काठमाण्डाै – एउटा खेल हार्दैमा उपाधि जित्ने सपना समाप्त हुन्छ ? नेपाल प्रिमियर लिग (एनपीएल) मा यस्तो हुँदैन । यहाँ एउटा हारले टोलीलाई प्रतियोगिताबाट बाहिर पुर्याउँदैन, उपाधि जित्ने अझै एउटा ढोका खुला नै छ । यही कारण हिजो क्वालिफायर–१ मा लुम्बिनी लाइन्ससँग पराजित सुदूरपश्चिम रोयल्सको उपाधि यात्रा अझै बाँकी छ ।
सुदूरपश्चिमलाई हराएकाे साविक विजेता लुम्बिनी सीधै फाइनलमा पुगेकाे छ । लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लगातार दाेस्राे पटक एनपीएलकाे फाइनलमा पुगेकाे हाे ।
तेस्रो संस्करणको एनपीएलले विजेता पाउन अब ३ खेलमात्र बाँकी छ । तर प्रतियोगिताको यो चरणमा पुग्दा सबै टोलीको बाटो एउटै छैन ।
एनपीएलको प्लेअफ प्रणाली बुझ्न सबैभन्दा पहिले याे कुरा जान्न आवश्यक छ – पहिलो क्वालिफायरमा पराजित हुँदैमा टोलीको फाइनल यात्रा समाप्त हुँदैन । एनपीएलमा लिग चरणको अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच क्वालिफायर–१ खेल हुन्छ । क्वालिफायर–१ को विजेता टोली सीधै फाइनल पुग्छ भने पराजित टोलीले अर्को मौका पाउँछ ।
यस्तै अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल हुन्छ । यो नकआउट चरणजस्तै हो । यहाँ हार्ने टोलीको यात्रा समाप्त हुन्छ भने जित्ने टोली क्वालिफायर–२ मा प्रवेश गर्छ । क्वालिफायर–२ मा पहिलो क्वालिफायर–१ मा पराजित भएको टोली र एलिमिनेटर जितेको टोलीबीच प्रतिस्पर्धा हुन्छ ।
अन्ततः क्वालिफायर–१ को विजेता र क्वालिफायर–२ को विजेताबीच उपाधिका लागि फाइनल खेल हुन्छ । यही खेलले एनपीएलको विजेता निर्धारण गर्छ ।
एलिमिनेटरमा आज काठमाण्डौ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका ५ बजे कीर्तिपुरकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणको नतिजा हेर्दा लिग चरणमा शीर्ष स्थानमा रहनु मात्रै उपाधि जित्ने आधार बनेको देखिँदैन । रोचक त के छ भने दुवै संस्करणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स उपविजेतामै सीमित हुँदा चौथो स्थानमा रहेका टोलीले दुवै संस्करणको उपाधि जितेका थिए ।
पहिलो संस्करणमा चौथो स्थानमा रहेर प्लेअफमा पुगेको जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । दोस्रो संस्करणमा पनि यस्तै नतिजा दोहोरियो । चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
तेस्रो संस्करणको अहिलेसम्मको खेलमा खेलाडीहरूको व्यक्तिगत प्रदर्शनले पनि ध्यान खिचेको छ । ब्याटिङतर्फ सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पोखरा एभेन्जर्समा आबद्ध क्यानडाका युवराज साम्रा शीर्षस्थानमा छन् ।
साम्राले ४ खेलमा १ शतक र २ अर्धशतकसहित २९४ रन बनाएका छन् । उनले २९ चौका र १६ छक्का प्रहार गरेका छन् ।
सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा रहेका विराटनगर किङ्ग्सका लोकेश बमले ७ खेलमा २ अर्धशतकसहित २४२ रन बनाएका छन् ।
याे सूचीमा पोखरा एभेन्जर्सकै कुशल भुर्तेल ७ खेलमा २ अर्धशतकसहित २३५ रन बनाउँदै तेस्रो स्थानमा छन् ।
त्यस्तै सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी ८ खेलमा ३ अर्धशतकसहित २०२ रन बनाउँदै चौथो स्थानमा छन् । काठमाण्डाै गाेर्खाजका राशिद खान ७ खेलमा २ अर्धशतकसहित १८६ रन बनाउँदै पाँचौँ स्थानमा छन् ।
बलिङतर्फ भने सर्वाधिक विकेट लिने खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ । शीर्ष ४ मा रहेका खेलाडीले समान १२ विकेट लिएका छन् ।
चितवन राइनोजका कमलसिंह ऐरी ५ खेलमा १०३ रन खर्चेर १२ विकेट लिँदै सूचीको शीर्षस्थानमा छन् । चितवनकै रिजन ढकालले ६ खेलमा १२६ रन खर्चेर १२ विकेटसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै जनकपुर बोल्ट्सका राहुल यादव ७ खेलमा १५८ रन खर्चेर १२ विकेट लिँदै तेस्रो स्थानमा छन् । काठमाण्डाैमा आबद्ध पाकिस्तानका जहानदाद खान ७ खेलमा १९८ रन खर्चर १२ विकेट लिँदै चौथो स्थानमा छन् ।
सर्वाधिक विकेट लिने सूचीको पाँचौँ स्थानमा लुम्बिनी लायन्सका शेर मल्ल छन् । उनले ७ खेलमा १४७ रन खर्चेर ११ विकेट लिएका छन् ।
एनपीएलको तेस्रो संस्करणमा स्थापित खेलाडीहरूको प्रदर्शनसँगै नयाँ खेलाडीको उदयले पनि क्रिकेटप्रेमीको ध्यान खिचेका छन् ।
टोलीको जीत वा हारलाई मात्रै आधार नबनाई समग्र खेल प्रदर्शन हेर्दा केही युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै चर्चा पाउने खेलाडीमध्ये एक हुन् जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादव ।
पहिलो पटक एनपीएलमा सहभागी भएका राहुलले काठमाण्डौ गोर्खाजसँगकाे खेलमा ३१ रन दिएर ४ विकेट लिनु उनको प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन रह्यो । जनकपुरको समग्र प्रदर्शन अपेक्षाअनुसार हुन नसके पनि राहुलको बलिङले नयाँ सम्भावना देखाएको छ ।
एनपीएलले नयाँ प्रतिभा चिनाउने र क्रिकेटको भविष्यप्रति आशा जगाउने मञ्चका रूपमा आफ्नो प्रभाव छाडेको छ ।