नेभिगेशन

गाँठका कुरा : पैसालाई किन गाँठ भनिन्छ ?

कल्पना गर्नुहोस्, तपाईंको बैंक खातामा आज १० करोड रुपैयाँ आयो । के गर्नुहुन्छ ? खुशीले नाच्नुहुन्छ ? काममा जानुहुन्छ ? पक्कै जानुहुन्न !

अर्को कल्पना गर्नुहोस् । आज तपाईंको खल्तीमा एक रुपैयाँ पनि छैन ! अनि के गर्नुहुन्छ ?  घरबाट निस्कनुअघि दुई–तीनपटक पर्सका पत्र पत्र खोतल्नुहुन्छ ! खल्ती छाम्नुहुन्छ ।

पैसा हुँदा के हुन्छ र नहुँदा के हुन्छ ! थाहा पाउनु भयो नि पैसाको शक्ति ।

यही पैसालाई हामी नेपालीले एउटा रमाइलो नाम दिएका छौं, गाँठ । 

आजदेखि हामी उज्यालोमा नयाँ श्रृङ्खला शुरु गर्दैछौं, गाँठका कुरा ।

कुरा पैसाको हो । गाँठको हो । तर गाँठको कुरा केवल पैसाको कुरा होइन । यो हाम्रो पसिना, परिश्रम, बचत, खर्च, सपना, ठगी, महँगी र जीवनको कुरा हो ।

तर पहिलै गाँठकै कुरा ! पैसालाई आखिर गाँठ किन भनियो ?

हामी बेलाबेला भनिरहन्छौं–गाँठै भएन, के गर्नु ? फलानोले त टन्न गाँठ कमाएछ । गाँठी न गुठी जर्जरी उठी । गाँठीमा दाम छैन, बजारको डेरा । गाँठ रित्तियो । गाँठै खाली छ ।

गाँठ भनेको त डोरीको गाँठो पनि हो । कपडाको गाँठो हो । पोको पनि गाठैं हो । त्यसो भए पैसा कसरी गाँठ बन्यो त ?

आजभन्दा हजारौ वर्षअघि फर्कौं ।

त्यो बेला बैंक थिएन । चेक थिएन । टोकन थिएन । एटीएम थिएन । मोबाइल बैंकिङ कल्पनामै थिएन । स्क्यान गरेर लेनदेन गर्ने कुरा त गाँठ चलाउनेको दिमागको कुनै तन्तुमा सल्वलाएको पनि थिएन । तर, त्योबेला पनि गाँठ थियो । 

त्यसो भए उबेलाका मानिसले कमाएको पैसा कहाँ राख्थे त ? महिलाले धोतीको फेरोमा बाँध्थे । पुरुषले दौराको फेर वा कम्मरको पटुकामा गाँठो पार्थे । व्यापारीले कपडाको सानो पोको बनाएर सिक्का राख्थे । यात्रामा निस्कँदा सुरुवालको ईजारमा गाँठो पार्थे । त्यो बेला सबैको आआफ्नै बैंक थियो । त्यो बैक धोतीको फेर, कम्मरको पटुका, सुरुवालको ईजार जस्ता कसैले थाहा नपाउने गरि लुकाउने ठाउँ थियो ।

त्यही गाँठोमा पैसा सुरक्षित हुन्थ्यो । त्यसैले मानिसले भन्न थाले, 'गाँठ सम्हाल ।' अर्थात 'पैसा सम्हाल' ।

समय बित्दै गयो । पैसाको गाँठो खुकुलियो । बैंक आए । सिक्का र नोट आए । एटीएम आयो । वालेट आयो । मोबाइल बैंकिङ आयो । तर गाँठ शब्द मरेन । आज पनि हामी भन्छौं-गाँठ खाली भयो ।

गाँठ या पैसाका बारेमा धेरै उखान छन् । जहाँ धन, त्यहीँ मान । पैसा भए ऐसा हुन्छ ।

पैसा हातको मैलो हो ।

यी उखानमा अनुभव छ । तर कहिलेकाहीँ व्यङ्ग्य पनि लाग्छ । किनभने पैसा हातको मैलो हो भन्ने मान्छेले पनि तलब ढिलो भयो भने पैसा आयो आएन भनेर मोबाइल बैंकिङ खोल्छ ।

