नेभिगेशन

कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र : ७५ प्रतिशत भौतिक प्रगति

काठमाण्डौ - पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको स्तरोन्नतिले गति लिएको छ । 

आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ ले निर्माण गरिरहेको यो सडकको अहिलेसम्म कुल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ । 

२०७७ साल कात्तिक १३ गतेदेखि निर्माण शुरु गरिएको आयोजनाको काम लक्ष्यअनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ । सडक विभाग, आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ । 

कुल ८६.७३ किलोमिटर लम्बाइ रहेको सडकलाई कञ्चनपुर–कमला सडक योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ । जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुशाहासम्मको ३९.४२ किलोमिटर सडक ७ अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

त्यसैगरी, सप्तरीको कुशाहादेखि सिराहाको कमला पुलसम्म पर्ने ४७.२१ किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत ८ अर्ब ८० करोड ७० लाख १८ हजार रुपैयाँ रहेको छ । एशियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको हुने गरी निर्माण भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज