नेभिगेशन
आइतबार, असोज ४, २०८३
गाँठका कुरा - भाग ५

पैसा कसरी कमाउने ?

गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए, लेखिँदैछन् र अझै लेखिनेछन् । ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ । तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरिब थिए । किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर सयमा एक जना पनि धनी भएको छैन । किनकि गाँठ कमाउने कुनै फर्मुला छैन ।

त्यसो भए गाँठ कसरी कमाउने त ? फर्मुला वा सूत्र नभए पनि मानिसले जिन्दगी चलाउन गाँठ कमाइरहेकै छन् । सबैले देख्ने गरी अनेक काम गरेर कमाइरहेका छन् । यसरी काम गरेर कमाउने मान्छे हेर्दा गाँठ कमाउने मानिससित दुई कुरा भेटिन्छ – सीप र श्रम । 

पहिले सीपको कुरा गरौँ । तपाईँसँग सीप छ भने गाँठले तपाईँलाई खोजिरहेको हुन्छ । त्यसैले सीप सिक्नु र दक्ष हुनु गाँठ कमाउने पहिलो सर्त हो । प्राविधिक काम गर्ने सीप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सीप छन् र अरूभन्दा दक्ष हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ । 

तर सीप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन । सीप देखाउन श्रम गर्नुपर्छ । अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ । सीप आफैँमा पैसा होइन, पैसा कमाउने क्षमता हो । यहाँ एउटा महत्त्वपूर्ण अर्थ शास्त्रीय कुरा छ, धेरै घण्टा काम गर्दैमा धेरै पैसा आउँदैन । तपाईँले आठ घण्टा लगाएर गर्ने काम अरू कसैले तीन घण्टामा गर्छ भने उसको कमाई तपाईँको भन्दा तेब्बर हुन्छ । एक किसानले दिनभरमा ५० किलो तरकारी उत्पादन गर्छ र अर्को किसानले उन्नत बीउ, प्रविधि, मल र मेसिन प्रयोग गरी त्यति नै जमिनबाट एक दिनमा ८० किलो उत्पादन गर्छ भने दोस्रो किसानले बढी गाँठ कमाउँछ । यसको अर्थ हो, श्रम, स्रोत र समयको उपयोग गर्न जाने उत्पादकत्व बढ्छ, अथवा धन बढ्छ ।  

सजिलो भाषामा भन्दा सबै काम अलिअलि जान्ने भन्दा एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाई धेरै हुनसक्छ । उदाहरणका लागि एउटा सामान्य घर बनाउने मजदुरले पाउने ज्याला भन्दा त्यही घरको टायल, बिजुली र प्लम्विङको काम गर्ने मजदुरको ज्याला बढी हुन्छ । 

सीप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो । तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन् । 

व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो । तर यसमा अनेक चुनौती छन् । पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पट्याउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने ! यस्ता अनेकौँ चुनौती सामना गरेर शुरु गरे पनि व्यापार व्यवसाय सफल होला भन्ने ग्यारेण्टी छैन । सयकडा पचास प्रतिशत व्यापार व्यवसाय एक वर्ष नपुग्दै बन्द हुन्छन् । केही व्यापार व्यवसाय घिटीघिटी गर्दै केही वर्ष चल्छन् । नाफामा चल्ने र पाँच वर्षभन्दा धेरै टिक्नेहरू त सयकडा पाँच छ मात्रै हुन्छन् । नेपालको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका र बन्द भएका व्यापार व्यवसायको सूचीले यसै भन्छ । 

व्यापार व्यवसायमा माग, लागत, मूल्य, प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ । मानौँ तपाईँले एक महिनामा एक लाख रुपैयाँको सामान बेच्नुभयो । यसको अर्थ एक लाख रुपैयाँ कमाइ भयो भन्ने होइन । सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो । बिक्री हुनु र नाफा हुनु फरक कुरा हो ।

अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन् । आफ्नो पैसालाई आफैँले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी । बैंकमा सामान्य र स्थिर ब्याजदरमा निक्षेप राख्ने, बैक, वित्तीय संस्था र सरकारले जारी गरेका ऋणपत्र अथवा डिबेञ्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम मोल्नेहरूले सेयरमा लगानी गर्छन् । 

पैसा कमाउने कुनै एउटा सूत्र छैन । कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन् । रातारात धेरै कमाउन खोज्दा सुनचाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन् । जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ । 

आफ्नो सीप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ । तर, कमाएको पैसा चलाउन पनि सीप चाहिन्छ । गाँठ चलाउने सीप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईँलाई थाहै छ । 

कमाएको पैसा जोगाउन सकिएन भने के हुन्छ त ! यस विषयमा तपाईँ पनि जानिफकार र अनुभवी हुनुहुन्छ ! त्यसैले, आफ्नो अनुभव लेख्न नभुल्नुस् है !  

प्रकाशित मिति:
थप विशेष