राति सपना देख्नुहुन्छ नि ! सपनामा एकरात तपाईँ हजारौँ वर्षअघिको संसारमा पुग्नुभयो । हजारौँ वर्षअघिको संसारमा पुगेपछि खल्ती छाम्दा पैसा छैन । तर बैकको एटीएम छ । तपाईँलाई एटीएमबाट पैसा निकाल्न मन लाग्यो । तर पैसा निकाल्न खोज्यो, बैंक छैन । एटीएम मेसिन छैन, कार्ड छैन, क्यूआर छैन ।
पैसा नभए पनि हजारौँ वर्षअघि हाम्रा पुर्खा थिए । रोग थियो । निन्द्रा थियो । भोक थियो । संसार चलायमान थियो । घरमा नुन सकिन्थ्यो । अचार खान मन लाग्थ्यो । तर न नून किन्ने पैसा थियो, न मरमसला किन्ने रकम । कसरी चल्थ्यो त पैसा नहुँदा हजारौँ वर्षअघि अहिले पैसाले गर्ने काम ?!
पैसाको आविष्कार गर्नुअघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजोआज वस्तु विनिमय अर्थात् बार्टर सिस्टम भनिन्छ ।
वस्तु विनिमयबाट कसरी पैसाको जन्म भयो भन्ने थाहा पाउन अब हजारौँ वर्षअघिको वास्तविक संसारमा फर्कौँ ।
पैसा जन्मिनुअघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार बस्तु विनिमय अनुसार चल्थ्यो । समाज र समुदाय छरिएको थियो । कतै जाडो धेरै, कतै गर्मी । कतै धान फल्थ्यो, कतै जौ र कोदो । मौसम अनुसार, पशुपालन पनि विविध थियो । किसानले अन्न फलाउँथे । गोठालाले दूध र घिउ उत्पादन गर्थे । कसैले माछा मार्थे । कसैले कपास रोप्थे, कसैले धागो कात्थे । कसैले कपडा बुन्थे । कसैले औजार बनाउँथे ।
आफूलाई चाहिएको सबै कुरा आफैँ उत्पादन गर्न सम्भव थिएन । त्यसैले आफ्नो काम चलाउन हाम्रा आदिम पुर्खाले सामान साटासाट गरेर काम चलाउन सिके ।
तपाईँसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ । मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ । दुवै जनाको आवश्यकता मिल्यो भने साटासाट भयो । तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए । एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो । तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने ! जुत्ता बनाउनेलाई कपडा चाहिएको छ । कपडा चाहिएको मान्छेलाई नून बेच्नु छ । नून बेच्नेलाई घिउ चाहिएको छ । घिउ बेच्नेलाई धान चाहिएको छ ।
अब के गर्ने ? सबै जना एकै ठाउँमा भेटेर कुरा मिलाऊँ भन्यो, भ्यागुताको धार्नी पुर्याउनै गाह्रो । सबै जनालाई भेला पारि हाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन् साह्रो ।
एउटा गाईको बदलामा कति धान ? एउटा बाख्राको बदलामा कति नुन ? मलाई आधा बाख्रा मात्र चाहियो भने के गर्ने ? बाख्रालाई आधा काटेर साट्ने कुरा त भएन ! त्यसैले साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो ।
मान्छेका आवश्यकता बढ्दै गयो । समुदाय ठूलो हुँदै गयो । बस्तु विनियम गर्ने ठाउँहरू बढ्दै गए । यसरी बस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो । हाटहरू बढ्दै गए । हाटसँगै बस्तु विनिमय टाढा टाढासम्म फैलिँदै गयो । स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो । त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले, जसलाई धेरैले स्वीकार गरुन्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस् । कतै नुन, कतै अन्न, कतै पशु, कतै सीप र श्रम पनि विनिमयको माध्यम बने ।
यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने बस्तु हुन पुग्यो तामा तथा अन्य धातुको टुक्रा । धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए । बोक्न सजिलो भयो । तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो । त्यसैले, कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्बर धातुका सिक्का चलनचल्तीमा आए ।
त्यसैले पैसा कुनै राजा वा बादशाहले रातारात आविष्कार गरेको वस्तु होइन । यो मानिसको व्यापार, आवश्यकता र समस्या समाधान गर्ने उपायको खोजीसँगै विकसित भएको साझा उपकरण हो । आज हामी मोबाइलको एक क्लिकमा हजारौँ रुपैयाँ लेनदेन गर्छौँ । तर त्यो सुविधा आउनुअघि धन भन्नु धान, नुन, पशु, जमिन र कलकारखाना थिए । पैसाको विकास वस्तु साटासाटलाई सजिलो बनाउने माध्यमका रूपमा हजारौँ वर्षमा भएको हो ।
आज हामीसँग पैसा छ । तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो । र त्यो माध्यम समयसँगै बदलिँदै गयो ।
तर कथा यत्तिमै सकिँदैन । अब प्रश्न उठ्छ – पहिलो सिक्का कहाँ बन्यो ? कागजी नोट कसरी आयो ? बैङ्कले पैसा कसरी जन्मायो ? अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो त ?
यी सबैको कथा ‘गाँठका कुरा’ को अर्को शृङ्खलामा लिएर आउनेछौँ ।