नेभिगेशन

आफ्नै मान्छे हराएको भए पनि यस्तै कमेन्ट लेख्नुहुन्थ्यो ?

भोटेकोशीको अकल्पनीय बाढीले मान्छे बगायो । घर बगायो । बाटो बगायो । संरचना बगायो । बल्लतल्ल ज्यान बचाएकाहरूको संसार बगायो । फर्किएर आउने पाइलाको पदचाप हरायो । कसैको घर छैन । परिवारका सदस्य छैनन् । कसैको फोनमा घण्टी बज्दैन । प्रियजनको कुनै खबर नआउँदा पर्खाइ आफैँमा एउटा यातना बनेको छ । निद्रा र चैन हराएको छ ।

तर केही मानिस महाविपद‍्मा परेका नागरिकको पीडामाथि पीडा थप्दा आनन्दित छन् । पीडित नागरिक सरकारसँग आफ्ना दुःख, पीडा, गुनासो र प्रश्न गर्छन् । सरकार सुन्छ, तर यिनीहरू सरकारको प्रतिरक्षा गर्ने नाममा पीडितमाथि खनिन्छन् ।

सुरुङभित्रबाट मान्छे जीवितै निकालिएको खबर आउँछ । भत्किएको संरचनाबाट मानिसको उद्धार भएको खबर आउँछ । उद्धारकर्मी रातदिन खटिएको देखिन्छ । बाढीपहिरोमा हराइरहेका आफन्त जीवितै छन् कि भन्ने आशा पलाउँछ । आशा पलाएपछि प्रश्न पलाउँछ, ‘मेरो मान्छे चाहिँ कहाँ छ ? छरछिमेकीसँग हारगुहार गरेर खोजी अझै तीव्र बनाउन सकिँदैन ?’

यो स्वभाविक प्रश्नमा राजनीति खोज्ने कि पीडा ?

प्रियजन हराएको मान्छेले सरकारको विज्ञप्ति र प्रधानमन्त्रीको फेसबुक स्टाटस पढेर चित्त बुझाउन सक्दैन । उसलाई तथ्याङ्क होइन, आफ्नो मान्छे चाहिएको छ । उद्धारको प्रगति प्रतिवेदन होइन, ढोकामा फर्किन सक्ने आफ्नै मान्छेको पाइलाको प्रतीक्षा छ । त्यसैले उसले आक्रोश पोख्छ । कहिलेकाहीँ शब्द कडा हुन्छन्, आवाज चर्किन्छ । प्रश्न तिखो हुन्छ । जुन स्वाभाविक हो । त्यो आक्रोशको पछाडि घृणा होइन, एउटा असह्य पर्खाइ मिसिएको छ ।

प्रधानमन्त्री स्वयम‍्ले बल्ल सत्य स्वीकार गर्नुभएको छ—आफन्त हराएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक हो । एकै क्षणमा संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम हो । पीडितमाथि अनावश्यक टिप्पणी गर्नेहरू अपराधी हुन् र उनीहरूप्रति सरकार निर्मम हुन्छ भनेर प्रधानमन्त्रीले चेतावनीसमेत दिनुभएको छ ।

सरकारले कुरा बुझेजस्तो देखियो । तर सरकारका केही समर्थकलाई यो कुरा पचेन । सामाजिक सञ्जाल खोल्नुस् । कतिपय टिप्पणी हेर्दा लाग्छ, भोटेकोशीले मान्छे बगाएको होइन, कसैको राजनीतिक सिद्धान्त बगाएको हो । आफन्त हराएका परिवारको पीडा पनि समर्थकको आँखामा सरकारविरुद्धको प्रोपोगान्डा देखिन थालेको छ । हराएका मान्छे छिटो खोज्न गरेको बिन्तीभाउमा समेत राजनीतिक चस्मा लगाएर हेर्ने यो कस्तो संवेदना हो ?

प्रियजनको खोजीमा बसेको परिवारले सरकारलाई प्रश्न गर्‍याे भने त्यसको जवाफ तथ्य र उद्धारबाट दिन सकिन्छ । तर त्यसको जवाफमा सामाजिक सञ्जालमा गाली, व्यङ्ग्य र तुच्छ टिप्पणी गर्नु काटेको घाउमा नुनचुक दल्नु हो, पीडामाथि अर्को पीडा ।

आफ्नो मान्छे १२ दिनदेखि सम्पर्कमा छैन । मोबाइलमा नम्बर डायल गर्दा घण्टी जाँदैन । खोज्न हिडौँ, बाटो बन्द छ । ढोकातिर हेर्नुहुन्छ, कोही आउँदैन । यस्तो बेला सामाजिक नामको सञ्जालमा असामजिक उपदेश, गाली, व्यङ्ग्य र खिसीटीउरीको वर्षा ! त्यो पनि राजनीतिक आस्थाको आधारमा !

राजनीतिक आस्था राख्न स्वतन्त्र देश हो नेपाल, दक्षिण एशियामै सहिष्णु राजनीतिक संस्कार भएको ! त्यसैले सरकारको समर्थन गर्न पाइन्छ । सरकारको बचाउ गर्न पाइन्छ । तर विपद्ले दल हेर्दैन, विचार हेर्दैन, समर्थक र विरोधी छुट्याउँदैन । भोटेकोशीको भेलले कसैको पार्टी सदस्यता कार्ड हेरेर बगाएको थिएन । त्यसैले अहिले आवश्यकता राजनीतिक पङ्क्ति मिलाउनु होइन, मानवीय शक्ति जोड्नु हो । अहिले उद्धारमा भइरहेको कामलाई अझै राम्रो र प्रभावकारी बनाएर आलोचनाको जवाफ दिन सकिन्छ र नागरिकको आक्रोश उनीहरूको प्रियजनलाई सकुशल घर फर्काएर रोक्न सकिन्छ ।

प्रियजनको पर्खाइमा बसेकाहरूलाई अहिले तर्क होइन, साथ चाहिएको छ । बहस होइन, भरोसा चाहिएको छ । व्यङ्ग्य होइन, उद्धार चाहिएको छ ।

सरकारले पचाउन खोजेको पीडितको आक्रोश वास्तवमा लोकतन्त्रको आवाज हो । तर केही समर्थकलाई त्यो पनि पच्दैन भने समस्या आक्रोशमा होइन, संवेदनाको पाचनशक्तिमा छ ।

आफ्ना प्रियजनको व्यग्र पर्खाइमा रहेकाहरूको पीडा र आक्रोशमा तथानाम कमेन्ट गर्नेहरूलाई एउटा प्रश्न, ‘तपाईँको आफ्नै मान्छे हराएको भए पनि यस्तै कमेन्ट लेख्नुहुन्थ्यो ?’

प्रकाशित मिति:
थप विशेष