नेभिगेशन
गाँठका कुरा - अंक ३

पैसाको इतिहास : सिक्कादेखि मोबाइलको स्क्रिनसम्म

खल्ती छाम्नुस् त । कति पैसा छ ? 

अब मोबाइल बैंकिङ खोल्नुस् । पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला ।

हिजोआज नोट र सिक्का बोक्नुपर्दैन । मोबाइलमै अटाएको छ, नोट र सिक्का पनि । 

अब कल्पना गर्नुस्, आजको दश हजार रुपैयाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने ! 

कल्पनै गर्नु पर्दैन । स्वीस भूगर्भविद् टोनी हागनको नेपाल यात्राको कथा पढे पुग्छ । राणा शासन कालमा नेपाल आएका टोनी हागनले नेपालको भौगर्भिक तथ्य पत्ता लगाउन दशौँ वर्ष यात्रा गर्नुभयो । त्यो यात्रामा कम्पास, क्यामेरा, चामल र औषधि बोकेका दर्जनौँ भरिया र सहयोगी थिए । दुई जना भरियाको काम त मोरु र भारु सिक्का बोक्ने मात्रै थियो । सत्तरी वर्षअघिकै मात्र कुरा हो यो । टोनी हागनको बाटो खर्च खल्ती र झोलामा नअटेर डोको र थुन्सेमा बोक्नुपर्थ्यो । त्यो डोको वा थुन्से यात्रा शुरु गर्दा सबैभन्दा गह्रौँ र यात्रा सकिँदा सबैभन्दा हलौं र रित्तो हुन्थ्यो । 

पैसाको इतिहास टोनी हागनको नेपाल यात्रा भन्दा कम्ती रोचक छैन त ! 

आजभन्दा करिब साढे दुई हजार वर्षअघि, अहिलेको टर्की आसपासको लिदियाबाट भएको हो सिक्काको शुरुवात । 

ती सिक्कालाई प्राचीन ग्रिसले परिमार्जित गरेर कलात्मक बनायो । सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अङ्कित भए । 

तर तिनको आकार समान थिएन, कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला । त्यसैताका चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलनचल्तीमा आए । बीचमा प्वाल भएका चिनियाँ सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो ।

पैसा कमाउन अहिलेभन्दा धेरै श्रम गर्नुपर्थ्यो, जसोतसो कमाई हाले बोकेर हिँड्न पनि औधी डर थियो । बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो । 

त्यही भएर त होला, शिखरनाथ भाष्यमा कवि शिखरनाथ सुवेदीले यात्राको सल्लाह दिँदै श्लोक लेखेका थिए ‘थैलीका रुपियाँ जति भए पनि छिपाउनु पेटमा !’ अथवा पैसा माल पनि थियो, काल पनि !

सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा । 

अक्षर, कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो । कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोटप्रति मानिसको विश्वास बढ्यो । 

अब नेपालतिर फर्कौँ । झण्डै १६ सय वर्षअघि लिच्छवीकालमा श्रीमानांक लगायतका सिक्का चलनमा आए । पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए । 

मल्लकालमा नेपाल–तिब्बत व्यापार बढ्यो । नेपाली सिक्का तिब्बतसम्म पुगे । भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रुपैयाँ छ्यापछ्याप्ती भयो । नेरु र भारु नेपालमा सराबरी चले । 

नेपाली सिक्का कुँद्न र काट्न करिब सय वर्षअघि काठमाण्डौको सुनधारामा टक्सार स्थापना भयो । विसं २००२ मा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो ।

युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको ५ सय वर्षपछि नेपालमा नेपाल बैक र त्यसको बिस वर्षपछि २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भयो । नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो ।

अर्थात् हाम्रो पैसा पनि सिक्काबाट नोटमा पुग्यो । तर कथा त्यहीँ रोकिएन ।

अब फेरि कल्पना गर्नुस्, तपाईँको हातमा एक लाख रुपैयाँ छ । सबै हजारका नोट । खल्तीमा हाल्नुस् । खल्ती फुल्यो, सँगै मुटु पनि । कतै पैसा खस्ने हो कि, कसैले चोर्ने हो कि भन्ने डर ।

अब त्यही पैसा बैंकमा राख्नुस् । खल्ती खाली, पैसा खातामा । यसरी बैंकमा पैसा राख्न शुरु भयो । बैंकमा पैसा राख्न थालेको पचास वर्षपछि बल्ल शुरु भयो मोबाइल बैंकिङ । 

दुई दशकअघि सूचना प्रविधिको विकाससँगै नेपालमा २०५२ सालमा मोबाइल फोनको प्रणाली भित्रियो । त्यसअघि भित्रिएको थियो कम्प्युटर र इन्टरनेट । मोबाइलमा इन्टरनेट जोडिएपछि के के भएन ! कुरा जति बेला पनि र जहाँ पनि हुन थाल्यो । घडी विना समय हेर्न, मन लागेको फोटो खिच्न, रेडियो र गीत सुन्न मात्र हैन मोबाइलबाट पैसाको कारोबार हुन थाल्यो । एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट, हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफरमार्फत हुन थालेको छ । अर्कोको खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने, र बिल तिर्ने–सबै मोबाइलबाट ।

अहिले मोबाइल निकाल्नुस् । क्युआर स्क्यान गर्नुस् । बील तिर्नोस्, र तिरेको रसिद लिएर सामान बोक्नोस् । हिजो पैसा बोक्नु र गन्नुपर्थ्यो, आज क्युआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ ।

पैसा हराएको होइन । पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ । अब क्रिप्टोकरेन्सी अर्थात् बैंक वा सरकारको नियन्त्रणबाहिर कम्प्युटर नेटवर्कमार्फत चल्ने डिजिटल सम्पत्तिको पनि बहस हुन थालेको छ ।  अमेरिका, जापानलगायत केही देशमा यसको किनबेच तथा सीमित भुक्तानी प्रयोगलाई कानुनी मान्यता वा नियमन गरिएको छ ।

नेपालमा पनि क्रिप्टोकरेन्सीको कारोबार होला त ? तपाईँलाई लागेको कुरा कमेन्टमा लेख्नुहोस् ।

अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो, कि पैसा भएको प्रमाण मात्रै ? आज हामी स्क्रिनमा देखिने अंकलाई पैसा मानिरहेका छौँ ।

पैसा आखिर वस्तु हो कि विश्वास ? यही प्रश्नबाट शुरु हुन्छ ‘गाँठका कुरा’को अर्को भाग ।

पैसा आखिर के हो ? पैसाले वास्तवमा के काम गर्छ ? र हामी पैसालाई मूल्यवान् किन ठान्छौँ ?

गाँठका कुराको अर्को भागमा यसको जवाफ खोज्नेछौँ ।

प्रकाशित मिति:
थप विशेष