
मनसुनको अन्त्यतिर पुग्दा मौसममा देखिने परिवर्तनलाई जलवायु परिवर्तनको सन्दर्भमा पनि हेर्नुपर्ने अवस्था छ । पछिल्ला वर्षहरूमा मनसुन शुरु हुने र बाहिरिने समयमा केही असामान्य मौसमी गतिविधि देखिन थालेका छन् । मौसमी प्रणालीमा हुने उतारचढावसँगै जलवायु परिवर्तनले पनि वर्षाको ढाँचा, वर्षाको तीव्रता र समयावधिमा प्रभाव पारिरहेको छ । मनसुनको उत्तरार्द्धमा बङ्गालको खाडीमा न्यून चापीय प्रणाली वा चक्रवात विकास हुनु भने अस्वाभाविक घटना होइन । तर पछिल्ला वर्षहरूमा मनसुनी गतिविधिमा देखिएका केही फरक प्रवृत्ति र असामान्य परिवर्तनलाई अझ विस्तृत अध्ययन र अनुसन्धान आवश्यक छ ।
मनसुन सकिएपछि नेपालमा पोस्ट–मनसुन अर्थात् मनसुनपछिको मौसम शुरु हुन्छ । यस अवधिमा पश्चिमी वायुको प्रभाव क्रमशः बढ्न थाल्छ । त्यसैले मनसुन बाहिरियो भन्दैमा नेपालमा वर्षा वा हिमपातको सम्भावना पूर्ण रूपमा अन्त्य हुन्छ भन्ने हुँदैन । पश्चिमी वायु सक्रिय हुँदा विशेष गरी पश्चिमी तथा हिमाली भूभागका केही ठाउँमा वर्षा र हिमपात हुन सक्छ । मौसम प्रणालीको प्रकृतिअनुसार अरू ठाउँमा समेत वर्षाको प्रभाव देखिन सक्ने भएकाले मनसुन सकिएपछि पनि मौसमको नियमित निगरानी आवश्यक हुन्छ ।
मनसुन कमजोर हुँदै गएको अवस्थामा यात्रा केही सहज हुने अपेक्षा गर्न सकिए पनि मौसम पूर्ण रूपमा जोखिममुक्त हुन्छ भन्ने बुझाइ राख्नु उपयुक्त हुँदैन ।
यसको प्रत्यक्ष सरोकार अब शुरु हुन लागेको चाडपर्व र यात्रासँग पनि जोडिन्छ । दशैँ, तिहारलगायतका ठूला चाडपर्वमा धेरै मानिस एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने गर्छन् । मनसुन कमजोर हुँदै गएको अवस्थामा यात्रा केही सहज हुने अपेक्षा गर्न सकिए पनि मौसम पूर्ण रूपमा जोखिममुक्त हुन्छ भन्ने बुझाइ राख्नु उपयुक्त हुँदैन । सडक यात्रा गर्नेहरूले आफू जाने क्षेत्रको मौसम अवस्था, सम्भावित वर्षा, हिमपात तथा सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्नुपर्ने हुन्छ ।
विशेष गरी लामो दूरीको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक तथा अद्यावधिक मौसम सूचना हेर्नु महत्त्वपूर्ण हुन्छ । समग्रमा अहिले नेपाल मनसुनको अन्तिम चरणमा पुगेको देखिन्छ । पछिल्लो मौसमी प्रणाली कमजोर बन्दै गएसँगै वर्षाका गतिविधि पनि घट्ने र आगामी केही दिनमा मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ । तत्काल ठूलो वर्षा गराउने अर्को उल्लेखनीय प्रणाली विकास हुने संकेत नरहे पनि मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले पूर्वानुमानलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्ने हुन्छ ।
मनसुनको अन्त्यसँगै मौसम सामान्य बन्दै गए पनि पोस्ट–मनसुनमा पश्चिमी वायुका कारण देखिन सक्ने वर्षा तथा हिमपातलाई बेवास्ता गर्न हुँदैन । त्यसैले अबको केही दिनमा मौसम खुलेर जनजीवन सहज बन्दै जाने अपेक्षा गर्न सकिए पनि दशैँ–तिहारको यात्रा तथा दैनिक गतिविधिका क्रममा आधिकारिक मौसम सूचना हेर्ने बानीलाई निरन्तरता दिनु आवश्यक देखिन्छ ।
(मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)