नेभिगेशन

उत्तरगयामा ६९३ परिवार विस्थापित, पुनर्स्थापनाका लागि जग्गा छैन

काठमाण्डौ - रसुवाको उत्तरगया गाउँपालिकामा अहिले सबैभन्दा ठूलो चुनौती भनेको पीडितलाई व्यवस्थापन गर्न जग्गा छैन । गएको भदौ १० गतेको विनाशकारी बाढीले मानिस र घरबारमात्रै बगाएन, सिङ्गो भूगोल नै फेरिदियो । जसका कारण अब विस्थापितहरूलाई पुनर्स्थापित गर्ने ठाउँ नै बाँकी छैन ।

मानवीय क्षतिको तथ्यांक हेर्दा उत्तरगयामा हालसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको छ भने ८७७ जना बेपत्ता छन् । सबैभन्दा बढी क्षति वडा नम्बर १ मा ५७८ जना बेपत्ता छन् । यीमध्ये ५७७ जना स्थायी र एक जना अस्थायी बासिन्दा रहेका छन् । वडा नम्बर २ मा दुई जनाको ज्यान गएको छ भने  ७५ जना बेपत्ता छन् । वडा नम्बर ३ मा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता छन् । वडा नम्बर ४ मा दुई जनाको ज्यान गएको र ७६ जना बेपत्ता, तथा वडा नम्बर ५ मा सात जनाको ज्यान गएको र ११८ जना बेपत्ता (९७ स्थायी, १४ अस्थायी) रहेका छन् । यो तथ्याङ्कमा पर्यटक, मजदुर र अन्य पेशाकर्मी समावेश नभएकाले वास्तविक क्षति योभन्दा बढी हुनसक्ने गाउँपालिकाको आशङ्का छ ।

बाढीले सरकारी सेवामा खटिएका कर्मचारी र शिक्षकहरूलाई पनि उत्तिकै असर पुर्‍याएको छ । जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने र कार्यालय सहयोगी रेप्पा तामाङ बेपत्ता हुनुहुन्छ । सूचना प्रविधि अधिकृत जनक आचार्यको बाढीमै ज्यान गएको छ । डोल्पा घर भई मैलुङ सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अनमी दिनिसा शाही पनि बेपत्ता हुनुहुन्छ । विद्यालय क्षेत्रबाट गणेश आधारभूत विद्यालयका मिननाथ न्यौपाने, नव विजयी महेन्द्र माध्यमिक विद्यालयका रमेश लामिछाने र सञ्जीव तामाङ, नीलकण्ठ माध्यमिक विद्यालयका नारायण बहादुर थापा र अजय कुमार यादव, विद्यालय नर्स ममता श्रेष्ठ, बाल विकास शिक्षक मनमाया तामाङ, र तिरु आधारभूत विद्यालयका सुक बहादुर तामाङ समेत बेपत्ता हुनुहुन्छ ।

भौतिक क्षतिको दायरा पनि उत्तिकै विशाल छ । गाउँपालिकाभर ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ वटा घर पूर्ण क्षति भई थप २२ वटा टहरा वा अन्य संरचना क्षतिग्रस्त भएका छन् । वडागत रूपमा हेर्दा वडा नम्बर १ मा ४०४ परिवार विस्थापित भई ४०४ वटै घर पूर्ण क्षति भएका छन् । वडा नम्बर २ मा १६ वटा र वडा नम्बर ३ मा सात वटा घर क्षतिग्रस्त भएका छन् । वडा नम्बर ४ मा ५१ परिवार विस्थापित भई ५१ वटा घर र १० वटा टहरा क्षतिग्रस्त भएका छन् । जबकि सबैभन्दा बढी क्षति भएको वडा नम्बर ५ मा १२५ परिवार विस्थापित भई १४० वटा घर र थप १२ वटा टहरा वा संरचना क्षतिग्रस्त भएका छन् ।

सार्वजनिक संरचनाहरू पनि बाढीबाट जोगिएका छैनन् । कैदलेटार (वडा ५)को गाउँ कार्यपालिकाको कार्यालय क्षतिग्रस्त भएको छ भने नौबिसे (वडा १) को वडा सम्पर्क कार्यालय, सल्लेटार (वडा १) का सामुदायिक स्वास्थ्य इकाइ र कृषि तथा पशु सेवा सम्पर्क केन्द्र, कैदलेटारको उत्तरगया आँखा केन्द्र, सल्लेटारको चिप्लेटी आधारभूत विद्यालय, पैरवेशी (वडा ४) को मालिकादेवी आधारभूत विद्यालय, र कैदलेटारकै संस्थागत विद्यालय ट्रिनिटी बोर्डिङ स्कुल समेत क्षतिग्रस्त भएका छन् ।

पूर्वाधारको हिसाबले वडा नम्बर १, २ र ३ लाई जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडकको बेत्रावती–मैलुङ खण्ड पनि पूर्ण क्षतिग्रस्त भएको छ । 
गाउँपालिकाभित्रका तीन वटा पक्की र तीन वटा झोलुङ्गे पुल समेत बगेकाले वडा नम्बर १, २ र ३ मा यातायात मात्र होइन, राहत सामग्री ढुवानी नै असम्भव जस्तै भएको छ । वडा नम्बर १ मा विद्युत् सेवा पूर्ण अवरुद्ध छ भने सञ्चार सेवाको नेटवर्कमा पनि गम्भीर व्यवधान आएकाले उद्धार कार्य थप कठिन बनेको छ ।

