तपाईँको खल्तीमा भएको एक हजारको नोट निकाल्नुस् त ।
अब सोच्नुहोस्, यो कागजको मूल्य एक हजार रुपैयाँ कसरी भयो ? कागज त कागज नै हो । तर तपाईँ पसलमा जानुहुन्छ, एक हजारको नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन् ।
किन ? किनभने दुवैलाई विश्वास छ - यो नोट अरूले पनि स्वीकार गर्छन् । त्यसैले भनिन्छ - पैसा विश्वास हो ।
तर यहाँ फेरि अर्को प्रश्न आउँछ - यो विश्वासको जग के हो त ?
यसलाई बुझ्न तीन वटा तथ्य हेरौँ ।
पहिलो - राज्य र केन्द्रीय बैंक । नेपालमा नोट निष्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैङ्कसँग छ । नोट निष्कासनका लागि कानुनले निश्चित सुरक्षणको व्यवस्था गरेको छ । सुरक्षण बापत सुन, चाँदी, विदेशी मुद्रा तथा सरकारी ऋणपत्र लगायत सम्पत्ति जमानत राखिन्छ ।
अर्थात् सरकार र राष्ट्र बैकले मन लागे जति, जथाभावी नोट छाप्न पाउँदैनन् । जति नोट छाप्ने हो, त्यति बराबरको वास्तविक सम्पत्ति जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋणपत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ । कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानुन, केन्द्रीय बैङ्कप्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ ।
नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानुन । नोटमा गभर्नरको हस्ताक्षर हुन्छ । त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन । यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो । अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र हैन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ ।
यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्राभन्दा धेरै विश्वास गरेको होला ? यो स्वाभाविक प्रश्न हो, जसको उत्तर रमाइलो पनि छ ।
संसारकै ठूलो अर्थतन्त्र भएको देश हो संयुक्त राज्य अमेरिका । तर यही एउटा मात्र कारणले अमेरिकी डलर शक्तिशाली र सर्वस्वीकार्य भएको होइन । दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो । अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे । डलरको भूमिकाले कानूनी मान्यता पायो । डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो । अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो । हिजोआज संसारका व्यापारी, बैक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ ।
त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन । पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यसपछाडि रहेको अर्थतन्त्रको अवस्था विश्वासमा हुन्छ ।
अब कुरा गरौँ पैसाले के–के काम गर्छ ?
पहिलो - विनिमयको माध्यम ।
तपाईँसँग धान छ, जुत्ता चाहियो तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ । पैसाले यो समस्या हटाइदियो । धान बेच्नुस्, पैसा लिनुस्, त्यही पैसाले जुत्ता किन्नुस् ।
दोस्रो - मूल्य नाप्ने साधन । घर ५० लाख, मोटरसाइकल ३ लाख, चामल किलोको १०० रुपैयाँ । पैसाले फरक–फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ ।
तेस्रो - मूल्य सञ्चय गर्ने साधन । आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ ।
तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ - पैसा आफैँ सम्पत्ति होइन । बैंक खातामा १० लाख रुपैयाँ हुनु एउटा कुरा हो । त्यो पैसाले किन्न सकिने घर, जग्गा, खाना, शिक्षा, स्वास्थ्य, सेवा वा व्यवसाय अर्को कुरा हो ।
त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेर गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो ।
हिजो पैसा सिक्का थियो । पछि कागज भयो । बैंकमा पुग्दा खाताको अंक भयो । आज मोबाइलको स्क्रिनमा देखिने अंक भएको छ । रूप फेरियो, तर आधार उही रह्यो - विश्वास ।
गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने ? सीपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट ? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला ।
तर, आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुस् है । ्