नेभिगेशन

आन्दोलनदेखि पुनर्निर्माणसम्म : निराशाबाट नवजागरणतर्फ

हरेक पटक बसको झ्यालबाट वा बाइक रोकिँदा, सिंहदरबार देख्दा मनमा गर्व र खुशी एकसाथ लाग्थ्यो । एउटा इतिहास थियो, देशको प्रतीक थियो तर अब त्यो रहेन, जलेर खरानी भयो । पलहरूले गल्ती गरेका थिए तर शताब्दीले सजाय पायो । जनता जितेर पनि हारेको महसुस सायदै सबै आमनेपालीलाई भइरहेको होला ।

जेन–जी पुस्ताको विद्रोही बिगुल, भ्रष्टाचार र बेथितिविरुद्धको नयाँ जनआन्दोलनको पृष्ठभूमिमा कथित नेताहरूले कहिले देश बङ्गलादेश, कहिले श्रीलङ्का बन्छ भनेर धम्की दिनेहरूको माग पूरा भएको छ । एकैछिनलाई भए पनि अपराधको सजाय भुक्तान गर्न जेलमा बसेका हजारौं अपराधीहरूमा साम्यवाद आएको छ । सयाैंको सङ्ख्यामा उधोग, व्यापार, व्यवसायमा आगो लगाउँदै देश लुटेरा भन्दै तिरस्कार गरिएका उधोगीहरूको मनोबल ध्वस्त बनाइएको छ । अर्बाैं कर तिर्ने व्यवसायीहरू स्वाहा पारिएको छ । दुई दिनको आन्दोलनले खर्बाैंकाे विध्वंस भएको छ । देश फेरि एकपटक पछि धकेलिएको छ जसका केही परिणामहरू गम्भीर रूपमा देखिने नै छन् ।

देशको न्याय र प्रशासनिक इतिहास जलेको असर सयौं वर्षसम्म रहनेछ । जसरी नाल्न्दा विश्वविद्यालय जलाएर पूर्वीय दर्शनको इतिहास ध्वस्त बनाइयो, त्यसरी नै नेपालको न्यायिक तथा प्रशासनिक इतिहास, सन्धि सम्झौता लगायत देशका लागि हजारौं वर्ष पछिसम्म आवश्यक पर्ने अभिलेख जलाइयो । अध्ययन, अनुसन्धान गर्ने इतिहासकार, अनुसन्धानकर्ताले कहिल्यै कुनै सामग्री प्राप्त गर्ने छैनन् । शिक्षा, स्वास्थ्य र विकासका लागि छुट्याइएको अर्बाैं रकम सिंहदरबार, बालुवाटार, सर्वोच्च अदालत लगायत भवन बनाउन खर्च हुनेछ ।  शान्ति, समृद्धि, इतिहास, संस्कार, संस्कृति, सभ्यता चाहिने तपाईं हामी जस्ता लाखौंको मन रोएको छ । न त हामीले दुई दिनमा यति ठूलो कायापलटको आश गरेका थियौँ, न त हाम्रो धरोहरको विनाश अनि हाम्रो संरचनाको यो कहालीलाग्दो विध्वंस ।

विश्व इतिहास हेर्ने हो भने यस्ता परिस्थितिहरू कतिपय मुलुकले भोगेका पनि छन् । जर्मनी (१९४५ पछि) दोस्रो विश्वयुद्धमा पराजय हुँदा संविधान, संसद् र प्रशासन सबै ध्वस्त थिए । तर मित्र राष्ट्रहरूले अन्तरिम प्रशासन खडा गरे, संविधानसभा गठन भयो र नयाँ लोकतान्त्रिक आधारमा राज्य पुनर्निर्माण भयो । जापान (१९४५ पछि) हिरोशिमा–नागासाकी पूर्णरूपमा धराशायी भयो तर अन्तर्राष्ट्रिय संयन्त्रको सहायताले संविधान पुनर्लेखन गरियो, शान्तिपूर्ण विकासको बाटो समातियो । दक्षिण अफ्रिका १९९० को दशकमा जातीय विभाजन, हिंसा र प्रशासनिक विघटनपछि पनि अन्तरिम संविधानमार्फत सबै पक्षलाई समेट्दै नयाँ लोकतान्त्रिक संरचना निर्माण गरियो । रुवाण्डा (१९९४ पछि)  जातीय नरसंहारद्वारा लाखौं नागरिक मारिए, सरकार र प्रशासन ढले । तर पछि गएर न्याय र मेलमिलापको बाटो समातियो । यी सबै दृष्टान्तहरूले देखाउँछ कि सरकार, अदालत वा प्रशासन भत्किए पनि राष्ट्र र राष्ट्रियता समाप्त हुँदैन । राष्ट्रलाई अगाडि बढाउने आधार पनि यथावत् हुन्छ, राष्ट्रियता जीवित रहन्छ ।

