काठमाण्डाै – काठमाण्डौ उपत्यका भन्नासाथ काष्ठकलाको विशेष महत्त्व रहेको क्षेत्रका रूपमा चिनिन्छ । विभिन्न मठमन्दिरमा प्रयोग भएका काष्ठकला र मूर्तिहरूले उपत्यकाको पहिचान झनै बलियो बनाएका छन् ।
काठमाण्डौ उपत्यकाका भक्तपुर, पाटन, वसन्तपुरलगायत पुराना बस्तीका गल्लीहरूमा घुम्दा घर–भवनमा कुँदिएका अनौठा र सुन्दर काष्ठकलाहरू सजिलै देख्न सकिन्छ । आधुनिक धातु र अन्य सामग्री प्रचलनमा आउनुअघि काठ नै मुख्य सामग्री थियो । मन्दिरहरूमा ठूला–ठूला काठका मूर्ति, देवीदेवता, जीवजन्तु तथा विविध बुट्टाले सजिएका झ्याल–ढोकाहरू आज पनि देख्न सकिन्छ । यही कारण काठमाण्डौ उपत्यकाको पहिचान नै काष्ठकलासँग गाँसिएको छ ।
कुनै समय काष्ठकला कति महत्त्वपूर्ण थियो भन्ने बुझ्न ‘देशेमरु झ्या’ हेरे पुग्छ । देशमा अरू ठाउँमा नपाइने झ्याललाई देशेमरु झ्या भनिन्छ । मल्लकालीन र लिच्छवी शासनकालमा भक्तपुर दरबार, पाटन दरबार र वसन्तपुरको हनुमानढोका दरबारमा राजाहरूले यस्ता झ्यालहरू बनाएका थिए ।
दरबारहरूमा ठूला–ठूला ‘विमान झ्याल’ राखिएका हुन्छन् । झ्यालको केही भाग बाहिर निस्किएको र उडिरहेको विमानजस्तै भएकाले यसलाई विमान झ्याल भनिएको हो । यस्ता झ्यालहरू अत्यन्तै ठूला र कलात्मक हुन्छन् । कतिपय विमान झ्याल २० फिटसम्मका हुने भएकाले तिनलाई अड्याउन छुट्टै कोठा नै बनाइन्थ्यो ।
दरबारमा मात्र होइन, उपत्यकाका प्रायः प्रत्येक टोलका घरघरमा काठबाट बनेका झ्याल–ढोका र अन्य सामग्री प्रयोग हुन्थे । बुट्टा नकोरिएको घर भेट्टाउनै गाह्रो थियो ।
त्यति बेला हातैले कुँदिने ‘आँखीझ्याल’ पनि निकै प्रचलित थियो । पर्दाको प्रयोग नहुँदा घरभित्र हावा र उज्यालो पुर्याउन आँखीझ्यालको ठूलो महत्त्व थियो । बिजुलीबत्ती नहुँदा धेरै घरमा यस्ता झ्याल प्रयोग गरिन्थ्यो । काठमाण्डौको चन्द्रागिरिका श्यामकृष्ण श्रेष्ठका अनुसार आँखीझ्यालमा आँखाको आकारका स–साना प्वाल हुन्छन् जसबाट हावा र उज्यालो आउँछ । यसले कोठालाई सुरक्षित बनाउनुका साथै जाडोमा न्यानो र गर्मीमा शीतल राख्ने काम पनि गर्थ्याे । बाहिरबाट हेर्दा पनि यो अत्यन्तै कलात्मक देखिन्थ्यो । हातैले कुँदिएका यस्ता कलाकृति वर्षाैंसम्म टिक्ने गर्छन् ।
काठ मानिसको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको छ । बिहान उठेदेखि बेलुकी सुत्दासम्म र जन्मदेखि मृत्युसम्म मानिसको काठसँगको सम्बन्ध अटुट छ । खाना पकाउने डाडु–पन्यु, दाउरा, बच्चा झुलाउने ढाँडी, सुत्ने खाट, काम गर्ने कुर्सी–टेबलदेखि गरगहना राख्ने दराज, बाकससम्म काठकै प्रयोग हुन्छ । घर निर्माणमा पनि झ्याल–ढोका, टुँडाल, पाटी–पौवा र फल्चा काठबाटै बनाइन्थे ।
काठबाट सानादेखि ठूला विभिन्न सामग्री बनाउन सकिन्छ । काष्ठकलामा अन्य पेशाको तुलनामा लगानी कम लाग्छ र काम गर्न पनि सहज हुन्छ । काष्ठकलाका लागि नेपालका पूर्वी जङ्गलका काठ उपयुक्त मानिन्छन् । पश्चिमी काठका नसा बाङ्गा हुने भएकाले काम गर्न गाह्रो पर्छ भने पूर्वी काठका नसा सीधा र कमलो हुने भएकाले सजिलो हुन्छ । विशेषगरि अग्राख र सिसौ काष्ठकलाका लागि राम्रो मानिन्छन् जुन प्रायः पूर्वबाटै आउने गर्छन् ।
