त्रिवि क्रिकेट रङ्गशालाको दर्शकदीर्घामा मन परेको टोलीको जर्सी र झण्डा बोकेका साना बालबालिकाको उत्साह लोभ लाग्दो छ । नेपाल प्रिमियर लिग (एनपीएल) ले अहिले मैदानका खेलाडीलाई मात्र होइन, क्रिकेट मैदानको दर्शक क्षेत्र (ग्यालरी)मा बसेर खेल हेरिरहेका कैयौँ बालबालिकाको मनमा समेत क्रिकेटप्रतिको उत्साहको नयाँ तरङ्ग सिर्जना गरेको छ ।
गाउँघरदेखि शहरका टोल–टोलका खाली ठाउँ, स्कुलका मैदान र क्रिकेट एकेडेमीहरूमा अहिले एउटै सपना बोकेर दौडिरहेका थुप्रै बाल–प्रतिभा पनि रङ्गशाला भेटिन्छन् । उनीहरूमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीजस्तै बनेर चिनिने चाहना छ । अनि एउटै सपना छ, पछि गएर राष्ट्रिय टोलीबाट खेल्ने र नेपाललाई विश्वकप जिताउने ।
एनपीएलको उल्लास अहिले देशभर छ । टिकटका लागि लाइन लाग्नेदेखि खेल शुरु हुनुअघि नै रङ्गशाला वरिपरि बालबालिकाको भिड लाग्ने दृश्य सामान्य भइसकेको छ । उनीहरूको यो बाक्लो उपस्थितिले नेपाली समाजमा नयाँ पुस्ताको सबैभन्दा ठूलो साझा रुचि क्रिकेट बनिसकेको सङ्केत दिन्छ । र, यही भीडमा भविष्यका स्टार खेलाडीहरू पनि हुर्किंदैछन् ।
धनगढीका १२ वर्षीय निशान जोशी काठमाण्डौको मैतीदेवीमा बसेर कक्षा ७ मा पढ्नुहुन्छ । बायाँ हाते मध्यम गतिका बलर निशानको उच्चतम बलिङ गति ६४ किलोमिटर प्रतिघण्टा पुगेको छ । धनगढीमा क्रिकेट एकेडेमी जाँदा आफ्नो उच्चतम गति ६४ किलोमिटर प्रतिघण्टा पुगेको र औसत गति ५५ रहेको उहाँले बताउनुभयो ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई आफ्ना आदर्श मान्ने निशानको बलिङ एक्सन पनि उस्तै छ । एनपीएल र आइपिएल दुवै हेर्ने निशानको सुदूरपश्चिम रोयल्सबाट खेल्ने सपना छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्ने र सोमपाल कामीलाई बलिङ गुरु मान्ने उनको चाहना छ । संघीय राजधानी काठमाण्डौ आएपछि अभ्यास केही घटे पनि उहाँको अठोट ओइलाएको छैन, भन्नुहुन्छ ‘नेपाल र सुदूरपश्चिमलाई रिप्रेजेन्ट गर्नु छ ।’
काठमाण्डौको कपुरधारामा बस्ने बझाङको बुङ्गल नगरपालिकाका १२ वर्षीय सुरजित प्रताप सिंहको कथा पनि उस्तै प्रेरणादायी छ । एनपीएल हेर्न स्कुल नै छोडेर पुग्ने सुरजित दैनिक जसो क्रिकसालमा साथीहरूसँग क्रिकेट खेल्नुहुन्छ । अफ स्पिन बलिङ गर्ने अलराउन्डर सुरजित ब्याटिङमा बढी रमाउनुहुन्छ ।
सुदूरपश्चिमका डाक्टर इशान पाण्डेजस्तै पढेर डाक्टर र खेलाडी दुवै बन्ने उहाँको लक्ष्य छ । नेपाली टोलीको प्रदर्शन नजिकबाट नियाल्दै आएका उहाँ फिनिसिङ र फिल्डिङमा सुधार गर्नुपर्ने सुझाव दिनुहुन्छ । आफ्ना आदर्श दीपेन्द्रसिंह ऐरीको फ्लेक्सिबिलिटी र कप्तानीबाट प्रभावित उहाँको आत्मविश्वास बुलन्द छ, ‘म राष्ट्रिय टोलीमा पुगेँ भने नेपाललाई विश्व टेस्ट च्याम्पियनसिप जिताउँछु !’
यता, नख्खु एकान्तकुनामा बस्ने १३ वर्षीय मधुर पोख्रेलको दिनचर्या कुनै व्यावसायिक खेलाडीको भन्दा कम छैन । मूल घर दैलेख भए पनि काठमाण्डौमै जन्मिएका मधुर बिहान ६ बजे स्कुल जानुहुन्छ । ४ बजे छुट्टी भएपछि सीधै एकेडेमी पुग्नुहुन्छ र राति ८ बजे घर फर्किएर पढ्न बस्नुहुन्छ । तीन/चार वर्षदेखि फास्ट बलिङ गर्दै आएका मधुरले एक वर्षअघि जन्मदिनमा आफ्नो बलिङ गति ८९ नाप्नुभएको थियो । क्रिकेटबिनाको जीवन कल्पना गर्न नसक्ने मधुरका आदर्श करण केसी हुन् र सपना छ, ‘विश्वकपमा राम्रो बलिङ गरेर नेपाललाई विश्वकप जिताउने ।’
बालबालिकाका यी सपनालाई आकार दिन अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । बौद्ध नयाँ बस्तीका कृष्ण बुढाथोकी आफ्ना १३ वर्षीय छोरालाई क्रिकेट सिकाइरहनुभएको छ । आफ्नो पालामा क्रिकेट महँगो र भविष्य नभएको क्षेत्र मानिए पनि अहिले एनपीएलले क्रिकेट खेलेरै सामान्य जीवन चल्न सक्ने वातावरण बनाइदिएको उहाँको बुझाइ छ । छोराको परीक्षाका कारण अहिले अभ्यास केही रोकिए पनि ९–१० कक्षा पास गरेपछि पूर्ण रूपमा क्रिकेटमा लगाउने उहाँको योजना छ । तर, एकेडेमीहरू अझै व्यवस्थित र पारदर्शी हुनुपर्ने उहाँको सुझाव छ ।
रङ्गशालामा खेल हेर्न पुग्ने यी किशोरहरूको उत्साह र सपनाले नेपाली क्रिकेटको भविष्य उज्यालो हुने बलियो सङ्केत गर्छ । पढाइ र खेलकुदबीचको सन्तुलन, गुणस्तरीय प्रशिक्षक र व्यवस्थित एकेडेमीको अभावजस्ता चुनौती रहे पनि नेपाली क्रिकेटको भविष्यप्रतिको यी बालबालिकाका सपना र सम्भावना त्योभन्दा कैयौँ गुणा ठूला छन् ।