दशकौं भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष र निराशा विस्फोट भई जेन–जी पुस्ताले नेतृत्व गरेको जनआन्दोलन अब शान्ति, स्थायित्व र नवीनतम् राजनीतिक व्यवस्थाको माग गर्दै नयाँ चरणमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अबको बाटोलाई विश्लेषण गर्नुपर्दा अन्तरिम संरचनाका रूपमा बनेको अस्थायी सरकारले तत्काल कानून र प्रशासन चलाउने बाटोमा अघि बढनुपर्ने देखिन्छ ।

विगत तीन दशकमा लुटिएको सार्वजनिक सम्पत्ति छानबिन गरी अवैध सम्पति राष्ट्रियकरण गरी पुनर्निर्माणमा लगाउनुपर्छ । सार्वजनिक क्षेत्रको संरचनागत सुधार र पुनर्गठन गरिनुपर्छ । जेन–जी पुस्ताको आन्दोलन क्रममा शहादत प्राप्त गर्ने सबै वीर शहीद र शहीद परिवारलाई राष्ट्रका तर्फबाट सम्मान, अभिनन्दन तथा राहत उपलब्ध गराई उक्त त्याग र बलिदानको उच्च कदर गर्नुपर्छ । घाइतेहरूको आत्मबल अभिवृद्धि गरी निःशुल्क उपचारसँगै दीर्घकालीन जीविकोपार्जनको सुनिश्चितता गरिनुपर्छ । आन्दोलनको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीहरूलाई न्यायको कठघरामा उभ्याई कानून अनुसार कठोरभन्दा कठोर सजाय हुनुपर्छ । विशेषतः युवापुस्ताको इच्छा, आकाङ्क्षा, चाहना र सोच बमोजिमका एजेन्डाहरुलाई हरेक क्षेत्रमा पूर्ण अवलम्बन गरिनुपर्छ । चाडपर्वको मुखैमा हुने मनलाग्दी महँगी र कालोबजारी गर्नेलाई सम्बन्धित निकायबाट कडा अनुगमन गरी नियन्त्रण गरिनुपर्छ । अब अझ झन् बढ्न सक्ने बेरोजगारी, पलायन र सामाजिक अन्याय अन्त्य गर्न विशेष कार्यक्रम ल्याई सम्बोधन गर्न आवश्यक छ ।

सर्वपक्षीय तवरले संविधानको समीक्षा गर्दै व्यापक संशोधन गरेर नयाँ सामाजिक–राजनीतिक सहमति गरी दीर्घकालीन समाधानका लागि समयसापेक्ष नवीनतम् नीति र संरचना बनाउन सकिन्छ । रणनैतिक कुटनीतिबाट अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीलाई मजबुत बनाई पुनर्निर्माणका लागि बाह्य सहयोग र साझेदारीतर्फ उन्मुख हुनुपर्ने देखिन्छ । नागरिकको विश्वास पुनर्स्थापना नगरी कुनै पनि संरचना टिक्दैन भन्ने आन्दोलनको यर्थातता हो तर्सथ जनताको अर्थपूर्ण र व्यापक सहभागितामार्फत हरेक निर्णयको वैधता पुनर्स्थापित गर्ने बाटोमा अग्रसर हुनुपर्छ ।

सबै नष्ट भएको भाष्य मात्र होइन कि पुरानो संरचना ढलेपछि पनि नयाँ, अझ बलियो संरचना जन्मिन सक्छ भन्ने धारणा विकास गनुपर्छ । आन्दोलनबाट आएको नागरिक अन्तरिम सरकारले चुनावी कार्यादेशमार्फत देशलाई सही दिशा र गति दिनुपर्छ । अब आन्दोलन पुनर्निर्माण र सुधारतर्फ मोडिनुपर्छ र त्यसमा हामी सबै नेपालीले हातेमालो गर्नुको विकल्प छैन ।