काठबाट बनेका सामग्रीप्रति नेपालीहरूको रुचि तुलनात्मक रूपमा कम भए पनि विदेशी पर्यटकहरू भने निकै आकर्षित हुन्छन् । नेपालीहरूले सामान्य उपहारका सामग्री खोज्छन् भने विदेशीहरूले सानादेखि ठूला कलाकृतिसम्म रुचाउँछन् । उपत्यकामा पाइने कपुरको काठबाट बनेका सामग्री सुगन्धित हुने भएकाले पर्यटकहरूलाई झनै मन पर्छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि धेरै मठमन्दिर भत्किए । त्यसपछि मन्दिरमा राख्ने मूर्ति र कलाकृतिको माग बढ्यो । तर हातैले काम गर्ने दक्ष काष्ठकलाका कालिगढको सङ्ख्या घट्दै जाँदा अहिले मेशिनबाट बनेका सामग्रीको प्रयोग बढेको छ । त्यति मात्र हैन बजारमा धातु र प्लास्टिकजन्य सामग्री बढ्दै जाँदा परम्परागत काष्ठकलाको महत्त्व घट्दै गएको छ ।
तर अझै केही ठाउँमा धार्मिक प्रयोजन मात्र होइन, सौन्दर्यका लागि पनि काष्ठकलाको प्रयोग भइरहेको छ । ठूला होटल र रेस्टुरेन्टहरूमा समेत काठका कलात्मक सामग्री प्रयोग गरिन्छ । तर मेशिनले बनाएको र हातले बनाएको कलामा ठूलो फरक हुन्छ । ललितपुरको बुङ्गमतीका सुरेश तुलाधर भन्नुहुन्छ, ‘मेशिन निर्जीव हुन्छ, त्यसमा भावना हुँदैन । हातले बनाएको कलामा कालिगढको माया मिसिएको हुन्छ । एउटा कला तयार गर्न महिनौं लाग्छ, बच्चाजस्तै माया गरेर बनाइन्छ ।’ उहाँ काष्ठकला पेशामा लागेको परिवारको तेस्रो पुस्ता हुनुहुन्छ ।
काष्ठकलाका लागि अत्यन्तै मेहनत चाहिन्छ । सामान्य कलाकृति बनाउन केही घण्टा लागे पनि विशेष मूर्ति वा आकृति बनाउन कतिपय कालिगढले आफ्नो पूरै जीवन नै समर्पण गर्छन् । बुङ्गमतीका धर्मदत्त बज्राचार्यले ४५ वर्षदेखि काठका मूर्ति बनाउँदै आउनुभएको छ । उहाँ विशेषगरि गणेश, बुद्ध र भैरवका मूर्ति तथा धार्मिक पूजापाठका लागि प्रयोग हुने काठका टेबल बनाउनुहुन्छ । मामाबाट प्रेरणा पाएर उहाँले यो पेशा शुरू गर्नुभएको हो । प्रायः मागअनुसार काम हुने गर्छ भने माग नहुँदा लोकप्रिय मूर्ति र कलाकृति तयार गरिन्छ ।
‘काम गर्दागर्दै सिकेपछि दक्ष र निपुण भइन्छ । मसिनो र कसिलो काम गर्नुपर्ने भएकाले समय धेरै लाग्छ । अनुभव बढ्दै जाँदा कलाको स्तर पनि उकासिन्छ र त्यसअनुसार मूल्य पनि राम्रो पाइन्छ । यस पेशाबाट सामान्यतया ९/१० हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी हुन सक्छ’, बज्राचार्य भन्नुहुन्छ ।
चन्द्रागिरिका श्यामकृष्ण श्रेष्ठका अनुसार काष्ठकला उहाँको पनि पुर्खौली पेशा हो । यो काम घरमै बसेर खाली समयमा गर्न सकिने भएकाले धेरै परिवारको जीविकोपार्जनको माध्यम बनेको छ ।
काष्ठकला नेपालको मौलिक परम्परा हो, आधुनिक प्रविधि र विदेशी शैलीको प्रभावले स्वदेशी परम्परा ओझेलमा पर्दै गएको भए पनि स्वदेशी काष्ठकलालाई प्रोत्साहन गर्न सके नेपालको काष्ठकला विश्वभर चिनिन सक्छ । त्यसका लागि आफ्नो पहिचान र मौलिकता सबैले जोगाउनु आवश्यक छ ।