नेभिगेशन

चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात

चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवात (टाइफुन)को प्रभावका कारण पूर्वी तटीय क्षेत्रका झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झेजियाङ प्रान्तको ताइझोउ सहरमा पहिलो पटक आएको थियो । त्यसपछि मध्यराततिर वेनझोउ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो । चक्रवातका कारण अत्यधिक वर्षा हुने जोखिम अझै उच्च रहेको रहेको विशेष सतर्कता अपनाइएको छ । यसको प्रभाव झण्डै एक हजार किलोमिटरसम्म फैलिएको छ ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार झेजियाङ प्रान्तबाट मात्रै झण्डै १७ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ ।  चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएका छन्, सरकारी तथा निजी कार्यालयहरूमा बिदा दिइएको छ, बाहिरी गतिविधिमा रोक लगाइएको छ ।

साथै, चार सयभन्दा बढी हवाई उडान रद्द गरिएका छन् भने दर्जनौँ रेल सेवा पनि स्थगित गरिएको छ । चिनियाँ मौसम विभागले झेजियाङ र उत्तर–पूर्वी फुजियान क्षेत्रमा अत्यधिक वर्षाको चेतावनी जारी गर्दै बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ । झण्डै एक करोड जनसङ्ख्या रहेको वेनझोउ सहर चक्रवातको प्रत्यक्ष प्रभाव क्षेत्रमा परेकाले त्यहाँ विशेष सतर्कता अपनाइएको छ ।

यसअघि यही उष्णकटिबन्धीय चक्रवातले प्रशान्त महासागर पार गर्ने क्रममा जापानको साकिशिमा टापु समूहमा तीव्र हावाहुरी र वर्षा गराएको थियो । ताइवानमा केही ठाउँमा एक मिटरसम्म वर्षा हुन सक्ने चेतावनी जारी गरिएको थियो भने दर्जनौँ उडान रद्द गरिनुका साथै विद्यालयहरू बन्द गरिएका थिए  । 

प्रकाशित मिति:
थप विश्व