शान्ति र स्थायित्वको बाटोमा सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने, अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारमुक्त, समावेशी राज्य प्रणाली र सुशासनयुक्त कर्मचारीतन्त्र, नतीजामुखी काम, स्राेत व्यवस्थापन र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको प्राथमिकता हुनुपर्छ । जनता, कर्मचारी, निजी क्षेत्र, विकास साझेदार, गैरसरकारी संस्थाहरू, नागरिक समाज, राजनीतिक दलहरू, सुरक्षा निकायहरू व्यापक रूपमा जनसेवामा पुनः उन्मुख हुन उत्प्रेरित गराइनुपर्छ । राजनीतिक सङ्क्रमणता सकेसम्म चिर्दै पुराना दलका नेता तथा कार्यकताहरू संयमित हुन आवश्यक देखिन्छ । नयाँ पुस्ताको आकाङ्क्षा र जनताका वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने खालको संविधान संशोधन गर्न पनि सकिन्छ । यस प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेषगरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ । अन्तरिम अवधिमा स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गरिनुपर्छ । अर्को स्थायी सरकार नबनुञ्जेल हामी सबै मिलेर हाम्रो संविधान र देशको सार्वभौमिकतालाई जोगाउँदै विधिको शासन र राष्ट्रिय स्वाभिमानको रक्षा हो ।

यो आन्दोलन कुनै दल वा व्यक्तिको लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो । हामी सबै शान्ति चाहन्छौँ तर त्यो शान्ति केवल संशोधित राजनीतिक व्यवस्थाको आधारमा मात्र सम्भव हुन सक्छ । देशमा शासन सत्ता परिवर्तन भइराख्दा यो अस्थिरतामा हामी अब के होला भनिरहेको अवस्थामा जनताका रूपमा के गर्न सक्छौँ त ?

हरेक कुरामा सङ्कीर्ण, नकारात्मक अनि अत्याउनेभन्दा पनि दीर्घकालीन रूपमा सकारात्मक भविष्यको कुरा गर्नतिर अग्रसर बनौँ ।

अब हामी सबै धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ भन्ने भावना विकास गरौँ । जलेको खरानी कसको टाउकोमा छर्ने भन्नेतिर दिमाग नलगाऔँ । सबै सम्हालिनुको विकल्प छैन । परिवर्तनका संवाहक जेन–जीका नाममा क–कसको घुसपैठ भयो, भएन खुल्दै जालान् । हामी कहाँ चुक्यौँ, विश्लेषण गर्दै जाऔँ, आत्मालोचना गर्दै जाऔँ र गल्ती नदोहोर्‍याउने प्रण गरौँ । अलिकति आशा राख्ने ठाउँ जस्तै विषम परिस्थितिमा पनि हुन्छ । आशा राखौँ– इँट र पत्थरका संरचना केही सालमा बन्लान् तर सभ्य नागरिकको संस्कार हामीभित्र बन्नु सबैभन्दा महत्त्वपूर्ण छ । देश बनाउने चरणको शुरुआत आफैँबाट गरौँ ।  हामी उठ्ने छौँ, अगाडि बढ्ने छौँ, ती वीर आमाको सन्तानबाट सिर्जित यो नेपाल आमाको माटो, भ्रष्टाचारमुक्त, एक सुनौलो आधुनिक नेपाल बनाउन तपाईं–हामीहरूको हातमा छ । शून्यबाट शुरू गर्नुछ । हजारौं कठिनाइ आउला यो यात्रामा तर हामी एक जुट हुन जरुरी छ, हातेमालो गरौँ, एकअर्कालाई सहयोग गरौँ ।

देश अनि जनताले ठ्याक्कै यही नभए पनि यस्तै खालको परीक्षा पहिले पटक पटक दिएको छ । अबको चुनावसम्म सबै पक्ष संयमित हुने अनि असल नेतृत्व छान्ने हो भने हामीले सोचेको नयाँ नेपालको सुनौलो बिहानी टाढा छैन । धेरै सह्याैँ, अब थोरै समय पर्खिऔँ । अब बन्छ नेपाल । हामीले बनाउँछौँ हाम्रो नेपाललाई । हाम्रो प्राणभन्दा प्यारो नेपाललाई भनेर पुनर्जागृत बनौँ ।

