नेभिगेशन
आइतबार, असोज ४, २०८३

प्रमुख अतिथिबारे आ–आफ्नै सुर हुँदा भरतपुर अस्पतालको वार्षिकोत्सव नै ‘झुर’

चितवनमा रहेको सङ्घीय स्तरको अस्पताल भरतपुर अस्पतालको वार्षिकोत्सवमा प्रमुख अतिथि छनौटको विवादले कार्यक्रमको रौनक नै गायब भयो । प्रमुख अतिथि को बनाउने भन्ने विषयमा मुख्य दलहरु ‘चुर’ बन्दा केन्द्रीय तहको अस्पतालको वार्षिकोत्सव नै ‘झुर’ भएको छ ।

सोमवार सम्पन्न भरतपुर अस्पतालको ६९ औँ वार्षिकोत्सवमा न आउनुपर्ने अतिथि आए, न त जुट्नुपर्ने सहभागी नै जुटे । मञ्चमा कमै अतिथि देखिए भने सहभागीको रुपमा अधिकांश अस्पतालका विद्यार्थी मात्र भेटिए । तयारी भव्य भए पनि सहभागिता रौनकविहीन देखियो ।

अस्पतालको वार्षिकोत्सवमा प्रमुख अतिथि बनाउन एमालेको चाहाना प्रधानमन्त्री, कांग्रेसको इच्छा शेखर कोइराला, माओवादीको आकाङ्क्षा प्रचण्ड र अस्पताल परिवारको रहर विभागीय मन्त्री थियो । मुख्य दलहरुले रोजेको र अस्पतालले खोजेको प्रमुख अतिथि नभएपछि वार्षिकोत्सव खल्लो रुपमा सम्पन्न भएको छ ।

भरतपुर अस्पतालको वार्षिकोत्सव विगतमा निकै तामझामका साथ हुने गरेको थियो । कार्यक्रममा प्रायः प्रधानमन्त्री वा विभागीय मन्त्रीलाई प्रमुख अतिथि बनाउने चलन थियो । त्यसो त स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखादेखि महत्त्वपूर्ण ठाउँका व्यक्तिहरु वार्षिकोत्सवमा आउने गरेको विगत थियो । यसपटक न प्रधानमन्त्री, न विभागीय मन्त्री न त कुनै विभागीय प्रमुख कोही पनि उपस्थित भएनन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.कृष्णप्रसाद पौडेल कांग्रेस निकट मानिनुहुन्छ । कांग्रेसको पनि एउटा ‘गुट’ लाई मात्रै हात लिएर हिँडेको आरोप मेसु पौडेलले खेप्दै आउनुभएको छ ।

अस्पताल विकास समितिको अध्यक्ष राजु पौडेल माओवादी निकटका हुनुहुन्छ । माओवादी निकट रहेर पनि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पनि पौडेलसँग खुशी हुनुहुन्न । आफ्नै पालिकाभित्र रहेको यस अस्पतालको वार्षिकोत्सवमा भरतपुर महानगरपालिकाको मेयर दाहालसमेत उपस्थित हुनुभएन ।

नेकपा एमाले आफ्नो पार्टीको नेतृत्वको सरकार रहेका कारण भरतपुर अस्पतालमा समेत आफ्नो सहभागिता र उपस्थितीलाई  दमदार देखाउन चाहान्छ । तर त्यसका लागि ‘गरिदिने मान्छे’ उसको अस्पतालमा कोही छैन । एमाले मात्र होइन सबै दलले आफ्नो दबदबा अस्पतालमा देखाउन चाहान्छन् ।

त्यसैले दलका प्रतिनिधिले मेसुलाई विभिन्न समयमा दबाब, प्रभाव र धम्की दिँदै आएको भन्ने गुनासाहरु सार्वजानिक हुँदै आएका छन् ।

भरतपुर अस्पतालको वार्षिकोत्सवमा एमालेको चाहना प्रधानमन्त्री केपी शर्मा ओली ल्याउने थियो । भरतपुरको ६ लेन सडकको उद्घाटन र भरतपुर अस्पतालको वार्षिकोत्सव एकै दिन पारेर गर्ने योजनामा एमाले थियो । तर प्रधानमन्त्री ओली विदेश भ्रमण सकेर भर्खर आएका कारण यी कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था आयो ।

ओली चितवन आएर ६ लेन सडक उदघाटन गर्ने भए पनि कांग्रेसले भने कांग्रेस नेता शेखर कोइराललाई प्रमुख अतिथि बनाएर भरतपुर अस्पतालको वार्षिकोत्सव गर्न चाहन्थ्यो । माओवादीले भने पूर्व प्रधानमन्त्री प्रचण्डलाई नै ल्याएर कार्यक्रम गर्न दबाब दिइरहेको थियो ।

दबाब थेग्न नसकेका मेसु पौडेल भने विभागीय मन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दा तीनतिरको दबाबलाई झेल्न सहज हुने अनुमानका साथ त्यही लविङमा लाग्नुभएको थियो । तर स्वास्थ्य मन्त्री प्रदिप पौडेल पनि विदेश भएकाले त्यो तयारीले पनि सार्थकता पाउन सकेन ।

मेसु पौडेल स्वास्थ्य मन्त्री पौडेल सम्भव नहुने भएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ल्याउने तयारीमा रहनुभएको थियो । तर मुख्यमन्त्रीले समेत आफूले नभ्याउने भन्दै अर्थमन्त्री कुन्दनराज काफ्लेलाई पठाइ दिनुभयो ।

प्रमुख अतिथि को बनाउने भन्ने विषय पेचिलो बनेकै कारण अस्पतालमा वार्षिकोत्सवको रौनक नै हरायो । कार्यक्रम १२ बजे शुरू हुने भने पनि त्यस समयमा अस्पतालका नर्सिङ विद्यार्थी र नर्स मात्रै कार्यक्रम स्थलमा देखिन्थे ।

साङ्गीतिक कार्यक्रमबाट शुरू भएको कार्यक्रम दिउँसो १ः३० बजेतिर औपचारिक रुपमा शुरू गरिएको थियो । त्यसमा पनि दर्शकदीर्घामा तिनै विद्यार्थी र फाट्टफुट अन्य स्वास्थ्यकर्मी मात्रै देखिए ।

दैनिक एक हजार पाँच सयदेखि तीन हजार हाराहारी बिरामी आउने यस अस्पतालमा ६ सय शय्या सञ्चालनमा रहेका छन् । अस्पतालको वार्षिक ९२ प्रतिशत बेड अकुपेन्सी हुँदै आएको छ ।

विगतका वर्षमा यस अस्पतालको वार्षिकोत्सवको चहल–पहलले खास अर्थ राख्ने गरेको थियो । केन्द्रीय स्तरको अस्पतालको वार्षिकोत्सव सर्वत्र चासो चर्चा हुने गरेको थियो । 

भरतपुर अस्पताललाई सरकारले २०७५ सालको फागुन ३ मा सङ्घीय मन्त्रालयअन्तर्गत राखेर विशिष्टिकृत रेफरल हस्पिटल घोषणा गरेको थियो ।

अस्पतालमा हाल १ हजार २ सय ११ जना कर्मचारी छन् । अस्पतालमा गएको आर्थिक वर्षमा चार लाख ५६ हजार १ सय ५९ जना बिरामी ओपीडीमा आएका थिए । जसमध्ये २८ हजार ४ सय ४ जना भर्ना भएर उपचार गराएका थिए । 

प्रकाशित मिति:
थप विशेष