यस्तो विकट अवस्थाका बीच पनि राहत तथा सहयोगको काम निरन्तर चलिरहेको छ । भदौ १४ देखि १९ गतेसम्म जम्मा ११५ जनाले सरकार, संघसंस्था र व्यक्तिगत रूपमा सहयोग प्राप्त गरिसकेका छन् । राहत सामग्री वितरणमा वडा नम्बर ५ अग्रस्थानमा छ, जहाँ ४९६ घरधुरीले राहत पाएका छन् । त्यसपछि वडा नम्बर ४ (३२१ घरधुरी), वडा नम्बर १ (११३ घरधुरी), वडा नम्बर २ (७२ घरधुरी) र वडा नम्बर ३ (१८ घरधुरी) रहेका छन् ।

विस्थापितहरूका लागि गाउँपालिकाले ६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ हालसम्म जम्मा ४९२ जनाले अस्थायी आश्रय लिइरहेका छन् । शिवालय आधारभूत विद्यालय (वडा ५) मा ४७ जना, भीमसेन स्थान (वडा ५) मा विद्यार्थीसहित ५१ जना, धारापानीमा ९४ जना, सिम्ले आधारभूत विद्यालय (वडा २) मा १०२ जना र गणेश आधारभूत विद्यालय (वडा १) मा ४९ जना बसिरहेका छन् । 

यसबाहेक नुवाकोटको शान्तिबजार किस्पाङ (वडा ५) मा २०० जना र शिवालयबाट सारिएका ३० जना नीलकण्ठ माध्यमिक विद्यालयको छात्रावासमा आश्रित छन् । तर यो त प्रारम्भिक तथ्याङ्क मात्र हो, क्षति र उद्धारको वास्तविक तथ्याङ्क अझै विस्तृत रूपमा आउन बाँकी छ ।

अहिलेको सबैभन्दा ठूलो आवश्यकता अस्थायी आवास हो । साथै अभिभावक गुमाएका बालबालिकालाई होस्टेलमा राखेर व्यवस्थित गर्ने निर्णय गाउँपालिकाले गरिसकेको छ, भने सहाराविहीन ७०–७५ वर्ष माथिका वृद्ध वृद्धाको संरक्षणको जिम्मा पनि गाउँपालिकाले नै लिनेछ ।

 राहत भने वडा नम्बर १ बाहेक बाँकी सबै वडामा पर्याप्त पुगिसकेको छ । वडा नम्बर १ दुर्गम भएकाले त्यहाँ हेलिकोप्टरबाट मात्र सीमित राहत पुर्‍याउन सकिएको छ, जुन पर्याप्त छैन ।

विस्थापित परिवारहरू हाल तीन वटा फरक ढाँचामा बसिरहेका छन् — कोही आफन्तकोमा, कोही छिमेकी वा सामुदायिक आधारमा र कोही गाउँपालिकाले बनाएका ६ वटा होल्डिङ सेन्टरमा । पहिले बसेको ठाउँ अहिले खोलामै परिणत भइसकेको छ र त्यहाँ पुनर्निर्माण गर्न सकिने कुनै प्रविधि नै नभएकाले उही ठाउँमा फर्कने सम्भावना लगभग शून्य छ ।

जग्गाको अभाव नै मुख्य समस्या हो । धेरैजसो विस्थापित परिवार शून्यमा पुगेका छन् । उनीहरूको जग्गामाथि नै अहिले खोला बगिरहेको छ, गेग्रान थुप्रिएको छ । गाउँपालिकासँग न त सार्वजनिक जग्गा छ, न त उपलब्ध निजी जग्गा । क्षेत्रको ठूलो हिस्सा या त राष्ट्रिय निकुञ्ज हो या व्यक्तिगत जग्गा, जुन प्रायः खोलाले लगिसकेको छ । वडा नम्बर १ का विस्थापितहरूका लागि उपलब्ध क्षेत्र भनेकै बगरको आसपास मात्र भएकाले त्यो पनि पूर्ण समाधान होइन । धेरैको पुरानो थातथलो भूकम्पकै समयदेखि बस्न योग्य नरहेको ठहर भइसकेको थियो, जसले चुनौती अझ बढाएको छ ।

जग्गाबाहेक अर्को गम्भीर चुनौती बालबालिकाको शिक्षा र सामाजिकीकरणको हो — जसको घर छैन, परिवार छैन, विद्यालय छैन, अभिभावक र साथीभाइ समेत छैनन् । तेस्रो चुनौती भनेको आफ्ना छोराछोरी वा संरक्षक गुमाएका वृद्ध वृद्धाको स्याहार, उपचार र भावनात्मक अभावको परिपूर्ति हो । 

समाधानका लागि गाउँपालिकाले तीनै तहमा एकसाथ काम गर्ने योजना बनाएको छ — बालबालिकाका हकमा पालिका आफैँ अभिभावकको भूमिकामा उभिने, वृद्ध वृद्धाका हकमा पालिकाले नै संरक्षकत्व लिने र परिवारसहित बाँकी रहेकाहरूलाई भने तिनकै सरोकारवाला पक्ष र इच्छाका आधारमा ।  सकेसम्म पालिकाभित्रै वा नभए जिल्लाभित्रकै उपयुक्त ठाउँमा पुनर्स्थापित गर्ने । यसरी हेर्दा उत्तरगयाको यो विपद् अब उद्धारको चरणबाट पुनर्स्थापनामा प्रवेश गरिसकेको छ, जसको सबैभन्दा ठूलो अवरोध जग्गा नै हो ।

(गोसाँइकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेलसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति:
थप विशेष