नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

दर्शकको उत्साहपूर्ण साथसहित एनपीएलको तेस्रो संस्करण सम्पन्न

काठमाण्डौ – छक्का र चौकाको वर्षा, उपाधिका लागि प्रतिस्पर्धा र दर्शक तथा खेलप्रेमीको उत्साहपूर्ण साथकाबीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण हिजो सकिएको छ ।

यो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । उसले फाइनलमा साविकको विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा लुम्बिनीलाई हराउँदै च्याम्पियन बनेको सुदूरपश्चिमले पहिलोपटक उपाधि उचाल्यो ।

यसअघिका दुई संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो । पहिलो र दोस्रो संस्करणको एनपीएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास बनाएको छ ।

सुदूरले उपाधि जितसँगै गएको कात्तिक ९ गतेदेखि शुरु भएको तेस्रो संस्करण सकिएको हो । लुम्बिनीले प्रतियोगिताको शुरुआतदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । तर लगातार दोस्रो पटक उपाधि जित्ने लुम्बिनीको प्रयास सफल हुन सकेन ।

सुदूरपश्चिमको जितका जर्ज मन्सीले अविजित १२५ रनको पारी खेले । मन्सीलाई साथ दिएका विनोद भण्डारीले पनि अविजित ३० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

प्रतियोगितामा आठ टोली सहभागी थिए । एनपीएलको तेस्रो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएस अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बने ।

यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो ।

प्रकाशित मिति:
थप खेलकुद