बजार जाँदा तरकारीवालालाई पैसा छैन, म असल मान्छे हुँ नि भनेर तरकारी पाइँदैन ।

पेट्रोल पम्पमा म इमानदार नागरिक हुँ भनेर इन्धन भर्न पाइँदैन ।

अस्पतालले बील दिन्छ । नमस्कार गरेर पैसा छैन भन्दा सित्तैमा उपचार गर्दैन ।  

विद्यालयले तपाईंको भावना राम्रो छ भनेर शुल्कमा छुट दिंदैन ।

पैसा केही होइन भन्न सजिलो छ, पैसा बिना जीवन चलाउन सजिलो छैन ।

तर दम दुबै कुरामा छ । पैसा विना जीवन चलाउन सजिलो छैन, तर गाँठ टन्न हुँदैमा बाँच्न सजिलो हुन्छ भन्ने पनि छैन । 

करोडौं कमाएर पनि निदाउने औषधि खाने मानिस हाम्रै वरपर छन् । पैसा नभए पनि मेहनतको पसिना बगाएर परिवारसँग हाँस्दै ढिँडो खाने र मस्त निदाउने मानिस पनि हाम्रै वरपर छन् ।

पैसाले घर किन्न सक्छ । सम्वन्ध, माया, स्नेह र खुसी किन्न सक्दैन ।

पैसाले गुणरत्नमाला किताव किन्न सकिन्छ । तर गुणरत्नमालाको विचार, ज्ञान र विवेक किन्न सक्दैन ।

हो, पैसा बिना काम चल्दैन, तर पैसाले मात्र सबै काम चल्दैन । त्यसैले, पैसा कति चाहिन्छ भन्ने कुरा मानिस अनुसार फरक फरक हुन्छ । 
एकछिन गम्नोस् त ! 

हामी बिहान किन उठ्छौं ?

काम किन गर्छौं ?

व्यापार किन गर्छौं ?

विदेश किन जान्छौं ?

सकी नसकी काम किन गर्छौं?

उत्तर एउटै छ-गाँठ अलि बलियो बनाउन । यो गलत होइन ।

गलत त्यतिबेला हुन्छ, जब गाँठ ठूलो बनाउँदा मन र मस्तिस्क साँघुरो र ईर्ष्यालु हुन्छ ।

जब पैसाले मान्छेलाई चलाउन थाल्छ ।

जब सम्बन्धभन्दा रकम ठूलो हुन्छ ।

जब इमानभन्दा आम्दानी ठूलो हुन्छ ।

त्यो बेला गाँठ भरिन्छ, तर जीवन रित्तिन थाल्छ ।

त्यसैले गाँठका कुरा पैसा गन्ने श्रृँखला मात्र होइन ।

यो पैसा बुझ्ने कार्यक्रम हो । यहाँ हामी पैसा कहाँबाट आयो भनेर मात्र होइन, पैसा किन आयो भन्ने पनि बुझ्नेछौं।

कसरी कमाउने ? कसरी जोगाउने ? कसरी बढाउने ? कसरी ठगीबाट बच्ने ? किन केही मानिस सधैं पैसाको अभावमा हुन्छन् ः किन केहीले थोरै कमाइमै सुखी जीवन बिताउँछन् ? महँगी किन बढ्छ ? बैंक, सहकारी, बीमा, शेयर, कर, लगानी-यी सबै कुरा सरल भाषामा बुझ्नेछौं ।

अन्त्यमा एउटा कुरा । जीवनमा गाँठ चाहिन्छ ।

तर गाँठभन्दा ठूलो कुरा इमान हो ।

गाँठभन्दा ठूलो कुरा सम्बन्ध हो ।

गाँठभन्दा ठूलो कुरा स्वास्थ्य हो ।

र गाँठभन्दा ठूलो कुरा ज्ञान हो ।

किनभने ज्ञानले गाँठ बनाउन सिकाउँछ, तर गाँठले मात्रै विवेक र ज्ञान किन्न सक्दैन ।

एउटा प्रश्न तपाईंका लागि, 'तपाईंको विचारमा गाँठ ठूलो हुनु महत्वपूर्ण हो, कि गाँठ चलाउने बुद्धि ठूलो हुनु महत्वपूर्ण हो ?'
आफ्नो उत्तर कमेन्टमा लेख्न नबिर्सनुहोस् । 

गाँठको कुराको अर्को भागमा हामी एउटा रोचक कुरा गर्छौं ।

कल्पना गर्नुस् एक दिनका लागि संसारबाट सबै पैसा गायब भयो भने के हुन्छ ?

अनि त्यसैबाट बुझ्नेछौं, पैसा आउनुअघि संसार कसरी चल्थ्यो ?

(गाँठको कुराको दोस्रो श्रृँखला आउँदो आइतबार लिएर आउनेछौं ।)

प्रकाशित मिति:
थप विशेष