नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

एनपीएल फाइनलको टिकट नपाएपछि मैदानबाहिर भीड

काठमाण्डौ – किर्तिपुरमा रहेको त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि प्रतिस्पर्धा भइरहँदा बाहिर दर्शकहरुको भीड लागेको छ ।

खेल हेर्न ठूलो संख्यामा दर्शकहरु पुगेपनि टिकट नपाएको कारण रङ्गशाला बाहिर भीड लागेको हो । फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै दर्शकहरूले विरोध गरेका छन् ।

हिजो दिउँसो दिउँसो १ बजे टिकट बिक्री शुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि आक्रोशित दर्शकहरुले आज पनि त्रिवि क्रिकेट मैदानको गेटमा प्रदर्शन गरेका छन् ।

उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए । एनपीएलको उपाधिका लागि अहिले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेलिरहेका छन्  ।

सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनी व्याटिङ गरिरहेको छ । यसअघि दोस्रो संस्करणमा पनि यिनै दुई टोलीले फाइनल खेलेकामा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो ।

लुम्बिनीलाई लगातार दोस्रोपटक एनपीएलको उपाधि जित्ने मौका छ । त्यस्तै लगातार तेस्रो पटक फाइनल खेल्न लागेको सुदूरपश्चिमका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ ।

एनपीएलमा लगातार तेस्रोपटक फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो । सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित भएको थियो ।

तेस्रो संस्करणको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धा पनि रोचक बनेको छ । सर्वोत्कृष्ट नेपाली खेलाडीले कार तथा उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

गएको कात्तिक ९ गतेदेखि शुरु भएको एनपीएलको तेस्रो संस्करण आज सकिंदैछ । यो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएसको प्रयोग अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बनेका छन् ।

यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो । 
 

प्रकाशित मिति:
थप खेलकुद