नेभिगेशन

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बाढीको १३औँ दिन यही २२ गते सोमवार सरकारले शोक दिवस मनाउन लागेको हो । त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवम् नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

यस्तै अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

यस्तै सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने पाँच मिलियन अमेरिकी डलर अर्थात् ७५ कराेड ४८ लाख रुपैयाँ अनुदान स्वीकार गरेको छ ।

बैठकले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ ।

बैठकले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा ज्यान गएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । 

*यसअघि अन्यथा भएकाले सच्याइएकाे छ । – सम्पादक

प्रकाशित मिति:
थप समाज