नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

एनपीएल : नेपाली बलर चले, ब्याटर चलेनन्

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा ब्याटिङतर्फ विदेशी खेलाडीको प्रभाव देखिँदा बलिङमा नेपाली खेलाडीले आफ्नो वर्चस्व कायम राखेका छन् । सर्वाधिक रन बनाउने सूचीमा विदेशी खेलाडी अगाडि रहे पनि सर्वाधिक विकेट लिने नेपाली खेलाडी पर्नुले घरेलु क्रिकेटको बलियो पक्ष उजागर गरेको छ । ब्याटिङमा नेपाली खेलाडीको पुरानै कमजोरी दोहोरिँदा बलिङमा भने सुधार देखियो ।

प्रतियोगिताको समग्र प्रदर्शनमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा प्रभावशाली खेलाडी बने । उनले तीन अर्धशतकसहित २१७ रन बनाउनुका साथै ६ विकेट लिए । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । अघिल्ला दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिमलाई यस पटक च्याम्पियन बनाउन उनले निर्णायक नेतृत्व गर्‍यो ।

ब्याटिङतर्फ भने पोखरा एभेन्जर्सका क्यानडेली खेलाडी युवराज साम्रा सर्वाधिक रन बनाउने खेलाडी बने । उनले चार खेलमा एक शतक र दुई अर्धशतकसहित २९४ रन बनाए । सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा विराटनगर किङ्ग्सका लोकेश बम रहे । उनले सात खेलमा दुई अर्धशतकसहित २४२ रन बनाए । नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाउने लोकेशको प्रदर्शनले घरेलु खेलाडीले पनि विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्ने देखायो ।

चितवन राइनोजबाट खेलेका इंग्ल्याण्डका रबि बोपाराले सात खेलमा दुई अर्धशतकसहित २३८ रन बनाएर तेस्रो स्थानमा रहे । पोखराका कुशल भुर्तेल २३५ रनसहित चौथो तथा चितवनकै डेभिड मलान २२० रनसहित पाँचौँ स्थानमा रहे । लोकेश र कुशलको प्रदर्शन नेपाली ब्याटिङका लागि सकारात्मक रह्यो ।

प्रतियोगिताको सबैभन्दा उल्लेखनीय पक्ष बलिङमा नेपाली खेलाडीको प्रभाव रह्यो । चितवन राइनोजका रिजन ढकालले सर्वाधिक १७ विकेट लिँदै प्रतियोगिताका उत्कृष्ट बलर बने । उनले आठ खेलमा १६२ बल बलिङ गर्दै १६८ रन खर्चिए ।

ढकालको सफलता विकेट सङ्ख्यामा मात्र सीमित रहेन । उनी प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीसमेत घोषित भए । उनले झन्डै ६५ लाख रुपैयाँ मूल्यको कार प्राप्त गरे । ढकालले उत्कृष्ट बलरको अवार्डसँगै गोल्डेन क्याप, मोटरसाइकल र दुई लाख रुपैयाँ नगद पुरस्कार जिते ।

सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्समा आबद्ध न्युजिल्यान्डका स्कट कुगेलेइन रहे । उनले १० खेलमा १५ विकेट लिए । सर्वाधिक विकेटको शीर्ष चारमा दोस्रो स्थानमा विदेशी खेलाडी रहँदा बाँकीमा नेपाली बलरहरू देखिए । चितवनकै कमलसिंह ऐरीले आठ खेलमा १३ विकेट लिएर तेस्रो स्थान हासिल गरे । जनकपुर बोल्ट्सका राहुल यादव १२ विकेटसहित चौथो स्थानमा रहे । 

राहुलको प्रदर्शन प्रतियोगिताको अर्को महत्त्वपूर्ण उपलब्धि बन्यो । ९ कक्षमा अध्ययनरत १६ वर्षीय राहुलले प्रतिभा छनोट शिविरमार्फत जनकपुरको टोलीमा स्थान बनाएका थिए ।  प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भएका उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे । स्थापित खेलाडीको प्रतिस्पर्धाबीच नयाँ प्रतिभाले आफ्नो स्थान बनाउन सक्नु एनपीएलको सकारात्मक पक्ष रह्यो ।

ब्याटिङ र बलिङका व्यक्तिगत उपलब्धिसँगै यस संस्करणमा दर्शकले तीन शतक हेर्ने अवसर पाए । पोखराका युवराज साम्रा र चितवनमा आबद्ध श्रीलङ्काका कामिल मिसारापछि फाइनलमा सुदूरपश्चिमका जर्ज मुन्सीले शतक बनाए । स्कटल्यान्डका मुन्सीले ५४ बलमा १२४ रनको शानदार पारी खेले ।

एनपीएलको तेस्रो संस्करणमा नयाँ पुस्ताका खेलाडीले पनि ठूलो मञ्चमा आफूलाई चिनाउने अवसर पाए । विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको स्तर बढाएको छ भने विश्वभर चर्चा पनि बटुलेको छ । 

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको सम्भावना र चुनौती दुवैलाई उजागर गरेको छ । बलिङमा नेपाली खेलाडीले आफूलाई अब्बल साबित गरे । तर ब्याटिङमा भने विदेशी खेलाडीमाथिको निर्भरता अझै देखियो । समग्र नेपाली ब्याटिङमा निरन्तरता र स्थिरताको आवश्यकता छ । नयाँ खेलाडीको उदय, स्थापित खेलाडीको प्रदर्शन र विदेशी खेलाडीको अनुभवले एनपीएलको आउँदो संस्करण अझ भव्य हुने सङ्केत गरेको छ ।

प्रकाशित मिति:
थप विशेष