नेभिगेशन
आइतबार, असोज ११, २०८३
गाँठका कुरा – भाग ६

पैसा कसरी जोगाउने ?

बुढापाकाहरू बारम्बार भन्थे, ‘आम्दानी आठ आना, खर्च रुपैयाँ ।’ आम्दानीभन्दा धेरै खर्च गर्ने प्रवृत्ति दर्साउन बनेको उखान हो भन्ने त हामी सबैलाई थाहै छ । 

गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ, जोगाउन त्यत्तिकै बुद्धि र अक्कल चाहिन्छ । कमाएको गाँठ जोगाउने बुद्धि बढाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन् । वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम । आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट । 

बजेट बनाउन ठूलो सीप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन । महिनामा कति पैसा आउँछ र कहाँ–कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै बजेट बनाउनु हो । 

तपाईँको मासिक आम्दानी ५० हजार रुपैयाँ छ भने कापीमा लेख्नुहोस् :

आम्दानी : ५० हजार ।

त्यो पचास हजार कहाँ कहाँ खर्च नगरी हुँदैन र कहाँ कहाँ कम गर्न सकिन्छ भनेर खर्चका शीर्षकहरू लेख्नुस् । 

उदाहरणका लागि घर भाडा : १२ हजार ।

चामल, दाल, तेल, तरकारी, दूध, चिनी र चियापत्ती : १० हजार ।

बालबालिकाको स्कुल वा कलेज फी, कापी, कलम र मसी : ८ हजार ।

घरका बिरामी र वृद्धवृद्धाको औषधि खर्च : ५ हजार ।

बाइकको पेट्रोल वा यातायात खर्च ३ हजार  ।

मोबाइलको खर्च : ३ हजार ।

भैपरि आउने र विविध खर्च : ४ हजार ।

महिनाको आम्दानी ५० हजारमा महिनाभरिको खर्च ४५ हजारमा सीमित गर्दा बचत हुने भयो ५ हजार । तपाईँले लेखे बमोजिम आफूलाई बाँध्न सके मात्र बचत हुन्छ, नत्र पैसा हो, चरो जस्तै हातबाट कुन बेला फुरु....र्र उड्छ, आफैँलाई थाहा हुँदैन । 

महत्त्वपूर्ण कुरा—महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको शुरुमै बचतको योजना बनाउनुपर्छ । ५० हजार कमाइन्छ भने कम्तीमा ५ हजार बचत गर्ने लक्ष्य राख्न सकिन्छ । पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्ने ।

गाँठ जोगाउने महत्त्वपूर्ण सूत्र हो—बचेपछि बचत होइन, पहिले नै बचत ।

बचत ठूलो रकमबाट मात्रै शुरु गर्नुपर्छ भन्ने छैन । सानो रकम नियमित बचत गर्नु महत्त्वपूर्ण कुरा हो । महिनामा ५ हजार रुपैयाँ बचत गर्नुभयो भने वर्षमा ६० हजार रुपैयाँ हुन्छ । आम्दानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ । 

बचतलाई खर्च हुने खातामै राखिरहनुभन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ । तपाईँमध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनुभएकै पनि छ । 

गाँठ जोगाउने अर्को उपाय हो, चाहना र आवश्यकता छुट्याउने । पैसा जोगाउने सबैभन्दा व्यावहारिक उपाय यही हो ।

किनमेल गर्नुअघि आफैँलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो ? मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो ? कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो ? बाहिर खाना खानैपर्ने थियो कि घरमा खाना हुँदाहुँदै रहर लागेको हो ? 

कुनै सामान किन्नुअघि एउटा प्रश्न सोधौँ—यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो ? चाहिएको हो भने किनौँ । मन लागेको मात्र हो भने केही समय पर्खौँ । त्यसपछि त्यो चाहना आफैँ हराउँछ । तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन । अनावश्यक ठाउँमा खर्च नगर्नु हो । 

भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपत्कालीन कोष बनाउनु पनि उपयोगी हुन्छ । बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपत्कालीन कोष बनाउन सकिन्छ । यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ । एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने । बिस्तारै त्यसलाई बढाउँदै लैजान सकिन्छ ।

अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो । बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ । 

अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने ? यही प्रश्नको जवाफ खोज्दै गाँठका कुराको अर्को शृङ्खलामा—पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौँ । तपाईँ पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुस् है ।

प्रकाशित मिति:
थप विशेष