काठमाण्डाै – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको छ । प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आ–आफ्नो धारणा बनाउन थालेका छन् ।
उपाधिका प्रमुख दाबेदार मानिएका फुटबलका महाशक्ति राष्ट्रहरू– फ्रान्स, इङ्ग्ल्यान्ड, अर्जेन्टिना, जर्मनी, ब्राजिल, पोर्चुगल, स्पेनलगायतले आफ्नो पहिलो खेल खेलिसकेका छन् । समूह चरणमा हरेक टोलीले तीन वटा खेल खेल्नुपर्छ । यसको अर्थ पहिलो खेल जस्तोसुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार्न अझै दुई खेल खेल्न बाँकी नै छ । प्रारम्भिक नतिजा र प्रदर्शनका आधारमा भने यस पटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो ।
उपाधि दाबेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचेजस्तो शुरुआत गर्न सकेनन् । इङ्गल्यान्डले पहिलो खेलमै क्रोएसियालाई ४–२ गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ । यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई ३–१ ले पन्छाउँदै आफ्नो स्वभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाओलाई ७–१ को फराकिलो जीत निकाल्दै आफ्नो दाबेदारीलाई बलियो बनाएको छ ।
अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल सोचेजस्तो भएन । ब्राजिल मोरोक्कोसँग १–१ को बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) सँग १–१ को बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भयो । सबैभन्दा फितलो प्रदर्शन भने स्पेनको रह्यो, स्पेनले पहिलाे पटक विश्वकप खेलिरहेकाे केब भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो ।
विश्व फुटबलका सुपरस्टार र ठूला आश गरिएका खेलाडीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभवको रह्यो । अर्जेन्टिनाका लियोनेल मेसीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे । तर उनका समकालीन प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो । पोर्चुगल कङ्गोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचेजस्तो हुन सकेन जसको प्रतिक्रिया रोनाल्डो आफैँले सामाजिक सञ्जालमा अभिव्यक्त गरे । अर्का स्टार खेलाडी नेइमारका समर्थकहरूका लागि शुरुआत सोचेजस्तो रहेन । ब्राजिलका यी खेलाडीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपङ्क्तिमा प्रस्टै देखियो । फ्रान्सका लागि केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डजस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन् ।
पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाडीहरूले संसारको ध्यान आफूतिर तानेका छन् । विशेषगरी स्पेन र केब भर्डेबीचको खेलमा केब भर्डेका गोलकिपर भोजिन्हा एकाएक नायक बनेर चम्किए । फिफा विश्वकपको इतिहासमै स्पेनजस्तो शक्तिशाली र आक्रामक टोलीविरुद्ध ‘क्लिन सिट’ राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो । भोजिन्हाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कडा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए । उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केब भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक १ अङ्क पाउन सफल भयो । भोजिन्हाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो ।
विश्वकप २०२६ काे पहिलो चरणका खेल सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दाबेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै बढ्ने निश्चित छ ।