परमाणु बमले खरानी भएको हिरोशिमा र नागासाकी शहर र जापान त बन्यो । नेपाल सकियो भन्ने कुरै नगरम् । सुशासन चाहिन्छ, अवश्य बन्छ देश, देश बनाउने युवाहरूले नै हो ।

परिवर्तन भएको छ, स्वीकार्न समय लाग्ला । भवन, गाडी र केही इतिहास जले, नज्ल्नुपर्थ्याे जल्यो, एकदमै गलत भो । अब सकारात्मक र रचनात्मक बन्नु छ । आउनुहोस्, आशाको दियो बालौँ । हामी फेरि उठ्नेछौँ, सगरमाथा चुम्नेछौँ ।

संसारमा धेरै उदाहरण छन्– विध्वंसपछि विकासको पथमा लम्केका, प्रगतिको चुचुरो चढेका, लगभग सबै देश दुर्गति छिचोलेर नै अगाडि बढेका छन् र हामी पनि बढ्नेछौँ । सिंहदरबार फेरि गर्जनका साथ ठडिनेछ, संसद् भवन फेरि सभ्य भई उठ्नेछ, सर्वोच्च अदालत फेरि सर्वोच्च शिखर चुम्ने गरी उठ्नेछ, विभिन्न कार्यालयहरू हाम्रो राम्रो कार्यका साथ उठ्नेछन् ।

अब त कमसेकम सबै नेपालीहरूको घैँटोमा घाम लाग्यो भने, सबै एक ढिक्का भएर मिलेर काम गरेको खण्डमा एक दशकभित्र नै फेरि साँचिक्कै सुनौलो नेपाल बन्ने छ, हामी संसारसँग काँधमा काँध र हातेमालो गर्दै हिँड्नेछौंँ । जलिरहेको भवन होइन मल्हम लगाउने मन खोजौँ, अन्धकार र दुर्गति होइन उज्यालो र प्रगति खोजौँ ।  हाम्रो जीत अवश्य हुनेछ ।

हरेक पक्षले आत्मग्लानी होइन, आत्मविश्वास भरौं । जे नहुनु थियो भयो, पश्चातापमा हैन सकारात्मक सोचका साथ अगाडि बढौँ । सबैले आ–आफ्नो स्थानबाट देश निर्माणको सङ्कल्प गरौँ । सानो भूगोल तर ठूलो सम्भावना भएको हाम्रो मातृभूमिलाई छिटोभन्दा छिटो शक्तिशाली र समृद्ध राष्ट्र बनाऔँ ।

विश्व इतिहासका पानाहरूले बताउँछन्– अमेरिका, फ्रान्स, रुस जस्ता राष्ट्रहरू पनि ठूलो सङ्घर्ष र परिवर्तनबाट गुज्रिएर आजको गौरवशाली स्थितिमा पुगेका हुन् । हामी पनि सक्नेछौँ तर एकतासहितको साझा प्रतिबद्धता भएमा । जहिले आरोप–प्रत्यारोप मात्र होइन आपसी समझदारी र समन्वय गरौँ । दोषी को हो भनेर औँला ठड्याउने होइन सबै मिलेर साझा गल्तीको जिम्मेवारी वहन गरौँ । कारण जे भए पनि अब दीर्घकालीन समाधानतर्फ केन्द्रित होऔँ । पुरानो र नयाँ पुस्ताको सहकार्यबाट उज्यालो भविष्य निर्माण सम्भव छ । पुरानाको अनुभव र नयाँको ऊर्जा एकैसाथ मिसिएर देशको रूपान्तरण गर्न सकिन्छ । आन्दोलन जुनसुकै पुस्ताको भए पनि देश सबैको हो । नयाँलाई निरुत्साहित होइन प्रेरित गरौँ । हतोत्साहित होइन उत्प्रेरित गरौँ । हामी अब सचेत छौँ, इतिहासले हामीलाई ठूलो पाठ सिकाएको छ । अब हरेक व्यक्ति सुध्रिन जरुरी छ । चेत खुल्दैछन्, चेतनाको ज्वालामुखी विस्फोट भइरहेको छ । त्यसलाई सही दिशामा प्रयोग गरौँ ।

