नेभिगेशन

'परिवारका तीन सदस्य बेपत्ता, घाइते भाइको चिन्ताले छोराछोरी भेट्न पाएको छैन'

काठमाण्डौ - नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे शोलेका ईश्वरकुमार भण्डारीले खाना नखाएको आज चार दिन भयो । गएको बुधबारदेखि उहाँको मनमा न शान्ति  छ न त आँखामा निद्रा र पेटमा भोक । छ त केवल अस्पतालको शय्यामा जीवनका लागि संघर्षरत भाइ सुवासलाई कसरी बचाऊँ भन्ने एउटै  चिन्ता ।

बाढीले परिवारका तीन सदस्यलाई बेपत्ता बनाएको अर्को पीडा पनि उहाँसँग छ । अर्कोतिर गम्भीर घाइते भाइ र आश्रय लिएर बसिरहेका साना बालबालिकाको चिन्ता । वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि दुबईमा रहनुभएका ईश्वर परिवारमा विपत्ति आइपरेको खबर पाउने बित्तिकै काम छोडेर शुक्रबार नेपाल फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै भाइ सुवासलाई भेट्न काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभयो ।

गएको बुधबार आएको भोटेकोशीको बाढीले भण्डारी परिवारमा छिनभरमै ठूलो बज्रपात ल्याइदियो । त्यो दिन बिहान करिब साढे ९ बजेतिर केटाकेटीलाई विद्यालय पठाइसकेपछि घरका ठूला मान्छेहरू सँगै बसेर खाना खाँदै थिए । त्यही बेला  त्रिशूलीको बाढी एक्कासि बस्तीमै आइपुग्यो । के भइरहेको छ भन्ने बुझ्न नपाउँदै बाढीले बस्तीका अरू घरसँगै भण्डारी परिवारका ४ जना सदस्य ६४ वर्षीय बुवा भैरव भण्डारी, ३६ बर्सिया श्रीमती विद्यापुन भण्डारी, हाल उपचार गराइएका भाइ सुवास र २८ बर्सिया भाइबुहारी तुलसा भण्डारीलाई बगायो । भाइ सुवास घाइते अवस्थामा फेला पर्नुभयो । आमा दिदीको घरमा हुनुभएकोले सकुशल हुनुहुन्छ ।

बुवा,  श्रीमती र भाइबुहारी अहिलेसम्म  सम्पर्कविहीन छन् ।  उद्धारकर्मीको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो ”बाढीले बगाएर भाइलाई घरबाट करिब दुई किलोमिटर तलसम्म पुर्‍याएछ ” । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका भाइ सुवास अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ । पेटमा अड्किएको बालुवा र हिलोका कारण सुवासको अवस्था गम्भीर रहेको ईश्वरले जानकारी दिनुभयो । भाइलाई कसरी बचाउने भन्ने चिन्ताले ईश्वर पिरोल्न थालेको छ । आफूसँग उपचार गर्ने पैसा नभएको उहाँको दुखेसो छ ।

परिवारको भविष्यका लागि दुबईमा पसिना बगाएर कमाएको जत्ति सबै पैसा ईश्वरले घर पठाइसक्नुभएको थियो । घरमा भएको सम्पत्ति पनि बाढीले बगायो । आफूले जोगाएको थोरै रकम काठमाण्डौ आउँदैमा खर्च भयो । उहाँले भन्नुभयो “मैले कमाएको सबैजसो पैसा घरतिर पठाइसकेको थिएँ । त्यो पनि बाढीले लग्यो,” ईश्वर भावुक हुँदै भन्नुहुन्छ, “बाँकी रहेको थोरै पैसा भाडा गरेर काठमाण्डौ आउनमै खर्च भयो । बाँकी रहेको ६ हजार रुपैयाँ पनि भाइको औषधि किन्दा सकियो । ”त्यसपछि उहाँसँग भाइको औषधि किन्ने रकमसमेत बाँकी रहेन । ईश्वरको आवाजमा निराशा छ, तर भाइलाई बचाउने आशा भने अझै मरेको छैन । “अहिले औषधि किन्ने एक रुपैयाँ पनि छैन,” उहाँले भन्नुभयो । एकातिर बाढीले परिवारका तीन सदस्यलाई बेपत्ता बनाएपछि उनीहरूको खोजी गर्नु छ ।

अर्को अस्पतालमा रहेका भाइको उपचार गराउनु छ । अनि बाढीबाट जोगिएका बालबालिकाको भविष्य पनि हेर्नु छ । सुवासका दुई छोरी तथा ईश्वरका एक छोरा र एक छोरी भने बाढीबाट जोगिएका छन् । त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीको प्रयासमा उनीहरूलाई सुरक्षित स्थानमा लैजान सम्भव भएको ईश्वर बताउनुहुन्छ । अहिले ती बालबालिका अरूकै आश्रयमा छन् । आफ्नो परिवारका सदस्यको अवस्था सम्झँदा ईश्वरको मन थामिँदैन । तर आँखाअगाडि अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका भाइ सुवासलाई देखेपछि उहाँ आफ्नो पीडा भुल्दै उपचारका लागि दौडधुप गरिरहनुभएको छ ।

सरकार तथा विभिन्न संघ–संस्थाले बाढीपीडितका लागि राहत तथा सहयोग घोषणा गरिरहेका छन् । तर आफूलाई भने कोही कसैबाट एक रुपैयाँ पनि सहयोग नमिलेको  ईश्वरको गुनासो छ । उहाँ भक्कानिँदै  भन्नुहुन्छ “मलाई अरू केही पनि चाहिएको छैन, भाइ सुवासलाई बचाइदिनुहोस् । राष्ट्रिय ट्रमा सेन्टरको प्राङ्गणमा भाइको उपचारका लागि भौँतारिरहेका ईश्वर अहिले सरकार, संघसंस्था, सामाजिक अभियन्ता तथा देश–विदेशमा रहेका नेपालीसँग सहयोगको याचना गरिरहनुभएको छ ।

बाढीले उहाँका धेरै कुरा खोसिसकेको छ । तर भाइ सुवासको जीवन बचाउने आशा भने उहाँले अझै छोड्नुभएको छैन । त्यसैले अहिले ईश्वरको एउटै आग्रह छ ‘मैले मेरा धेरै कुरा गुमाएँ, मेरो भाइलाई भने सबै लागेर बचाइदिनुहोस्।’

प्रकाशित मिति:
थप विशेष