के हामी बनाउन सक्दैनौँ र ? जङ्गबहादुरले श्रमदानबाट सिंहदरबार बनाएका थिए भने हामी किन सक्दैनौँ होला र ? ५ वर्षभित्र पुनः सिंहदरबार हाम्रै हातले उठाऔँ ।  यो चेतनाको ज्वालामुखीले बनाउनेछ समृद्ध नेपाल । यदि यही कुरा प्राकृतिक प्रकोप जस्तै भूकम्पले तहसनहस भएको भए पनि हामी निर्माणमा जुट्थ्यौँ भने अब त जनचेतनाले आफैँ विस्फोट गरेको छ, यसै चेतनाबाट पुनर्निर्माण गरौँ । लुटिएका सम्पत्ति फिर्ता गरौँ, जिम्मेवार नागरिक बनौँ । क्रान्तिको नाममा कारागारबाट भागेकाहरूलाई कानूनी प्रक्रिया अनुसार फर्काउन सहयोग गरौँ । देशबाहिर रहेका नेपाली दाजुभाइ र दिदीबहिनीहरू सकेजति राज्यकोषमा योगदान गरौँ ।  देश बनाउने अभियानमा तपाईंको सघन सहभागिता अपेक्षित छ ।

राज्य संयन्त्रमा रहेका सबै सार्वजनिक पदाधिकारीहरू– याे अवस्थामा तपाईं हाम्रो भूमिका जिम्मेवार छ । आत्मसमीक्षा गरौँ, तलब र सेवासुविधा घटाएर भए पनि देशको निःस्वार्थ सेवा गरौँ । जब देश बन्नेछ, तब मात्र आत्मा शान्त हुनेछ । अब पुरातनवादी सोचको अन्त्य गरौँ । मै खाऊँ मै लाऊँ, भाँजो हाल्ने, रोकथाम गर्ने प्रवृत्तिको अन्त्य आवश्यक छ। दलहरूले पनि हाम्रोभन्दा राम्रोलाई समर्थन गरौँ । पहिलेजस्तै पैसामा टिकट बिक्री नगरौँ । दलहरूले स्वतन्त्र र योग्यताका आधारमा इमानदार प्रतिनिधि पठाएमा जनताले पनि फेरि जिताउनेछन् र ती निःस्वार्थी हुनेछन् । व्यक्तिगत होइन, राष्ट्रिय स्वार्थको रक्षा गरौँ । देश अझै सङ्कटमा छ, अहिले व्यक्तिगत फाइदाको सोच महापाप हो । राष्ट्रिय स्वार्थलाई पहिलो प्राथमिकता बनाऔँ । अबको सरकारलाई स्वतन्त्र निर्णय लिन दिऔँ । देश बचाउने र बनाउने सन्दर्भमा लिइने कठोर निर्णयहरूलाई सबैले स्वीकार गरौँ । विरोध होइन, विश्वास गरौँ । कलम वा कोदालो, सबैले आ–आफ्नो माध्यमबाट योगदान गरौँ । गाउँ, डाँडा, पाखा बाँझो छन् – उत्पादन गरौँ, देश सुक्खा होइन हराभरा बनाऔँ । अब एक दाना चामल पनि सकेसम्म आयात नगरौँ, बरु निर्यात गरौँ , हात–नङ्ग्रा खियाऔँ । आफैँ बनाऔँ आफ्नो देश । दलाली, सामन्तवाद, शक्तिको दुरुपयोगको पूर्ण अन्त्य गरौँ । प्रत्येक नागरिकले सङ्कल्प गरौँ, छातीमा हात राखेर कसम खाऔँ, देश निर्माणका लागि जुन हदसम्म जानुपर्छ जान तयार छु भनेर प्रतिबद्ध बनौँ । अबको दश वर्षभित्र – नयाँ नेपाल, नयाँ सपना । छिटोभन्दा छिटो सुन्दर, शान्त र समृद्ध नेपाल बनाउनु छ । म त यहीँ स्वर्णिम सपना देखिरहेको छु । र अहिले हरेक नेपालीका आँखा यस्तै देश देख्न हतार छन् । जय मातृभूमि, जय चन्द्र सूर्य, जय मेरो प्राणभन्दा प्यारो देश नेपाल !

प्रकाशित मिति:
थप विशेष